भक्तपुर बचतको वार्षिक समीक्षा सम्पन्न

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ साउन

आ.व.२०८१/०८२ को आम्दानी ३८ करोड ६२ लाख,

श्रावणदेखि ऋणको औसत ब्याजदर ९.५ प्रतिशत


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच शनिवार सूर्यविनायकमा वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले संस्थाले सदस्यहरुको आवश्यकतालाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए । उनले राजनीतिज्ञ एवम् आदर्श व्यक्तित्व नारायणमान विजुक्छेँ(रोहित)द्धारा लिखित जेलका चिठीहरुबारे चर्चा गर्दै सार्थक र अर्थपूर्ण जीवनशैलीका लागि बाँच्नुपर्ने औंल्याए । संस्थाले सदस्यहरुमा स्मरणशक्ति वृद्धि हुने खालका अध्ययन गोष्ठी तथा अनुसन्धानमूलक क्रियाकलापहरुमा विशेष ध्यान दिनुपर्ने उनले बताए । साथै सहकारीको मूल्य मान्यता र सिद्धान्तमा अडिग भई काम गर्नुपर्नेमा जोड दिँदै उनले पदाधिकारीहरु लोभलालचमा नफस्न, असत्य नबोेल्न र आलोचना आत्मालोचना गनु सिक्नुपर्ने बताए । शारीरिक श्रमभन्दा बढी बौद्धिक रुपमा सक्षम तुल्याउन कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले यस समीक्षा कार्यक्रमले नयाँ वर्षको खाका तयार गर्न मद्दत मिल्ने बताए । उनले केही सहकारीको बदमासीले राम्रा सहकारीलाई समेत संकुचित र नियन्त्रण गर्ने ऐन, नियम ल्याएको बताउँदै सदस्यहरुकै सुझावअनुसार संस्था अघि बढेको बताए । उनले संस्थाको संरक्षणमा सञ्चालित भक्तपुर आदर निकेतनमा जम्मा ३८ जनाले सेवा लिइरहेकोमा मासिक १ लाख ५० हजार रुपैयाँ खर्च भइरहेको स्पष्ट पारे ।

संस्थाका कोषाध्यक्ष राम प्रसाद प्रजापतिले आ.व. २०८१/०८२ मा ३८ करोड ६२ लाख आम्दानीसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व.२०८१/०८२ को यथार्थ विवरण र आ.व. २०८२/०८३ को अनुमानित बजेटबारे समीक्षा गरे । उनले राष्ट्र बैंक र सरकारी विभागको निर्देशिका र प्राधिकरणको मापदण्डलाई ध्यानमा राखी आ.व.२०८२/०८३ को बार्षिक बजेट ४ अर्ब ४६ करोडको पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा ४ अर्ब ४५ करोडको वासलात बनाउन सफल भएको उनले बताए । हाल ८ हजार ८ सय ८४ सदस्य रहेको उक्त संस्थामा १ हजार २ सय ४६ जना ऋणी सदस्यलाई ३ अर्ब २ करोड लगानी भइसकेको उनले जानकारी दिए ।


संस्थाका सचिव जगनाथ प्रजापतिले यही श्रावणदेखि ऋणको औषत ब्याजदर ९.५ प्रतिशत कायम गरेको बताउँदै उनले संस्थाले निर्धारण गरेका सबैजसो कार्यक्रम पूरा भएको र अबको वर्षका लागि २० लाख ४५ हजार रुपैयाँ बजेट तर्जुमा गरी २९ वटा कार्यक्रम पारित गरेको बताए । उनले सहकारीका लागि ल्याएका निर्देशिका र मापदण्डबारे स्पष्ट पार्दै बहुसंख्यक सहकारीले पूरा गर्न नसक्ने नियम सरकारले लाड्न नहुने बताए ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वले सुझावसहितको समीक्षात्मक प्रस्तुती गरेको उक्त कार्यक्रममा व्यवस्थापक सत्यनारायण साँयजू, जयराम कोजूलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *