मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव गर्ने तयारी
न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ असोज
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४५ औं विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रममा सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गदै सांसद सुवालले भक्तपुरलाई सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरबासीहरुलाई सरसफाइबारे सचेत पार्नुपर्ने बताए ।
भक्तपुर नपाबाट सञ्चालित कलेजमा देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा लिने अवसर पाइरहेको र ख्वप विश्वविद्यालय सञ्चालनले सस्तोमा मेडिकल शिक्षा प्राप्त गर्ने अवसर पाउने उनको धारणा थियो ।
कोभिड र डेङ्गु संक्रमण अहिले पनि चुनौतीको विषय बनिरहेको बताउँदै सांसद सुवालले नागरिकलाई स्वस्थ राख्न सरसफाइ र खेलकुदलाई प्राथमिकतामा राख्नु उचित हुने विचार राखे ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने विचार राख्दै उनले नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग पार्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छिकोङ व्यायाम श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको र यो व्यायाम सम्पूर्ण उमेर समूहको लागि फलदायी भएको उनको भनाइ थियो ।
संस्कृति भनेको सभ्यताको विकास हो र यहाँको कला संस्कृति, सम्पदा आदि संरक्षणले नयाँ पुस्ताको सेवा हुने धारणा राखे ।
काठमाडौं केन्द्रित विकासले उपत्यकाको जनसंख्या अत्यधिक बढेको र धेरै समस्याहरु पनि निम्तिएको बताउँदै सांसद सुवालले पश्चिम नेपालको विकास गर्न नेपालको राजधानी दाङमा सानुपर्ने धारणा राखे । उनले सबै नागरिकले समानतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारले जोड दिनुपर्ने बताए ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गरे । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नपाले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताउँदै भक्तपुर नपामा गत वर्ष १ लाख ४६ हजार विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको बताए ।
भक्तपुर नपाले २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
भक्तपुरका मूर्त अमूर्त सम्पदाहरु भक्तपुरका सम्पत्ति हुन् भन्दै उनले ती सम्पत्ति लोप हुनु भनेको राज्यको निम्ति ठूलो क्षति हुनु हो भने । सबै जाति, धर्म र संस्कृति रक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य भएको उनले बताए ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले पर्यटन प्रवद्र्धनको निम्ति शान्ति र सुरक्षा अपरिहार्य विषय भएको बताउँदै सांस्कृतिक, साहित्यिक, सामाजिक र राजनीतिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन सके जनताको चेतनास्तर अभिवृद्धिमा टेवा पुग्ने बताए ।
प्रगतिशील साहित्य, राजनीति र संगठन भनेको सभ्य जातिको कला, संस्कृति संरक्षण गर्ने सशक्त माध्यम भएको बताउँदै उनले भक्तपुर सांस्कृतिक नायक र गुरुहरुको सहर भएको स्पष्ट पारे ।
संरा अमेरिकाको आडमा संसारका धेरै देशहरुमा युद्ध जारी रहेको प्रसंग जोड्दै सांसद गोसाईले साम्राज्यवादी देशले संसारमा गरिरहेको नरसंहार र हमलाको विरोधमा लेखक तथा कलाकारहरुले आफ्नो कलम चलाउनु सान्दर्भिक हुने बताए ।
उनले भक्तपुर नपाले सांस्कृतिक गुरु र संस्कृतिकर्मीलाई सम्मान गर्ने परम्परालाई आगामी दिनहरुमा पनि निरन्तरता दिने विश्वास व्यक्त गए ।
भक्तपुर नपाका उप्रमुख रजनी जोशीले भक्तपुरको पहिचानसँग सम्बन्धित मूर्त र अमूर्त संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्ने लक्ष्यका साथ यहाँका संस्कृतिकर्मीहरुलाई प्रोत्साहनस्वरुप सम्मान कार्यक्रम आयोजना गर्दै आएको बताए ।
भक्तपुर नपाले विदेशी पर्यटकहरुबाट उठाउँदै आएको पर्यटन शुल्कबाट नगरको सन्तुलित ढंगले विकास गर्दै आज देशकै सफल स्थानीय तहको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको उनले बताए ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएको बताउँदै पर्यटन उद्योगको प्रवद्र्धनमा राज्यको लगानी आवश्यक भएको औंल्याए ।
भक्तपुरले यहाँको मौलिकता जोगाउन गरिएका सांस्कृतिक गतिविधिहरु प्रशंसनीय भएको बताउँदै उनले भक्तपुरले पनि पर्यटकहरु लक्षित होम स्टेहरु सञ्चालन गरी पर्यटकहरुको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताए ।
संस्कृतिविद् विश्वमोहन जोशीले पर्यटन दिवस मनाउनुको इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै सांस्कृतिक सम्पदा, ऐतिहासिक गतिविधि, कला र संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
राष्ट्रिय कला संग्रहालयका अधिकृत यमुना महर्जन प्रजापतिले भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरुको आगमन उत्साहजनक रहेको बताउँदै भक्तपुरका लोपोन्मुख कला र संस्कृति संरक्षणमा भक्तपुर नपाको महत्वपूर्ण योगदान भएको चर्चा गरे ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जाले संस्कृतिकर्मी र सांस्कृतिक गुरु सम्मान कार्यक्रमले कलाकार र संस्कृतिकर्मीमा थप ऊर्जा र हौसला मिल्नेछ भन्दै भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नपासँग सहकार्य र समन्वयमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिँदै आएको बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गरेको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राखेको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष पनि प्रत्येक वडाबाट २ जना सांस्कृतिक गुरुहरुलाई उनीहरुको योगदानको कदर गर्दै भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारुमा प्रस्तुत २९ विधाका १४२ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले पर्यटन पथप्रदर्शकहरु, व्यवसायी संस्था र सहयोगीहरुहरूलाई कदर पत्र प्रदान गरे ।
नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गरेको थियो भने उत्कृष्ट कलाकारहरूलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गरे ।
सोही क्रममा प्रमुख प्रजापति, प्रमुख प्रशसकीय अधिकृत वसन्त भट्टराई र संस्कृतिविद् विश्वमोहन जोशी, संग्रहालय अधिकृत यमुना महर्जनले आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेको थियो ।
अतिथि सुरेन्द्रराज गोसाइँले पर्यटन सम्बद्ध संघ संस्था र ट्राभल एजेन्सीहरूलाई कदर पत्र प्रदान गरे ।
उपप्रमुख जोशीले प्रतियोगिताका मूल्यांकनकर्तालाई मायाको चिनो र घिन्ताङघिसी, माक प्याखंका विजेताहरुलाई पुरस्कार वितरण र सहभागी समूहलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कोलाछें प्याखं समूहको फाकंदली प्याखं, गलसी पुखु देवी प्याखं समूहको देवी प्याखं र याताव दाफा भजन मण्डल झौखेलको माक प्याखँ पनि देखाइएको थियो ।
गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधामा मको लुसी प्याखं खल, भनपा ९ का विदिसा लवजू महिला उत्कृष्ट कलाकार, मुस्याख्व परिवार देवी प्याखं समूह भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार, सिद्धि गणेश प्याखं समूह भनपा ७ का विनेश खाइजु उत्कृष्ट बाल कलाकार, मंगलमाया वनमाला समेतको घिन्ताङघिसी समूह भनपा ७ का निर्देशक लक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र च्वङा गणेश सांस्कृतिक समूह भनपा १ का साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित भएको थियो ।
आज सम्मानित हुने सांस्कृतिक गुरुहरू भ.न.पा वडा नं १ बाट देवचन्द्र बज्राचार्य र मंगलबहादुर भैल, वडा नं २ बाट रामभक्त ब्यान्जु र विकुबहादुर पक्का, वडा नं ३ बाट हर्षविर धुख्वा र बद्रीभक्त खबुजा, वडा नं ४ बाट न्हुछेकुमार प्रजापति र चन्द्रबहादुर कपाली, वडा नं ५ बाट जगनाथ त्वानाबासु र ब्रम्हकाजी दर्शनधारी, वडा नं ६ बाट आसराम अवाल र गणेशबहादुर सुवाल, वडा नं ७ बाट नारायणभक्त वनमाला र मोतिलाल लाखाजु, वडा नं ८ बाट तुल्सीनारायण गोसाई र कृष्णगोपाल प्याथ, वडा नं ९ बाट तुल्सीभक्त कोजु र राजाराम श्रेष्ठ, वडा नं १० बाट रामचन्द्र सुवाल र काजीलाल मुलगुठी रहेका छन् ।