स्वास्थ्य मन्त्रालयकाे डिम्ब कारोबारमा सर्वोच्चकाे राेक

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ४ भदाै
सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबारमा रोक लगाउन आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेशमार्फत यस्तो निर्णय गरेको हो।
अधिवक्ता अंकिता त्रिपाठीले डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरू शोषणमा पर्ने जोखिम बढ्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तिम टुंगो नलागेसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न तथा गर्न नदिन आदेश दिएको हो। साथै, यस विषयमा प्रभावकारी निगरानी गर्न सरकारलाई निर्देशन दिएको छ।
यसअघि सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यसहित आइतबार (भदौ १ गते) ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको थियो। सो मापदण्डले डिम्ब तथा शुक्रकीट दानलाई वैधानिकता दिने व्यवस्था गरेको थियो।
मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले अण्डा वा शुक्रकीट दान गर्न पाउने र तीन महिनाको फरकमा अधिकतम ६ पटकसम्म दान गर्न सक्ने प्रावधान गरिएको थियो। गत असारमा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब संकलन गरी व्यापारिक प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएपछि यस विषयमा विवाद चुलिएको थियो।

1-supreme-1755604068.jpg

2-supreme-1755604068.jpg

यस्तो थियो सरकारको मापदण्ड
दाताका लागि सामान्य शर्तहरू

  • उमेर २० देखि ३५ वर्षबीच हुनुपर्ने।
  • सरुवा रोग नभएको स्वास्थ्य परीक्षणमार्फत प्रमाणित हुनुपर्ने।
  • विवाहितको हकमा श्रीमान–श्रीमती दुवैको लिखित सहमति आवश्यक।
  • दाताको परिचय पूर्ण रूपमा गोप्य राखिने।
  • निश्चित पटकभन्दा बढी दान गर्न नपाइने।
  • कुनै पनि दातालाई प्रलोभन वा दबाबमा पारेर दान गर्न बाध्य पार्न नपाइने।

(क) वीर्य दान (Semen Donor) सम्बन्धी शर्त

  • १५ दिनको फरकमा अधिकतम १० पटकसम्म मात्र दान गर्न सकिने।
  • डोनरको परिचय प्रापकलाई खुलाउन नपाइने।
  • उमेर २०–३५ वर्ष हुनुपर्ने।
  • स्वास्थ्य परीक्षण गरी सरुवा रोग नभएको प्रमाणित हुनुपर्ने।
  • नागरिकता नम्बर र जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रूपमा अभिलेख राखिने।
  • अस्पतालमा विरामीको र डोनरको विवरण कोड नम्बरमार्फत मात्र सुरक्षित राखिने।
  • पछिल्ला ३ महिनाभित्रका आधारभूत परीक्षण (CBC, RBS, RFT, LFT, Grouping, Serology) अनिवार्य पेश गर्नुपर्ने।
  • दाताको सूचित सहमति अनिवार्य।
  • विवाहितको हकमा दम्पती दुवैको सहमति आवश्यक।
  • प्रलोभन वा दबाब प्रयोग गरी दान गराउन नपाइने।
  • सबै प्रक्रिया सुरक्षित राख्न विशेष सफ्टवेयर प्रयोग गर्नुपर्ने।

(ख) अण्डा दान (Oocyte Donor) सम्बन्धी शर्त

  • अधिकतम ६ पटकसम्म मात्र दान गर्न पाइने, प्रत्येकपटक कम्तीमा ३ महिनाको फरक हुनुपर्ने।
  • डोनरको परिचय प्रापकलाई खुलाउन नपाइने।
  • उमेर २०–३५ वर्ष हुनुपर्ने।
  • स्वास्थ्य परीक्षण गरी सरुवा रोग नभएको प्रमाणित हुनुपर्ने।
  • नागरिकता नम्बर र जारी जिल्ला सम्बन्धित संस्थामा अभिलेख राखिने।
  • अस्पतालमा कोड नम्बरमार्फत मात्र परिचय सुरक्षित राखिने।
  • पछिल्ला ३ महिनाभित्रका आधारभूत परीक्षण (CBC, RBS, RFT, LFT, Grouping, Serology) अनिवार्य पेश गर्नुपर्ने।
  • अण्डा दान गर्दा तत्काल वा भविष्यमा आउन सक्ने जटिलताबारे पूर्ण जानकारी दिनुपर्ने।
  • सूचित सहमति लिनुपर्ने।
  • विवाहितको हकमा दम्पती दुवैको सहमति आवश्यक।
  • प्रलोभन वा दबाब प्रयोग गरी दान गराउन नपाइने।
  • प्रक्रिया सुरक्षित राख्न विशेष सफ्टवेयर प्रयोग गर्नुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *