न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ पुस

समृद्धि कृषि सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बहुसंख्यक किसानहरुको आवश्यकतालाई पूर्ति गर्न स्थापित समृद्धि कृषि सहकारीले कृषि खेतीलगायतका कार्य गरिसकेको बताए । उनले कृषि सम्बन्धी विभिन्न तालिमहरु दिएर कृषकहरुलाई सहज हुने किसिमबाट अघि बढ्नुपर्ने बताए । साथै नेपाल सरकारबाट पाउने अनुदानमै अनियमितता र भ्रष्टाचार हुने गरेकाले त्यसतर्फ यो संस्था अघि नबढेको स्पष्ट पारे । उनले भक्तपुर बचतको संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनमा सबैको साथ र सहयोग निरन्तर रहेकोले ज्येष्ठ नागरिकहरु खुशी रहेको र आवश्यकता अनुसार भौगोलिक अवस्थामा वृद्धि गर्न नसकेको बताए ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्था क्रियाशील नभए मृत्यु सरह हुने भएकाले संस्थालाई जिवन्तता प्रदान गर्न पूँजीको निर्माण गर्नुपर्ने बताए । उनले संस्थाको सामथ्र्य, बजारको आवश्यकता र पूर्तिबारे राम्रोसँग अध्ययन पश्चात मात्र संस्थाको दिगो विकासको योजना बनाउनुपर्नेमा जोड दिए । परनिर्भर भएसम्म अघि बढ्न नसक्ने भएकाले यो सहकारीलाई सहकारीको नीति, मापदण्डमा रहेर चलाउनुपर्ने र सहकारी आफै नगरी सहकारीका सदस्य र समूहलाई अघि बढ्न प्रेरित गर्नुुपर्ने उनको जोड छ ।
कार्यक्रममा निर्वाचन मण्डलका संयोजक प्रेम प्रजापतिले निर्मल प्रजापतिको अध्यक्षतामा रहेको ७ सदस्यीय सञ्चालक समिति र सत्यनारायण साँयजूको संयोजकत्वमा रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको विघटन गरी रामलक्ष्मी दुवालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र सत्यनारायण साँयजूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट सचिव अञ्जना छुस्यावागद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२/०८३ को अनुमानित बजेत तथा कार्यक्रम, लेखा सुपरीवेक्षण समितिका संयोजक सत्यनारायण साँयजूद्वारा प्रस्तुत आ.व. २०८१/०८२ लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, वाह्य लेखा परीक्षक हायजु एण्ड एशोसिएट्सद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बाह्य लेखा परीक्षण प्रतिवेदन र आ आ.व. २०८२/०८३ को लागि वाह्य लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरु पारित गरेको थियो ।
छैटौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष रामलक्ष्मी दुवालले ४ वर्षे कार्यकालका लागि प्रतिवद्धता व्यक्त गरेको उक्त कार्यक्रममा निर्वाचन मण्डलका संयोजक प्रेम प्रजापतिले बधाईज्ञापनसँगै प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा दयालक्ष्मी छन्छाले पनि बोलेको थियो ।