न्यूज अपडेट संवाददाता
भक्तपुर, २ कार्तिक
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको संयुक्त आयोजनामा तिहार, न.सं.११४६ र छठ पर्वको अवसरमा शुभकामना तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादउन्मुख शिक्षा प्रणाली लागु नगरी पूजीबादउन्मुखलाई जोड दिएकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच नपुगेको बताए । देशको शैक्षिक कार्यक्रम आत्मनिर्भरतामा केन्द्रित हुनुपर्नेमा राज्यले विदेशमुखी बनाएको उनले स्पष्ट पारे । भक्तपुर नगरपालिकाले समाजवादउन्मुख शिक्षा प्रणालीलाई केन्द्रित गरी विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ । साथै उनले वैदेशिक रोजगारीको नाउँमा जनतालाई राज्यले खरिदविक्रीको वस्तु बनाइराखेको औल्याए । एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सिप भए कहिल्यै बेरोजगार बन्न नपर्ने बताउँदै भक्तपुर नगरपालिकाले व्यवहारिकतालाई ध्यानमा राखी सिपमूलक तालिमहरु गर्दै आएको बताए ।
उनले एनजीओ र आइएनजीओहरुले देशका नेताको दिमागलाई खोक्रो पारेको बताउँदै शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारीक थलोको रुपमा विकास गरेको बताए । राज्यको शिक्षा नीतिले विद्यालय र कलेजबाटै गरिब र धनीबीचको वर्गभेद छुट्याएको उनले स्पष्ट पारे । उनले पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्थामा बहुसंख्यक जनताको हित हुने बताउँदै रिजरभ्वायरमै फोहोर पानी छ भने घर घरमा आउने पानी सफा हुन नसक्ने औंल्याए । साथै सरकारले हरेक पटक नाफाकै निम्ति काम गरेकाले राम्रो शैक्षिक कार्यक्रमको स्वीकृति दिन नमानेको स्पष्ट पारे ।
वागीश्वरी कलेज अफ म्यानाज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले ध्वंश मात्र गर्न जान्ने र निर्माण गर्न नजान्नेलाई बाँदरे प्रवृत्तिको संज्ञा दिँदै वागीश्वरीका विद्यार्थी देश बनाउनका लागि नमूनासावित भइरहेको बताए । उनले अहिलेका नयाँ पुस्ताले प्रविधिको सही सदुपयोग गर्न सकेमा देश बन्ने बताए । साथै इजरायलले प्यालिस्टिनी जनताको नरसंहारविरुद्ध वागीश्वरीले निरन्तर आवाज उठाइरहेको बताउँदै वागीश्वरीका विद्यार्थी राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमासमेत ज्ञान लिइरहेको स्पष्ट पारे ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले नेपाली जनताको काँधमा आएको २७ अर्ब राज्यको ऋण मोचन गर्ने नयाँ शंखधरको खोजी भैरहेको बताउँदै नयाँ पुस्ताले राज्यलाई दुबाउने भ्रष्टहरुको विरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए । वागीश्वरीले स्वाधिनता र स्वाभिमानलाई बेचेर कुनै काम नगरेको स्पष्ट पार्दै उनले सबैसँग इमानदारीता भए देश खादलमा नपर्ने बताए । नयाँ पुस्ताले डिजिटल प्रविधिलाई रचनात्मक कार्यका रुपमा उपयोग गर्न जोड दिँदै आफ्नो ऊर्जालाई देश र जनताको सेवामा समर्पित गर्नुपर्ने बताए । नयाँ वर्षमा वागीश्वरीले विभिन्न तालिम तथा कार्यक्रमहरु ल्याई नयाँ काम गरेको उनले स्पष्ट पारे ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पढाइसँगै विद्यालयबाट गरेका अतिरिक्त क्रियाकलापहरुबारे स्पष्ट पारे । विद्यालयको आचारसंहितालाई अक्षरस पालना गर्न जोड दिँदै उनले असल नागरिकको रुपमा देश र जनताको पक्षमा आफ्नो अध्ययनलाई सदुपयोग गर्नुपर्ने बताए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्न सैद्धान्तिकसँगै व्यवहारिक सिपमूलक कार्यमा कलेजले जोड दिइरहेका बताए । आजका विद्यार्थीले डिजिटल प्रविधिविना जीवनलाई सार्थक बनाउन नसक्ने बताउँदै उनले सफल जीवनका लागि सफल मार्ग निर्देशकको खाँचो हुने औंल्याए । साथै शिक्षालाई सिपसँग नजोडी महत्वपूर्ण भाग वाह्य शक्तिबाट निर्देशित हुने हो भने देश दुर्घटनामा पर्ने उनको कथन छ ।
वागीश्वरी कलेजको रिसर्च म्यानाज्मेन्ट कमिटीका संयोजक प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले देशका कोही नेताको दम्भ र अहंकारले देश पछि धकेलेको स्पष्ट पार्दै देशको मुहार फेर्न विद्यार्थीहरुले निरन्तर इमान्दारिपूर्वक काम गर्नुपर्ने बताए । साथै उनले भक्तपुरका हरेक पर्व कसैसँग मेल नखाने भएकोले पहिलो पर्व भएको स्पष्ट पारे ।
वागीश्वरीका नवआगन्तुक विद्यार्थीहरु सहदेव ढकाल, जेनी सुकमनीलगायतले खुशी व्यक्त गरेको उक्त कार्यक्रममा नितु चौरासिया, जेनिस बाँडे, लक्मी तामाङ, क्रिषला प्रजापतिले पनि बोलेको थियो ।
औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुको सांस्कृतिक विधा प्रस्तुत भएको थियो ।