न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असार
भक्तपुर बचत तथा.ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा सहकारी ऐन, मापदण्ड र निर्देशिकाबारे सुसूचित गर्न सोमबार संस्थाका ऋणीहरुको भेला कार्यक्रम भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सरकारले ल्याएको सहकारी सम्बन्धी संशोधित ऐन, मापदण्ड र निर्देशिकाले सबैजसो सहकारी र सदस्यहरुलाई चिन्तामा दुबाएको बताउँदै अब चिन्तालाई चिन्तनमा लानुपर्ने बताए । उनले सरकारले ल्याएको ती मापदण्ड र निर्देशिकाले सहकारीलाई स्वायतभन्दा बन्धक बनाएको टिप्पणी गरे । उनले कूल बचत कोषको २५ प्रतिशत नियमित बचत गर्नुपर्ने, एक व्यक्ति एक सहकारी र लगानीको ५० प्रतिशत ऋण किस्ताबन्दीमा मात्रै दिन पाउने व्यवस्थाले अहिले गाह्रो बनाएपनि अभ्यास गर्दै गएपछि सामान्यीकरण हुँदै जाने बताए । विगतमा ऋणी सदस्यहरुको ६४ प्रतिशतसम्म असल ऋणी रहेको यो संस्थालाई सहकारीको नयाँ प्रावधान र बन्धकबाट मुक्त गर्न सदस्यहरु नै दृढ हुनुपर्नेमा उनको जोड छ ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिले सहकारी क्षेत्रमा आएको व्यथिति, विसंगति, अस्तव्यस्ततालाई निराकरण गर्न ल्याएको संशोधनलाई अन्यथा लिन नहुने बताए । सहकारी क्षेत्रकै व्यक्तिबाट मागेको सहकारी ऐनसँग कोही डराउन नहुने बताउँदै उनले जनहितमा ल्याएको ऐनलाई सहर्ष स्वीकार गर्नुपर्ने अन्यथा कागजको खोस्टा मात्रै हुने स्पष्ट पारे । संस्था र सदस्यको अहितमा सहकारी नियमन, नियन्त्रण र ध्वष्ट पार्नकै लागि ल्याएका कुनै पनि ऐन, नियमको जनताले विरोध गर्ने उनको भनाइ छ ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले संस्थाको वित्तीय विवरणबारे स्पष्ट पार्दै संस्थाले हाल प्रदान गर्दै आएको भक्तपुर बचतको आइस्मार्ट डिजिटल मोबाइल एपको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ऋण अधिकृत अन्जना छुस्याबागले पनि बोलेको थियो ।