सन्दर्भः वागीश्वरी मावि/कलेज/कलेज अफ म्यानाजमेन्टकाे वार्षिकाेत्सव

न्यूज अपडेट संवाददाता
भक्तपुर, २८ फागुन
नेपाली नागरिकहरु विदेशमा अध्ययन गर्नु ठूलो कुरा होइन, तिनीहरुले ल्याउने विचारले देश बिगारेपछि डर लाग्छ । हाम्रा विद्यार्थीहरुले देश विदेशका हरेक कुरामा जानकार हुनुपर्छ । त्यसका लागि शिक्षक, प्राध्यापक, लेखक, कवि, कलाकारहरुले जानेका कुरा बताउनुपर्छ, अन्यथा तिनीहरु नालायक सावित हुनेछ ।
उक्त कुरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले वागीश्वरी माविको ६७औं, वागीश्वरी कलेजको १८औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रौं वार्षिकोत्सवको अवसरमा बिहिबार भएको कार्यक्रममा बताएको हो । कार्यक्रममा उनले देश हार्न र हराउन दलालहरुको भूमिका हुने बताउँदै नयाँ पुस्तालाई इतिहासबारे नबताउने हो भने कोही पनि नबच्ने बताए । उनले भदौ २३ र २४ घटना हुनुमा अमेरिका र भारत मिलेकै कारण सफल भएको बताए । साथै देशमा त्यसबेलादेखि नै अप्रत्यक्ष रुपमा सेनाले प्रधानमन्त्रीलाई राजीनामा गराएर सैनिक शासन लागु गरिसकेकोबारे स्पष्ट पारे । उनले अरुको दास बन्न होइन, देश र जनताको हितमा काम गर्न विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबारे स्पष्ट पार्दै अमेरिका र भारतले नेपालप्रति हेर्ने दृष्टिकोण नराम्रो भएको औंल्याए ।
हालै सम्पन्न चुनावबारे स्पष्ट पार्दै उनले चुनाव जित्नका लागि विदेशीसँग पैसा लिनेहरुले उनीहरुकै गुलामी गर्ने भएकाले नेपाल मजदुर किसान पार्टी कहिल्यै विदेशीसामु नझुकेको बताए । उनले जस्तो रोप्यो त्यस्तै फल्ने भएकाले हरहिसावमा पारदर्शि भएको बताउँदै जनतासँग घनिष्ठ सम्बन्ध राख्नका लागि जनतासँग चन्दा लिएको स्पष्ट पारे।
कार्यक्रममा वागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले विश्व आतंकबाद र साम्राज्यवाद विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्नुपर्ने बताए । उनले शिक्षक, प्राध्यापक र विद्यार्थीबीच भइरहेको कृतज्ञ र आभारको संस्कारमा कमी आएको बताउँदै त्यसले समाजलाई बिकृतितर्फ लाने औंल्याए । उनले हरेक संकटमा सहकार्य हुनुपर्ने बताउँदै अहिले इरानमा अमेरिकी र इजरायली हमलाले मानवीय नरसंहार हुँदा हामीले बोल्नुपर्ने अन्यथा हामीलाई संकट पर्दा कसैले केही नगर्ने बताए ।
त्यस्तै वागमती प्रदेश सदस्य सृजना सैंजूले वागीश्वरीको गौरवशाली इतिहासलाई सबैले बुझ्नुपर्ने बताउँदै नयाँ पुस्ताले विश्वका नयाँ कुराको अध्ययनमा जोड दिनुपर्ने बताए । उनले कुनै पनि सरकारले ल्याएका पाठ्यक्रम पूँजीवादी व्यवस्था अन्तर्गत नै ल्याएकाले त्यसले हाम्रो समाजको भावना बोल्ननसकेको स्पष्ट पारे । उनले लाखौं युवालाई देशमा रोजगारी दिनुपर्नेमा विदेश पठाउँदा अहिले सरकारलाई निल्नु न ओकल्नु भैरहेको औल्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलेज संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छा, वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्य, संयुक्त परीक्षा समितिका अध्यक्ष रोसनराज तुइतुई, शिक्षकहरु मंगलेश्वर ध्वोजु, पूजा शाक्य, विद्यार्थी प्रतिनिधिलगायतले बोल्नु भएको उक्त कार्यक्रममा वागीश्वरीका लागि प्रदान गरिएका विविध प्रकारका छात्रवृत्ति समेत शिक्षक प्रतिनिधिहरुलाई प्रदान गरिएको थियो ।
विनोद प्रजापतिको संयोजकत्वमा रहेको सेल्फ एसिस्मेन्ट टिम र अविना श्रेष्ठको संयोजकत्वमा रहेको इएसपी टिमलाई प्रमुख अतिथि बिजुक्छेँले दोसल्लासहित सम्मान गरिएको थियो । विभिन्न तह र संकायका १९ जना उ्रत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान गरिएको उक्त कार्यक्रममा विभिन्न संकायबाट यस वर्ष सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार र विभिन्न खेलकुद विधामा सफल हुने खेलाडीहरुलाई पदक प्रदान गरेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थी, शिक्षकहरुबाट सांस्कृतिक विधाहरु प्रस्तु्त गरिएको थियो ।