किटनाशक विषादी प्रयोगबारे भक्तपुर बचतमा अभिमुखीकरण

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ पुस

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा किटनाशक विषादीको प्रयोग र त्यसले वातावरण र मानव शरीरमा पु¥याउने दीर्घकालीन असर तथा नगदे बालीसम्बन्धी स्थानीय कृषक तथा जनसमुदायलाई सुसूचित गर्ने उद्देश्यले मंगलबार अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भान्छामा प्रयोग हुने वस्तु विषादीजन्य भएकोले त्यसबाट कम असर हुने गरी कसरी प्रयोग गर्न सकिन्छ भन्ने जनमानसमा सुसूचित गर्नुपर्ने बताए । रोग लागिसकेपछि उपचार गर्ने भन्दा रोग नै लाग्न नदिने उपायहरु अवलम्बन गर्न सके हाम्रो भविष्य सुरक्षित हुने बताए । विषादीको प्रयोग कति गर्ने, प्रयोग आवश्यक छ वा छैन अध्ययन र अनुसन्धान हुनुपर्ने उनले बताए ।

कार्यक्रममा कृषि विज्ञ रवि ख्याजुले भान्छामा प्रयोग हुने तरकारी मध्ये ९९ प्रतिशत तरकारीमा विषादीको प्रयोग भएको र त्यसबाट हामी अछुटो नहुने तर कम असर पर्ने उपायहरु अवलम्बन गरी उपभोग गर्न सकिने बताए । विषादीले टाउको दुख्ने, रिंगटा लाग्ने, बेहोस हनुको साथसाथै क्यान्सर, बाझोपन, पक्षघाट, कलेजो तथा मृगौला बिग्रने जस्ता दीर्घकालीन असर हुने रोगहरु लाग्न सक्ने बताए । विषादी हाम्रो शरीरमा गर्भवती आमाबाट बच्चामा, नाक, मुख, आँखा र छालाबाट शरीरमा प्रवेश गर्नसक्ने भएकोले यसको प्रयोग गर्दा पूरै शरीर धाक्ने गरी लुगा लगाएर प्रयोग गर्नुपर्ने बताए ।

बजारबाट ल्याएको तरकारी सिधै उपभोग नगरी केही दिन फ्रिजमा राखेर, पानी बग्ने गरी धारामा पखालेर, नुन पानी वा खाने सोडा मिसाएर १५÷२० मिनेट पानीमा डुबाएर मात्र प्रयोग गरे ८० प्रतिशत विषादी नष्ट हुने बताए । तरकारीमा किरा लागेमा मित्र किरा, जैविक विषादी, निम, झोल मल आदीको प्रयोग गरी रोकथाम गर्ने उपाय अपनाउनु पर्ने र किटनाशक विषादीको उपयोग अन्तिम उपायको रुपमा प्रयोग गर्नुपर्ने उनले बताए ।

उनले भक्तपुरमा तीस हजार घर परिवार कृषिमा निर्भर रहेको, पाँच देखि दश अर्वको आम्दानी हुने तर बढ्दो सहरीकरणसँगै जमिन घट्दै गएकोले परम्परागत खेती छोडी बढी उत्पादन हुने खेतीतर्फ लाग्नुपर्ने बताए । कृषि उत्पादन गर्दा राम्रो बालीको छनोट, आधुनिक प्रविधि, कम्पोष्ट तथा जैविक मल, मौसम अनुसारको बालीको जात छनोट, प्रविधि, प्रशोधन, माग, लगानी, भण्डारण, जनशक्ति, नीतिगत सहयोग, मूल्य अभिबृद्धि, बालीको बिमा आदिमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कृषि उपसमितिका संयोजक रामलक्ष्मी दुवालले कृषकहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी कसरी बढी उत्पादन गरी नाफा कमाउने भन्ने सोच राख्दा आज विषादीजन्य तरकारी उपभोग गर्न उपभोक्ता बाध्य भएको बताए । जसले गर्दा सर्ने रोग भन्दा नसर्ने रोग तथा क्यान्सर रोगी दिनानुदिन बढ्दै गएको उनको तर्क छ ।

कार्यक्रममा रामचन्द्र कोजु, कर्ण प्रजापति लगायतले आफ्नो जिज्ञासा राख्नुको साथै कृषि उपसमितिका सदस्य कृष्णसागर कोजुले कार्यक्रमको औचित्यबारे बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *