११६औं देवकोटा जयन्तीमा कविता वाचन प्रतियोगिता सम्पन्न

Featured कला/साहित्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १ कार्तिक


भक्तपुर सूर्यमढीस्थित रहेको प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरब्यापी आधारभूत तहस्तरीय कविता प्रतियोगिता शनिवार वाकुपति नारायणचोकमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेहनत र परिश्रम गरी लेखेको समाजप्रति समर्पित साहित्यले समाजको परिवर्तनमा सघाउने बताए । उनले कोही पनि व्यक्ति शीर्ष स्थानमा पुग्न निरन्तर लाग्नुपर्नेमा जोड दिए । साथै साहित्य बहुसंख्यक जनताले बुझ्ने र सरल र सहज भाषाशैलीमा लेख्नुपर्ने बताए । उनले भक्तपुरमा मानिसको जन्मदेखि मृत्युसम्मका सबै क्रियाकलापमा सहज हुने गरी समाजवादी सोच अनुरुप कार्य गरेको बताए । हामीले लेख्ने हरेक साहित्यले लाखौं जनताको सेवा गर्नुपर्नेमा जोड दिँदै उनले समाजको सकारात्मक परिवर्तनका लागि साहित्यको योगदान रहेको औंल्याए ।

भक्तपुर नगरपालिका ९ वडाका कार्यवाहक वडाध्यक्ष छोरीमैया सुजखुले समाजमा व्याप्त विकृति विसंगति हटाउन साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपाल मजदुर किसान पार्टी ९ वडा प्रारम्भिक समितिका प्रतिनिधि काशिलाल प्रजापतिले पार्टीका अग्रज बुद्धिकुमार गोसाईको अग्रसरतामा वि.सं २०३८ सालमा प्रगति पुस्तकालयको स्थापना भएको बताए । उनले ती अग्रजकै कारण निरन्तर सामाजिक, शैक्षिक, राजनैतिक, खेलकुद, स्वास्थ्यजस्ता समाजमा प्रत्यक्ष प्रभाव पर्ने क्रियाकलापहरु अघि बढेको बताए ।

पुस्तकालयका संस्थापक अध्यक्ष विष्णुगोपाल कुसीले साहित्यि क्षेत्रमा देवकोटाको योगदान र जीवनको अन्तिम घडीसम्म पनि साहित्यमा निरन्तरता दिएको बताए । उनले कविता वाचन गरेको विद्यार्थीहरुसँग देवकोटाको शैशवकालको तुलना गरेको बताए ।

त्यस्तै निर्णायक एवम् शिक्षक ज्ञानसागर प्रजापतिले आत्मनिर्भर नभएकै कारण जनताले दुःख पाएको स्पष्ट पार्दै वाचित साहित्यले देश र समाज बोलेको बताए । उनले वाचित कविताको मूल्यांकन गर्दै पढ्नु भनेको पास हुनका लागि नभई जनताको सेवा गर्नका लागि पनि भएको औंल्याए । उनले अहिलेको उमेरमा विध्वंशतिर नगई रचनात्मक र सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । कवि हरिहर तिमिल्सिनाले निर्णय सुनाउँदै अन्य व्यक्ति रमाइलो गर्दै गर्दा यता काब्यको माध्यमबाट समाज परिवर्तनमा लागेको बताए । उनले उत्तम कार्य गरे समाजले सधै सम्झिरहने बताउँदै दिमागलाई समाजकै निम्ति रचनात्मकतामा लगाउनुपर्नेमा जोड दिए ।

कवि रुपकेशरी उलकले दुई कविता सुनाएको उक्त कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष विश्वराम प्रजापतिले पुस्तकालयबाट साहित्यिक क्रियाकलापलाई निरन्तरता दिइरहेको बताए । उनले समाजलाई सत्मार्गतर्फ दो¥याउन पुस्तकालयको योगदान रहेको बताए ।

पूर्व अध्यक्ष प्रेम प्रजापतिले पुस्तकालयको स्थापनाकालदेखि नै समाजमा सकारात्मक परिवर्तनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको स्पष्ट पारे ।
आयोजक संस्थाका अध्यक्ष रवीन्द्र प्रसाद कुसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सविन्द्र प्रजापति, प्रोवेश प्रजापतिले पनि बोलेका थिए ।

१४ वटा विद्यालय, टीम क्लब, पुस्तकालयबाट २२ जनाले वाचन गरेको उक्त प्रतियोगितामा महेन्द्र विद्याश्रमका सिन्साङ लामा प्रथम, तारा माविका एन्जिला तामाङ द्धितीय, ख्वप्रिङ्ग इङ्लिस एकेडमीका राजश्री कुसी तृतीय र एभरेष्ट स्कूल भक्तपुरका आरसी गौतम सात्वना स्थान हासिल हुन सफल भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *