पश्चिमाहरूले एमालेलाई कम्युनिस्ट ठान्नु नै गलत– रोहित

Featured पर्यटन फाेटाे ग्यालरी राजनीति विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

भक्तपुर, ३० असाेज

“कम्युनिस्ट विचार संसारकै नयाँ विचार हो । सच्चा कम्युनिस्टहरू सधैँ जवान नै हुन्छन् ।”

कम्युनिस्ट विचार संसारकै नयाँ विचार हो

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक मङ्गलबार भक्तपुरमा सम्पन्न भएकाे छ ।

नेमकिपाका अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको सो बैठकमा वर्तमान राजनीतिक सङ्कट तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएकाे हाे ।

बैठकमा अध्यक्ष रोहितले देशमा विकसित राजनीतिक घटनाक्रम एमसीसीसँग सम्बन्धित भएको प्रस्ट पार्दै विदेशीले तालिम दिएका मानिसहरू देशको मुख्य मुख्य ठाउँमा पुग्दा यो सङ्कटको घडी आएको बताए।

राज्य सत्ताको माथिल्लो तहका मानिसहरूको जानकारीमा सम्पूर्ण घटना घटेको उल्लेख गर्दै उनले भने, “हाम्रो सरकार सरकारजस्तो नै भएन । हाम्रो संसद् संसद्जस्तो नै भएन । यहाँ नीतिको विषयमा होइन नेतृत्वको विषयमा विवाद या झगडा भयो ।”

अध्यक्ष रोहितले भने, “पश्चिमाहरूले एमालेलाई कम्युनिस्ट ठान्नु नै गलत भयो । हामीले नेपाली जनता र विश्व जगतलाई एमाले कम्युनिस्ट होइन भनेर प्रस्ट पार्ने प्रयास गर्‍यौँ । कसैलाई धोका नहोस् भनेर हामीले आफ्नो कर्तव्य पूरा गरेका हौँ ।”

उनले भने, “एमालेले पार्टीको नाउँ फेर्नु उपयुक्त हुनेछ । भोट बटुल्न मात्र किन कम्युनिस्ट नाउँ राख्ने ?” उनले स्पष्ट शब्दमा भने, “कम्युनिस्ट विचार संसारकै नयाँ विचार हो । सच्चा कम्युनिस्टहरू सधैँ जवान नै हुन्छन् ।”

नेपाल ‘एक चीन नीति’ को पक्षमा सुरुदेखि नै भएको जगजाहेर छ भन्दै अध्यक्ष रोहितले भने, “दलाइ लामा तिब्बतका दास मालिकहरूको संस्था हो । राजतन्त्र जस्तै पूर्वेली सभ्यता र बौद्ध संस्कृतिबारे अध्ययन गर्नु आवश्यक छ ।” अध्यक्ष रोहितले निर्वाचन भएमा नेमकिपाले उपयोग गर्ने स्पष्ट पारे ।

बैठकमा जिल्ला–जिल्ला तथा ठाउँ–ठाउँमा साहित्यिक तथा सांस्कृतिक गतिविधिमार्फत नेपाली कामदारवर्गलाई शिक्षित गर्नुपर्ने, पार्टी कार्यकर्ताहरूबिच पार्टी विधानबारे कक्षा सञ्चालन गर्नुपर्ने आदि विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ।

बैठकमा केन्द्रीय सल्लाहकारहरूले आ–आफ्ना विचार व्यक्त गरे । उनीहरूले राखेको जिज्ञासाबारे अध्यक्ष रोहितले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *