न्यूज अपडेट संवाददाता
भक्तपुर, २० भदौ
वागीश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।
शुक्रबार कलेजले भक्तपुर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी गोष्ठी सम्पन्न गरेको हो ।
कलेजको आयोजनामा गत भदौ ३ गतेदेखि गोष्ठी सुरु भएको थियो । गोष्ठीमा बी.ए दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले १५ राष्ट्रका सञ्चारमाध्यम, सञ्चारमाध्यमहरुको इतिहास, प्रेस स्वतन्त्रता, प्रचलित प्रेस व्यवस्था र व्यवस्था अन्तर्गत पनि कानुनी र संवैधानिक व्यवस्था सम्बन्धी अध्ययनात्मक कार्यपत्र प्रस्तुत गरेका थियो ।
कार्यक्रममा उपप्रमुख जोशीले वर्तमान अवस्थामा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरु पूँजीवादी व्यवस्था अन्तर्गत सञ्चालनमा रहेकोले सञ्चारमाध्यमहरुले श्रमिक तथा गरिव जनताको आवाज उठाउन नदिएको औंल्याइन् ।
“अहिले जति राष्ट्रियस्तरका मिडियाहरु छन्, पूँजीबादी व्यवस्थाभित्रैबाट सञ्चालनमा छन् । उनीहरुले गरिब तथा श्रमिक वर्गको आवाज उठाएका छन् त ? प्रेजेन्टेसन पनि आयो । नेपालमा पूर्ण प्रेस स्वतन्त्रता छ । तर स्वतन्त्रता छ भन्दैमा सञ्चारमाध्यमहरुबाट आएका कुराहरुले समाजमा कस्तो असर पार्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । सुसूचित हुने जनताको आधारभूत अधिकार हो । यसको हनन् हुन नदिन पत्रकार र सञ्चारमाध्यमहरुले निस्थापूर्वक आफ्नो कर्तव्य निभाउनुपर्छ,” प्रमुख अतिथि जोशीले भनिन् ।
उनले गोष्ठीबाट आफूले विदेशी मिडियाको बारेमा ज्ञान आर्जन गर्ने मौका पाएको बताए । र विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागि हुन प्रेरित गरे ।
कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिका वडा–९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरुलाई पत्रकारिता राजनैतिक व्यवस्थाले प्रभावित हुने बताउँदै सञ्चारमाध्यमको अध्ययन गर्नुअघि देशको राजनीतिक अवस्थासँग जानकार हुन सुझाव दिए ।
“देशको राजनीतिक अवस्था कस्तो छ ? देशमा रहेको राजनीतिक अवस्थाबाट नीति नियमहरु बन्छन् । त्यस आधारमा पत्रकारिताको पनि दिशा मोडिएकै हुन्छ । कसले नेतृत्व गरेको छ भन्ने कुरामा भरपर्छ । कुनै देशको सञ्चारमध्यमको अध्ययन गर्दै छौँ भने त्यो देशको राजनीतिक अवस्था थाहा पाउनुपर्छ,” विशिष्ट अतिथि ज्याख्वले भने ।
उनले विश्वमा हरेक देशलाई सञ्चारमाध्यमद्धारा प्रकाशित विषयबस्तुको आधारमा चित्रण गरिने बताए । कार्यक्रममा अतिथि कलेजका संयोजक ज्ञानसागर प्रजापतिले आफ्नो व्यक्तिगत अनुभव बताउँदै समाचारको ऐंगल फरक हुने गर्दा सञ्चारमाध्यमहरुले बाहिरी दबाब खेप्ने गरेको अवस्था सुनाए ।
कार्यक्रममा आमसञ्चार तथा पत्रकारिता विषयका शिक्षक पूर्णभक्त दुवालले कलेजले विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यका साथ गोष्ठी कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा कलेजका प्राचार्य तथा सभाध्यक्ष धनकुमार श्रेष्ठले गोष्ठीबाट विद्यार्थीहरुलाई व्यावसायिक बजारमा आवश्यक पर्ने सिप विकास गर्ने कुरामा केन्द्रित रहेको जानकारी दिए ।
कार्यक्रममा गोष्ठीको अन्तिम कार्यपत्र प्रस्तुत गरिएको थियो । वागिश्वरी कलेजले हरेक वर्ष यसरी नै दोस्रो वर्षको निम्ति गोष्ठी आयोजना गर्दै आएको छ ।
कार्यपत्र प्रस्तुती गर्ने विद्यार्थीहरुलाई विशिष्ट अतिथि रवीन्द्र ज्याख्वबाट प्रमाण पत्र वितरण गरेको थियो ।