मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुने

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य
डा मिलनप्रकाश श्रेष्ठ
काठमाडाैं, १४ भदाै

कुनै पनि व्यक्तिको मुटुको कोठा, भल्भ वा रक्तनलीमा समस्या आएमा त्यसलाई मुटुरोग भनिन्छ। मुटुरोग मानिसमा जन्मजात पनि हुन सक्छ। यसबाहेक, मुटुको बाथ रोग र मुटुमा ब्लक हुने समस्या पनि देखिन्छ। कतिपय व्यक्तिमा मुटुको चाल गडबड हुने (एरिदमिया) वा मुटुले पर्याप्त काम गर्न नसक्ने (हार्ट फेलियर) अवस्था पनि आउन सक्छ। मुटुको ब्लकलाई बेवास्ता गर्दा वा समयमै उपचार नगर्दा हृदयघातसमेत हुन सक्छ।

पछिल्लो समय शहरी क्षेत्रमा मुटुरोगका बिरामीको सङ्ख्या बढेको छ। खानपानमा ध्यान नदिँदा, नियमित योग, ध्यान र कसरत नगर्दा तथा अत्यधिक तनाव लिँदा यो रोगका बिरामीहरू दिनानुदिन बढ्दै गएका छन्।
रक्तचाप (ब्लडप्रेसर) र मधुमेह (सुगर) का कारण पनि मुटुरोग बढ्ने गरेको पाइन्छ। यी रोगका बिरामीको सङ्ख्या बढ्दा मुटुरोगका बिरामी पनि बढेका छन्। मानसिक तनाव, धूमपान र मद्यपानका कारण पनि मुटुरोग लाग्ने गर्छ। धेरै बिरामीले उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्यालाई बेवास्ता गर्दा हृदयघातको जोखिम बढ्छ।
अहिले ४० वर्षभन्दा माथिका बिरामी मुटुको समस्या लिएर धेरैजसो अस्पताल आउने गरेको पाइन्छ। यो उमेर समूहका मानिसमा पहिलेभन्दा बढी मुटुरोग देखिएको छ। नियमित जाँच नगर्दा पनि समस्या बढ्ने गर्छ। सामाजिक सञ्जालको प्रयोग बढेसँगै मुटुरोगसम्बन्धी जनचेतना पनि बढेको छ, जसले गर्दा मुटु दुख्नासाथ मानिसहरू अस्पताल आएर डाक्टरको सल्लाह लिने गरेका छन्।

अचेल २० देखि ३० वर्षका युवाहरूमा पनि उच्च रक्तचापको समस्या देखिन थालेको छ। यो उमेरका कतिपय मानिसहरू औषधि खान मान्दैनन्, जबकि समयमै औषधि सेवन गरेमा गम्भीर दुर्घटनाबाट बच्न सकिन्छ।

अनावश्यक तनाव लिने, धूमपान तथा मद्यपान गर्ने, पर्याप्त मात्रामा नसुत्ने, धेरै मासु तथा चिल्लो पदार्थ खाने बानीका कारण मुटुरोगको समस्या अत्यधिक मात्रामा देखिने गरेको छ।

मुटुरोग भएका व्यक्तिले नियमित रूपमा रक्तचाप, सुगर र कोलेस्टेरोल जाँच गर्नुपर्छ र कुनै समस्या देखिएमा डाक्टरको परामर्श लिनुपर्छ। रोग लाग्न नदिनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म शाकाहारी भोजनलाई प्रोत्साहन दिनुपर्छ, जुन स्वास्थ्यका लागि उत्तम हो। कुनै पनि व्यक्तिले रोग लाग्न नदिनका लागि दैनिक ३० मिनेटदेखि १ घण्टासम्म नियमित व्यायाम गर्नुपर्छ। यस्तै, रातमा ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ। तनावलाई व्यवस्थापन गर्नु रोग लाग्न नदिनका लागि एउटा उत्तम उपाय हो।

(मुटुरोग विशेषज्ञ डा श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *