प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ९ असार
प्रदेश अस्पताल, सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, प्रतिवादीहरूले २०८० साउन १ देखि २०८१ असार ३२ सम्मको अवधिमा अस्पतालको सामाजिक सेवा एकाइ र स्वास्थ्य बिमा शाखामा संकलन भएको राजस्व रकम रु. ३४,०३,८५६.५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु. ८,३६,३३० (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) मात्रै अस्पतालको खातामा दाखिला गरेका थिए। बाँकी रु. २५,६७,५२६.५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।

आरोपपत्रमा उल्लेख भएअनुसार, करारमा कार्यरत तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता काउन्टरमा काम गर्ने जिम्मेवारी पाए पनि अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गरेको र सोबाट प्राप्त रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको पाइएको छ। लेखा अधिकृत सुवेदी र बैंककी तत्कालीन प्रमुख मगरले समेत यो अनियमिततामा संलग्नता जनाएको आयोगको ठहर छ।

स्राेतः स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *