कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार शिक्षा समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

भक्तपुर, १५ जेठ

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१/८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता नै कानुन हो भन्दै कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने बताए ।
कानुनको अज्ञानता र अवहेलना क्षम्य नहुने बताउँदै उनले कानुनको उल्लङ्घन दण्डनीय हुने हुँदा कानुनबारे सबै सचेत र सहज हुनुपर्ने बताए।
अध्यक्ष बिजुक्छेँले न्यायालय निष्पक्ष हुुनुपर्ने बताउँदै अधिवक्ताहरूले राष्ट्र र समाजलाई हानि हुने काम र झूटा कुरा गरेर मुद्दा जित्ने प्रयत्न कहिल्यै गर्न नहुने बताए।
कानुनी शिक्षा सबै विषय र क्षेत्रमा अति आवश्यक विषय भएको हुँदा विद्यालय तहदेखि नै कानुनी शिक्षामा जोड दिन सके विद्यार्थीहरूमा व्यापक दृष्टिकोणको विकास हुने उनले प्रस्ट पारे।
कतिपय अवस्थामा अपराध नियतले नभई परिस्थितिले पनि गर्न बाध्य पार्ने बताउँदै उनले यस्तो अवस्थामा अपराधी स्वयम्भन्दा पनि अपराध हुने स्थिति तयार गर्ने तत्वहरू दोषी हुने बताए।
ल कलेजले विद्यार्थीहरूलाई कानुनबाहेक देशको भूगोल, राजनीतिशास्त्र, धर्म, इतिहासबारे पनि अध्ययन गराउनुपर्ने बताउँदै उनले कानुनका विद्यार्थीहरूले तात्कालीन राजनीतिक र सामाजिक विषयबारे पनि अध्ययनमा जोड दिनुपर्ने धारणा राखे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचनको घोषणापत्रमा नयाँ–नयाँ विषयका कलेजहरू सञ्चालन गर्ने प्रतिबद्धताअनुसार विद्यार्थीको चाहना र देशको आवश्यकताअनुसार २०७९ सालबाट ख्वप कलेज अफ ल सञ्चालनमा ल्याएको बताए ।
सीमित सीट सङ्ख्याका कारण चाहेर पनि ख्वप कलेज अफ लले धेरै विद्यार्थीलाई कानुन अध्यापन गराउन नसकिरहेको बताउँदै उनले कानुनका विद्यार्थीहरू सामाजिक र व्यवहारिकरूपमा पनि अब्बल बन्नुपर्नेमा जाेड दिए।
प्रमुख प्रजापतिले पुँजीवादी गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद हो भन्दै समाजवादी गणतन्त्र नै कामदारवर्गको प्रजातन्त्र हो भने।
सञ्चालक समितिका उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शैक्षिकरूपमा अगाडि बढाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको महत्वपूर्ण देन रहेको बताउँदै नगरपालिकाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो पूरा हुने विश्वास व्यक्त गरे ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले कानुन व्यवसाय झन्झन् चुनौतीपूर्ण बन्दै गइरहेको उल्लेख गर्दै कानुन व्यवसायीहरू कानुन निर्माणको उद्देश्यबारे प्रस्ट हुनुपर्ने बताए ।
कानुन व्यवसायीहरूले अन्तर्राष्ट्रिय विषयमा पनि अध्ययन अनुसन्धान गरी व्यापक दृष्टिकोण लिएर काम गर्नुपर्नेमा जोड दिँदै उनले न्यायाधीश नियुक्तिमा भागबन्डाको राजनीतिले गर्दा देशको न्यायालय दुर्गन्धित बनिरहेको बताए।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ–नयाँ ज्ञान र सीप सिक्नबाट विद्यार्थीहरू सधैँ अभिप्रेरित भइरहनुपर्ने बताउँदै सिकाइले हाम्रो अज्ञानताबारे अझ प्रस्ट हुने अवसर प्रदान गर्ने बताए।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेज स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै न्याय र समानताको लागि विद्यार्थीहरूले सत्यको पक्षमा लड्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यार्थी प्रतिनिधि दिलबहादुर भण्डारी र जिविता कुँवरले ख्वप कलेज अफ लमा अध्ययन गर्दाको अनुभव बताएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *