न्यूज अपडेट संवाददाता
भक्तपुर, ११ पुस

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उपसमितिको आयोजनामा शुक्रबार क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिकसँगै नियमित रुपमा खेलकुद, सांस्कृतिक, सामाजिक, शैक्षिक कार्यक्रमहरु गरिरहेको र यसैको एउटा सिलसिला स्वास्थ्यबद्र्धक क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको बताए । उनले संस्थाले आर्थोपार्जनको केही हिस्सा यस्तो सामाजिक कार्यमा लगाएको बताए । उनले जीवनमा कमाएका सम्पत्तिलाई बचाउन जान्नेमात्रै त्यसको औचित्य हुने स्पष्ट पार्दै शरीर स्वस्थ रहेमात्रै कमाएका सबै बच्ने बताए । साथै स्वस्थ जीवनले मात्रै राम्रो भविष्य निर्माण गर्ने भएकाले यो कार्यक्रम सार्थक भएको बताए ।

क्यान्सर रोग सम्बन्धी अभिमुखीकरण गर्दै भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ सर्जन डा. पुण्यराम खर्वुजाले क्यान्सर रोग आफै रोग नभएको स्पष्ट पारे । उनले हामीले प्रयोग गरिआएका हरेक कुरामा रासायनिक पदार्थको प्रयोग हुने भएकाले नियमित जाँच गरी रोग लाग्न दिएर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सचेत हुनुपर्ने औंल्याए । उनले भक्तपुरमै विशेषज्ञ सेवा दिइरहेको बताउँदै दुर्गम क्षेत्रमा जस्तै उपचारै नगरी मर्नुपर्ने अवस्था भक्तपुरमा नभएको औल्याए । नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार प्रविधिजडित उपकरणहरु उपलब्ध गराउन नसक्दा बिरामीले समयमै उपचार नपाएको गुनासो गर्दै गरिबी, निराक्षरता, अज्ञानता र कमजोर स्वास्थ्य प्रणालीका कारण क्यान्सर रोगबाट मर्नुपरेको यथार्थ चित्रण गरे ।

क्यान्सर रोग लाग्नुको कारण, लक्षण, अवस्था र उपचारविधिबारे स्पष्ट पार्दै डा. खर्बुजाले नेपालीहरु क्यान्सर रोगको चौथो चरणमा आइपुगेपछि मात्र अस्पतालमा उपचारका लागि आएकाले मृत्यु संख्या बढ्ने बताए । साथै अहिले नै हाम्रो घर आँगनमा क्यान्सरको प्रवेश गरिसकेको बताउँदै अबको २० बर्षमा एक घर एक क्यान्सर बिरामी हुने भएकाले खानपिनमा ध्यानदिनुपर्ने, नियमित रुपमा चेकजाँच गर्नुपर्ने उनले बताए । उनले शल्यक्रिया प्रविधिको तिव्र विकास भइरहेकाले हरेक रोगको उपचार सम्भव भएको उनको भनाइ छ । उनले जन्मदिनमा केक होइन, पोषणयुक्त स्वास्थ्य प्याकेज दिनुपर्ने र संस्थाले पनि बोनसभन्दा स्वास्थ्यका प्याकेजमा ध्यानदिनुपर्ने सुझाव दिए ।

आयोजक समितिका संयोजक कृष्णसुन्दर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मैयालक्ष्मी त्यातले पनि बोलेको थियो ।