न्यूज अपडेट संवाददाता
भक्तपुर, २ कार्तिक
नेपाल मजदुर किसान पार्टी ९ वडा एकाइ समितिको आयोजनामा दीपावली, नेपाल सम्बत् ११४६ (न्हू दँ) को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले पार्टी कार्यकर्ताहरुले पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले बेइमान गर्ने भ्रष्टाचारीहरुलाई सम्मान गरेसम्म देश र जनताले दुःख पाउने स्पष्ट पारे । झिंगासँगको संगतले फोहोरमा जाने र माहुरीसँगको संगतले फलपूmलमा जाने स्पष्ट पार्दै उनले संगत राम्रो भएमात्र देश बनाउन सक्ने बताए । जनतालाई शोषण र अत्याचार गरेकैले विध्वंश मचिएको बताउँदै उनले तिनीहरु देशी विदेशी शक्तिबाट चल्नु दुःखको कुरा भएको बताए । उनले संविधानमा लेखे बमोजिम मात्र सरकारले काम गरे कोही पनि बेरोजगार बन्न नपर्ने औंल्याए । साथै उनले समसामयिक विषयमा प्रशिक्षण दिँदै अहिलेको युवा राम्रो बाटोमा गएमात्र देशको भविष्य बन्ने बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले समाजवादी व्यवस्थासहितको राम्रो नेतृत्वले देश अघि बढ्ने बताए । उनले पार्टीको संगठन विस्तारको क्रममा भएका जनगुनासाको विश्लेषण गर्दै अहिलेको अन्तरिम सरकार अन्य देशबाट सञ्चालित भएको टिप्पणी गरे । अनुसन्धान क्षेत्रमा लाग्नुपर्ने युवा पिढी विध्वंशमा लाग्दा देश अरुको कब्जामा परेको बताउँदै उनले युवाहरु वैचारिक र सैद्धान्तिक रुपमा सचेत र संगठित हुनुपर्ने औंल्याए ।
तुमचो दुगुरे चोखा पार्टी एकाइ समितिका जगनाथ प्रजापति, दतात्रय पार्टी एकाइ समितिका नातिभाइ ह्योम्वा र सूर्यमढी पार्टी एकाइ समितिका दिलभक्त कोजुले दीपावली र नयाँ वर्ष ११४६ को शुभकामना दिएको उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजू, सदस्य काशिलाल प्रजापतिले पनि समसामयिक विषयमा बोलेको थियो ।