विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन

Featured पर्यटन फाेटाे ग्यालरी राजनीति विचार विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

सुर्खेत, ३० असाेज

विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन

नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले अनलाइनमार्फत बोल्दै नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा पनि संरा अमेरिका र भारतकै हात रहेको भनाइ राखेको छ । उनले भारत र नेपालबिचको सीमा खुला भएको कारण तथा शासक दलमा घुसेका र घुसाएकाहरूले ध्वंसको काम गरेको हुनसक्ने बताए ।

अध्यक्ष बिजुक्छेँले भदौ २३ र २४ गतेको घटनामा लागेका नयाँ पुस्तामा वैचारिक एकता नभएको भन्दै तिनीहरूसँग आर्थिक समानता कायम गर्ने नयाँ विचार नभएको स्पष्ट पारे। उनले परिवर्तनको निम्ति समाजवादी व्यवस्था नै चाहिने र त्यसको लागि पुँजीवादी व्यवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गरे । उनले भने, “गलत औषधि खाएर रोग निको हुँदैन ।” उनले विध्वंस गर्नु नै क्रान्ति होइन भन्दै उही थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन नहुने बताए ।

अध्यक्ष रोहितले नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक पार्टीहरूकै कारण देश पछाडि धकेलिएको धारणा राखे । उनले सरकार गठन गर्ने काम संसद्को हो, राष्ट्रपतिसँग सरकार गठन गर्ने कुनै अधिकार छैन भन्दै अहिले कामचलाउ सरकार छ, नेमकिपाले ताजा जनादेश लिने चुनावलाई उपयोग गर्ने बताए ।

आफूले काम गरेको सरकारी कार्यालय जलाइएको बेला कर्मचारीले पनि जोगाउनुपर्थ्याे भन्दै जिम्मेवारी छोडेर भाग्नेहरूलाई पनि जवाफदेही बनाउनुपर्ने उनकाे भनाइ छ । उनले भने, “देश जोगाउन सारा जनतालाई सैनिक तालिम दिनुपर्छ ।”

नेमकिपाका सचिव प्रेम सुवालले भने, “विदेशी प्रभावमा परेको सरकारले देश र जनताको सेवा गर्न सक्दैन । चीनले कुनै देशमा सेना र हतियार तैनाथ गर्ने वा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति लिएको छैन ।”

उनले भने, “एक जना एसएसपीले आफ्नो बढुवाको बेला ५० लाख रुपैयाँ घुस मागेको र सो नदिँदा आफ्नो आईजीपीसमेत हुने अवसर गुमेको बताएको यथार्थ भए यसको दोषी शासक दलहरू नै हुन् ।” उनले लोकसेवा आयोगका एक अध्यक्षले संसद्को समितिको बैठकमा नेमकिपाका सांसदले लोकसेवा आयोगमा उत्तीर्ण कर्मचारीहरू कतिपय भ्रष्टाचारी भएको उठाएअनुसार एक डेढ वर्षमा नै भ्रष्टाचारमा कर्मचारी परेको बताए।

उनले भने, “राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सहमतिमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेको बताएका छन् । यसबारे ओली मौन छ । माओवादीका पुष्पकमल दाहालले संविधान जोगाउन रातभर राष्ट्रपति र सेनापतिसँग छलफल गरी अहिलेको राजनीतिक निकास ल्याएको दाबी गरे । यो सबै यथार्थलाई ढाकछोप गर्न शासक दलहरूले भदौ २८ गते अन्तरिम सरकार गठनको विरोधमा वक्तव्य प्रकाशित गरेको जनतालाई धोका दिनु किन होइन ?” उनले नेपालको प्राकृतिक स्रोतबारे निर्णय गर्न संसद्को दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेमा लगानी बोर्ड बनाएर नेपालको प्राकृतिक स्रोत विदेशीलाई दिने शासक दलहरू देशघाती भएको बताउँदै अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता गर्ने शासक दलहरू पनि देशघाती भएकाे बताए ।

उनले भने, “सरकारको समानान्तर बजेट खर्च गर्ने विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूदेखि युवाहरू सचेत हुनुपर्दछ । कतिपय युवाहरू त्यस्ता गैरसरकारी संस्थामा सम्बद्ध भएर भदौ २३ गतेको सडक प्रदर्शनमा लागेको सार्वजनिक भयो । यो राम्रो सङ्केत होइन ।” “प्रजग कोरिया साम्राज्यवादविरोधी आत्मनिर्भर देश हो । शासक दलका नेता र कार्यकर्ताहरूले प्रजग कोरियाका नेतालाई तानाशाही देख्नु साम्राज्यवादी चस्मा राख्नु हो ।” उनले भने ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले राजनीति पैसा कमाउनको निम्ति नभएको भन्दै नेमकिपाले कहिल्यै गैरसरकारी संस्थामा जागीर खुवाएर सङ्गठन विस्तार हुन्छ भन्ने नसोचेको धारणा राखे ।

उनले महिला प्रधानमन्त्री हुँदैमा परिवर्तन हुन्छ भन्ने कुरा निश्चित नभएको भन्दै विगतमा महिला राष्ट्रपति नेपालले पाएकै स्पष्ट पारे। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पुँजीवादी बन्दोबस्तले जनताका समस्या समाधान नगर्ने भएकोले नयाँ पुस्ताले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

नेमकिपाका केन्द्रीय सदस्य तुल्सी खड्काले नेमकिपाले कामदारवर्गका महिलालाई राजनीतिकरूपले सचेत पार्ने गार्‍हो काम गरिरहेको बताए । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले आत्मनिर्भर अर्थतन्त्रको निम्ति कृषि उत्पादनमा जोड दिनुपर्ने भनाइ राखे ।

कार्यक्रममा कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापति, इन्जिनियर समाजका केन्द्रीय अध्यक्ष नरेश खत्री, नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छा, नेमकिपाको केन्द्रीय सल्लाहकार समितिका सदस्य नर्मा गुरुङ, आयोजक समितिका उपाध्यक्ष अकल राना, सचिव लालबहादुर थापाले आ–आफ्नो विचार राखेको थियो ।

कार्यक्रम आयोजक समितिका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *