न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ चैत्र

नेपाल बार एशोसियसनको अधिवेशनमा उम्मेदवारी दर्ता गराएका कानुन अध्ययन समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भक्तपुर बार एशोसियसनमा शुक्रबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले नेवाएको महाधिवशनमा कानुन अध्ययन समाजको उम्मेदवारी बार एशोसियसन र न्याय क्षेत्रमा देखिएको विकृति–विसङ्गतिविरुद्ध सङ्घर्षको निम्ति भएकाे बताए।
ठुला कानुन व्यवसायी सङ्गठनहरूले आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएर निर्वाचन जित्नकै लागि गठबन्धन गरेको र आचारसंहिताविपरीत मतदाता प्रभावित पार्ने काम गरिरहेको उनले बताए।
उनले बार एशोसियसनको निर्वाचनमा चर्को उम्मेदवारी शुल्क लगाउनु कामदारवर्गका कानुन व्यवसायीहरूलाई उम्मेदवारीबाट वञ्चित गर्ने नियत झल्किन्छ भन्दै त्यसको विरोध पनि समाजले गर्दै आएको बताए।
कानुन अध्ययन समाज नेपालको तर्फबाट नेपाल बार एशोसियसनको अध्यक्ष पदका उम्मेदवार अधिवक्ता राजु कैतीले नेपाल बारको भूमिकालाई न्याय क्षेत्रको बिचौलिया र न्यायाधीश नियुक्तिमा भागबन्डा खोज्ने निकायको रूपमा भइरहेको बदनामीलाई रोक्न समाजको उम्मेदवारी परेको र समाजका उम्मेदवारलाई मतदान गर्नु नेपाल बार र न्याय क्षेत्र सुधारको आवाजलाई ठुलो बनाएकाे बताए।
उनले विद्वान अधिवक्ताहरूले कसैको आश्वासनको भरमा नभई नीति र कार्यक्रमको आधारमा मतदान गर्ने अपेक्षा व्यक्त गरे।
नेपाल बार एशोसियसन भक्तपुर बार एकाइका अधिवक्ता एवं उपाध्यक्ष सरोजकुमार तुछेँ श्रेष्ठले कानुन अध्ययन समाजले उठाएको मुद्दा समय सान्दर्भिक भएको बताउँदै देशभरका कानुन व्यवसायीसम्म पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरे। सोही एकाइका सचिव अधिवक्ता पुरुषोत्तम तिमिल्सिनाले बारको निर्वाचन विचारको लडाइँ भएकोले स्वस्थ वैचारिक प्रतिस्पर्धा हुनुपर्ने बताए।
कानुन अध्ययन समाज नेपालले अध्यक्ष पदमा राजु कैती र खुला सदस्य पदमा अधिवक्ता शिवराज दाहाललाई उम्मेदवार बनाएको छ ।