भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न, सबैकाे चुनाैती तरलतामा वृद्धि

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १० फागुन

सिन्धु, सगुन र जागरण साकोसमा अध्ययन भ्रमण

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन भ्रमण सिन्धुलीको सिन्धु बचत, सर्लाही हरिवनको सगुन बचत र मकवानपुरगढी, हेटौंडाको जागरण बचतमा भएको छ । सहकारी अध्ययन भ्रमण यहि फागुन ६ गतेदेखि ९ गतेसम्ममा सम्पन्न भएको हो ।

अध्ययन भ्रमणको क्रममा भक्तपुर बचतले बुधबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ धुराबजारमा अवस्थित सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अध्ययन गरेको थियो । उक्त सहकारीका अध्यक्ष जंग बहादुर राईले सबैजसो सहकारीमा आएको चुनौती नै आफ्नो चुनौती रहेको बताउँदै अहिलेको राष्ट्रिय सहकारी प्राधिकरण, सहकारी विभाग, नगरपालिकालगायतबाट भएको पत्राचार र मापदण्ड, नीति निर्देशनले सहकारी चलाउनमा समस्या आएको बताए । उनले बचत तथा ऋणसम्बन्धी संस्थाको व्यवस्थाबारे बताउँदै बजार सानो र माग कम भएकाले लगानीमा आएको समस्याको बारेमा स्पष्ट पारे । उनले संस्थाले हरसम्भव सुशासन र पारदर्शितामा लाग्ने बताउँदै दुई संस्थाबीचको सम्बन्ध कायम गरिराख्ने बताए । सिन्धु बचतका व्यवस्थापक सुरेश कुमार ज्यू ठकुरीले संस्थाको आर्थिक अवस्थाबारे स्पष्ट पार्दै माघ मसान्तसम्मको वासलात ४१ करोड ४१ हजार रुपैयाँ रहेको बताए ।

त्यस्तै भक्तपुर बचतले सर्लाहीको हरिवन वडा नं. ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको बिहिबार अध्ययन भ्रमण गरेको छ । अध्ययन भ्रमणको क्रममा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले आफ्नो संस्थाको बारेमा स्पष्ट पार्दै संस्थामा गर्भदेखि स्वर्गसम्मको सेवा सुविधा भएको बताए । जम्मा १ अर्ब ९० करोडको वासलात रहेको उक्त संस्थामा १४ हजार सदस्यको १५ करोड शेयरपूँजी रहेको स्पष्ट पार्दै उनले आफै मालिक, आफ्नै बचत, आफैलाई लगानी, आफैलाई प्रतिफल भन्ने नाराअनुसार कार्य भैरहेको बताए । संस्थाका सूचना अधिकारी निरोज कुमार दाहालले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुतीकरण गरेको थियो ।

भक्तपुर बचतले शुक्रबार मकवानपुरगढी वडा नं. ३ हेटौडामा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थामा अध्ययन भ्रमण गरेको छ । संस्थाका अध्यक्ष शत्रुधन दुलालले साहुको ब्याजबाट जनतालाई उन्मुक्ति दिलाउन संस्था स्थापना भएको बताउँदै उनले सुरुदेखि अहिलेसम्म पनि महिलाकै बाहुल्यताबाट सञ्चालनमा रहेको औंल्याए । संस्थाका व्यवस्थापक मेनुका दाहालले संस्थाको बारेमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा संस्थाले ल्याएका २० वटा नीति, १६ वटा कार्यविधि र ८ वटा निर्देशिकाबारे जानकारी दिएको थियो ।

भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले तीनवटै संस्थामा भक्तपुर बचतको बारेमा स्पष्ट पार्दै सिद्धान्तभन्दा बाहिर गएर कारोबार गर्ने संस्थाका लागि तरलता नै चुनौती भइरहेको बताए । उनले सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई सँगै लिएर अघि बढिरहेको बताए । समुदायमा केन्द्रित भई सुसंस्कृत समाजको निर्माणको लागि संस्था अघि बढिरहेको स्पष्ट पार्दै उनले भाखा नाघेका ऋणी बढ्नु, ऋण लगानीमा कमी आउनु र तरलता व्यवस्थापन गर्न कठिनाइ हुनु सहकारीको चुनौती भएको बताए ।

भक्तपुर बचतको समिति, उपसमिति र कर्मचारीहरुको २६ सदस्यीय टोलीले अध्ययन भ्रमणमा सहभागिता जनाएको उक्त कार्यक्रममा सहकारी सदस्यहरुलाई दिने सेवा सुविधा र प्राधिकरणहरुको पत्रबारे जिज्ञासा राखेको थियो । कार्यक्रममा दुवै पक्षका अध्यक्षहरुबाट मायाको चिनो साटासाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *