न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ कार्तिक
“साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”–राेहित

उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले सांस्कृतिक गुरु मोतीबहादुर खायमली, समाजसेवी एवं किसान अगुवा मोहनवीर कुस्मा, समाजसेवी एवं कर्तव्यपरायण पूर्वकर्मचारी टेकबहादुर पलिखेल र सामाजिक सेवामा सक्रिय महिला अगुवा कृष्णदेवी वाङाय्योलाई कदरपत्रसहित सम्मान गरेकाे छ ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले साहित्यको महत्वमाथि प्रकाश पार्दै भने, “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ ।”
पार्टीभित्र होस् वा परिवारैभित्र समाजमा जहाँ पनि सरसल्लाह गर्ने संस्कारलाई बढावा दिनुपर्ने सुझाव दिँदै उहाँले सल्लाहले गल्ती कम हुने पनि उनले एक अर्को प्रसङ्गमा बताए। अध्यक्ष बिजुक्छेँले भने, “सल्लाह नगरी घर परिवारलाई थाहा नदिई सहकारीमा रकम राख्दा धेरै जना फस्नुको कारण त्यही हो ।”
वर्तमान देशको अवस्थाबारे बोल्दै उनले भने, “यो सरकार अमेरिका र इजरायलको दलाल सरकार हो । यहाँ पनि कुनै पनि बेला उनीहरूले युद्ध थोप्न सक्छन् त्यसैले युद्धबाट बच्ने कला र सीप क्षमता अहिलेदेखि नै सिकिराख्नुपर्छ ।”
आफूलाई पढेलेखेको ठान्नेहरूमै पनि अमेरिकी दास मानसिकता देखेको चर्चा गर्दै विगतदेखिका शासक दलको त्यही मानसिकता देश बर्बादीको अवस्थामा पुगेको पनि उनले स्पष्ट पारे ।
अरू देशको प्राकृतिक स्रोत कब्जा गर्न जे पनि गर्ने साम्राज्यवादी महाशक्तिको विरुद्ध हामी जस्ता देशले नबोले भोलि हामीलाई पर्दा हाम्रो पक्षमा कसले बोलिदेल्लान् भन्दै उनले अन्यायको विरुद्ध बोल्न डराउन नहुने बताए ।
जागिरबाट अवकाशप्राप्त जनशक्तिले समयको सदुपयोग गरी विभिन्न सिप सिक्न सुझाव दिँदै उनले अवकाशप्राप्त अमेरिकी सेनाले चिनियाँ भाषा सिकेर देशको सेवा गरेको उदाहरण दिए ।
विगतमा विदेशीले चीनमा उद्योग खोल्दा ‘कुकुर र चिनियाँ पस्न निषेध’ को सूचना टाँसिन्थ्यो तर चिनिया इन्जिनियरहरू सफाइ मजदुर बनेर ती उद्योगमा पसेर विदेशीको प्रविधि सिक्थे भन्दै उनले आफ्नो देश र जनताको सेवामा समर्पित भएरै चीन आजको अवस्था पुगेको हुँदा ती चिनियाँहरूबाट सिक्नुपर्ने बताए ।
त्यसो त नेपालीहरू पनि कतिपय प्राविधिक कुरामा निपुण रहेको आफूले देखेभोगेको उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले शिक्षालाई उत्पादन श्रमसित जोड्नकै लागि हामीले विश्वविद्यालय मागिरहेको विचार व्यक्त गरे ।
बैङ्किङ र व्यापारिक शिक्षामात्र नभई युवा–विद्यार्थीहरू युद्ध कलाका सिपहरू पनि सिकाउनुपर्ने बताउँदै उनले स्वार्थी शिक्षकले सन्तानहरू विदेश पठाउँदा आपत पर्दा पनि ती सन्तान नफर्केको उदाहरण दिँदै सन्तानलाई आफ्नो देशको सेवामा समर्पित हुन सिकाउनुपर्नेमा जोड दिए ।
गत निर्वाचनमा गलत पार्टी र उम्मेदवारलाई जनताले मत हाल्दा देश झन्–झन् ऋण डुब्दै जाने अवस्थामा पुगेको चर्चा गर्दै उनले अहिले सरकारले विदेशसँग ठुलो मात्रामा ऋण लिने तयारी गरिरहेको ऋणले देश नउत्रिने कुरा प्रस्ट पारे ।
अध्यक्ष बिजुक्छेँले भने, “अरू देशमा वर्षको एक बाली लाग्छ जबकि हाम्रो देशमा वर्षको तीन बालीसम्म लाग्छ यद्यपि देश किन गरिब भयो भन्ने प्रश्न गर्दै सबै कुरामा विदेशको भर पर्दा विगतमा निर्यात गर्दै आएको देश अहिले आयातमा परिणाम भएको छ ।”
नेमकिपाका सचिव प्रेम सुवालले हालै सार्वजनिक भएको एक तथ्याङ्कमा ७० प्रतिशत नेपालीले देश गलत बाटोमा गइरहेको बताएको हुँदा वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको पुष्टि भएकाे बताए।

देशमा पछिल्ला केही महिनामा महँगी तेब्बर वृद्धि भएकाले जनआक्रोश बढिरहेको चर्चा गर्दे उनले यस्तै कारणले अहिले युरोपका अधिकांश देशमा व्यापक विरोध प्रदर्शन भइरहेको बताए ।
माओका हरेक विचार माओवादी साहित्य नभएको बताउँदै उनले माओ आफैले आफ्नो विचारमात्र हो कुनै वाद होइन भनेर प्रस्ट पारेको हुँदा ‘माओवादी’ शब्दलाई अस्वीकार गरेकाे बताए ।
नेमकिपाले किसान आन्दोलन गरी किसानको मोहियानी हक रक्षा गरेको उल्लेख गर्दै २०३९ सालमा नै भक्तपुर नगरपालिकामा चुनाव जित्दा निमावि तह निःशुल्क गरेको उनले बताए ।
‘एक घर एक स्नातक’ को शैक्षिक अभियानको परिणाम अहिले घर घरमा स्नातकोत्तर शैक्षिक जनशक्ति हुन थालेको उदाहरण दिँदै उनले संसद्बाट लगानी बोर्ड विधेयक पारित गर्नाको परिणाम अहिले देश भारतीय एकाधिकार पुँजीको पोल्टामा पर्दै गएको सचिव सुवालले बताए । उनले भने, “लगानी बोर्ड देशघाती भनेर नेमकिपाले संसदमा निरन्तर विरोध गरेको थियो ।”
संविधानमा ‘समाजवादउन्मुख’ शब्द भए पनि कुनै पनि सरकारले समाजवादउन्मुख ऐन नबनाएकोमा आक्रोश व्यक्त गर्दै उनले सरकारले एमसीसी पारित गर्दा देश भारतीय उपनिवेश जस्तो बन्न पुगेको बताए ।
प्रधानमन्त्रीले नै संसदमा नेपालले भारतीय भूमि मिचेको देशघाती अभिव्यक्ति दिएको र अर्थमन्त्रीले दक्षिण एसियामा मोदी डक्ट्रिन स्वीकार्नुपर्ने अभिव्यक्ति दिएको हुँदा यो सरकार भारतीय दलाल भएको सचिव सुवालले बताए ।
विगतमा काङ्ग्रेस एमाले माओवादी सरकारहरूको अकर्मण्यताकै परिणामस्वरूप भदौ २३–२४ को घटना भएको बताउँदै उनले त्यसबेलाका प्रम ओली सेनालाई राजीनामा दिएर भाग्न नहुने बताए ।

संरा अमेरिका संसारभर युद्ध मच्चाउँदै हिँडेको चर्चा गर्दै सचिव सुवालले युद्धमा हुने लगानी बन्द गरी मानव हितमा खर्चिनुपर्ने धारणा राखे ।
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख बज्रमुनि बज्राचार्यले मानविकी शास्त्रअन्तर्गतको नेपालभाषा केन्द्रीय विभागले नेपालभाषाको स्नातकोत्तर तहसम्म अध्ययन गराइरहेको उल्लेख गर्दै यहाँ भाषामात्र होइन नेवार समुदायको संस्कृति र संस्कारबारे पनि अध्ययन गराइने बताए ।
नेवाः विश्वविद्यालयको माग भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले भने, “नेवाः एउटा जात होइन राष्ट्र हो । भाषा र संस्कृतिको जगेर्ना गर्न जनता आवश्यक हुन्छ । अर्थतन्त्रले भाषा संस्कृतिमा प्रभाव पार्छ । २०२८ को राष्ट्रिय शिक्षा पद्धतिको योजनामा नेपालभाषालाई ऐच्छिक विषयमा राख्दा भाषाको विकास र विस्तार हुन सकेन ।
भाषा जानेन भने संस्कृति पनि हराउँदै जाने उल्लेख गर्दै उनले वाग्मती प्रदेशमा तामाङ र नेपालभाषालाई कामकाजको भाषा सरकारी सेवा प्रदेशमा नेपालभाषा र तामाङ भाषाबाट परीक्षा किन नलिने भनी प्रश्न उठिरहेको प्रसङ्ग उल्लेख गरे ।
डा. रवीन्द्र प्रधानाङ्गले कान पाकेमा सङ्क्रमणबाट बच्न अप्रेसन गर्नुपर्ने विचार व्यक्त गर्दै शिशुले नसुनेमा पछि लाटो हुने हुँदा सानो उमेरमै शिशुले सुनेको छ कि छैन परीक्षण गर्नुपर्ने विचार व्यक्त गरे । उनले सरकारी अनुदान सरकारी अस्पतालमा मात्र पाइने हुँदा टिचिङ हस्पिटलमा सेवा लिनु राम्रो हुने विचार व्यक्त गरे ।
गीतकार नारायण आचार्यले ‘जिन्दगी तिमीलाई कहाँ कहाँ खोजौँ’ शीर्षकको कविता वाचन गर्दै आफू २०५६ सालमा भक्तपुरमा एस.पी. हुँदा भएको गतिविधिकाे चर्चा गरे ।
हाल भक्तपुर नगरपालिकाले फोहोर सङ्कलनको रूपमा गाइरहेको गीत उनले नै रचेको हो ।
पुराना तथा नयाँ दर्जनौँ साहित्यकारहरूले कथा, कविता वाचन गरेको सो साहित्यिक सम्मेलनमा मानवशास्त्री सुरेश ढकालले लोकतान्त्रिक शक्तिले इमानदारीपूर्वक नेतृत्व गरेको स्थानीय तह समृद्ध र सफल हुने विश्वास व्यक्त गर्दै भक्तपुरमा परिवर्तन हुनुमा नगरपालिकाको अग्रसरता र पृष्ठभागमा असल राजनीति गर्ने नेमकिपाको सिद्धान्त र विचार रहेको बताए ।

स्थानीय तहलाई बढीभन्दा बढी जनताको सेवा र हितमा उपयोग गर्ने उद्देश्यले राजनीति गरेको प्रस्ट पार्दै उनले मोहियानी हक सुरक्षित गर्ने भक्तपुरको मोडेल देशभर अँगालेको भए अधिकांश किसानको जग्गामा स्वामित्व हुने बताए ।
कुनै नेता, सांसद र प्रमुख हुँदैमा जनताको पत्यारिलो र विश्वासिलो नहुने उल्लेख गर्दै उनले मुख्य पद होइन जनतासँगको सम्बन्ध हो† जनताको सेवामा लागेर विश्वास प्राप्त गर्नु बताए ।
सबै अवसरलाई जनताको लागि उपयोग गरेकै कारण हालको भक्तपुर अरूको लागि अनुकरणीय र उदाहरणीय भएको चर्चा गर्दै उनले भक्तपुर गर्नलायक र हेर्नलायक भएको हो; भक्तपुरलाई चिन्न बाहिरबाट पनि हेर्नुपर्ने बताए ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले विश्व सम्पदा सूचीमा परेको भक्तपुरको दरबार क्षेत्रमा रहेको पचपन्न झयालको भित्तामा रहेको विश्वरूपको भित्तेचित्र एसियाकै मोनालिसा भएको विचार व्यक्त गरे।

भक्तपुरलाई संसारमा चिनाउने व्यक्तिहरूको स्मरण गर्दै उनले यहाँका अमूल्य कला र कृति मानव सभ्यताकै अतुलनीय र उत्कृष्ट भएको बताए । कला र संस्कृतिमार्फत विश्वलाई चिनाउने काम गरेको सन्दर्भलाई स्मरण गर्न र जीवन्तता दिन सम्पदा दिवस मनाउनुपर्ने आवश्यकताबारे उनले स्पष्ट पारे ।
बौद्धिक विद्वान एवं लेखक रत्नसुन्दर शाक्यले विदेशमा बुद्धको जन्मस्थल लुम्बिनीबाट नेपालीलाई चिनेको प्रसङ्ग उल्लेख गर्दै भक्तपुरका प्राचीन बहा र विहारको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पारे ।
राहुल सांकृत्यायनले मार्क्स, लेनिन, स्तालिन र माओ त्सेतुङको जीवनी लेखेको प्रसङ्ग उल्लेख गर्दै उनले हाम्रो साहित्य र राजनीति बहुजनको हित र बहुजनको सुखको निम्ति हुनुपर्ने बताए ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले अपरिपक्व बच्चाहरूको सरकारलाई देश र जनताको हितमा के गर्नुपर्छ र पर्दैन थाहा हुँदैन । अरूको कुरा पनि टेरपुच्छर गर्दैन, आफूले पनि ढङ्ग पुर्याएर काम नगर्ने बताए।
सिद्धान्त र विचारले नभिजेका गलत मान्छेलाई निर्वाचित गरे उनीहरूलाई तरबार मात्र हस्तान्तरण होइन यसले आफ्नै गर्धन काट्न बेर लाग्दैन भनी धारणा राखे ।
उनले भने, “यो गरिब जनताको सरकार होइन† बहुमत जनताको हित गर्ने सरकार होइन ।”
नेपालले पनि भूमि मिचेको छ भन्ने प्रमको अभिव्यक्ति राष्ट्रघाती भएको स्पष्ट पार्दै उनले सरकारको कार्यशैली हेर्दा देश रहन्छ कि रहँदैन भन्ने चिन्ता नेपाली जनतामा छाएको बताए ।

लेखक विमल भौकाजीले देशको पहिलो पत्रिका ‘शारदा’ मा काम गरिरहेको उल्लेख गर्दै सम्मेलनमा नेवारबाहेक अरू जनजाति र भाषाभाषीलाई पनि स्थान दिनु साहित्य सम्मेलनको महत्वपूर्ण पाटो रहेको बताए ।
अर्का लेखक सूर्यप्रसाद लाकोजुले कला, साहित्य र संस्कृतिको यो साहित्य सम्मेलनको महोत्सव अनुशासित र व्यवस्थित भएको उल्लेख गरे । समानता र स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सांस्कृतिक सहर भक्तपुरले देशका अन्य स्थानीय तहलाई मार्गनिर्देश गर्ने काम मात्र होइन नेपाललाई चिनाउने काम गरेको बताए।
‘न्हुजः वापौ’ का सम्पादक महन्त महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद प्रधानाङ्ग, खोटाङका राजु लायल, नास्टका रसायनशास्त्री कान्ती श्रेष्ठ, साहित्यिक दम्पत्ती नरेन्द्र प्रसाईं र इन्दिरा प्रसाईंले पनि बोलेको थियो ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या पांगाबाट प्रगतिशील गीत प्रस्तुत गरेको थियो । कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले स्वागत मन्तव्य, कोषाध्यक्ष कृष्णगोविन्द लाखाजूले आय–व्यय विवरण प्रस्तुत गरेकाे थियाे भने समितिका सचिव पुरुषोत्तम ग्वाछाले धन्यवाद ज्ञापन गरेकाे थियाे ।
कार्यक्रममा कवितामा प्रथम सकुन्तला महर्जन, द्वितीय हरिसुन्दर पोतामहाँ, तृतीय शिल्भिया प्रजापति र सान्त्वना ओमकृष्ण श्रेष्ठ रहेका छन् भने कथातर्फ प्रथम कमलकेशरी थुयाजु, द्वितीय सूर्यनारायण फाँजु, तृतीय श्रीया पहिजु र सान्त्वना एल.के. सुन्दर भएका छन् ।
स्वागत गान रवि हाडा, लक्ष्मण पलिखेल, निरुता गोरा र दीपिका कुसीलगायतले गाएको थियो ।

दुवै दिन बेलुका सांस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत नृत्य, स्वागत गान र विभिन्न संघ संस्थाबाट नृत्य, ख्याल, एकांकीहरू प्रस्तुत गरिएको थियो ।
साहित्य सम्मेलनको पहिलो दिनको सभापतित्व डेन्टल सर्जिकल कंसाकारले गरेको थियो ।
सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु मोतीबहादुर खायमलीले गरेको थियो ।
विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको सो सम्मेलनमा आयोजक समितिका अध्यक्ष उकेश कवांले स्वागत र नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबजारले साहित्य सम्मेलनको आवश्यकताबारे चर्चा गर्दै कवि, कथाकारहरूले जनसाहित्य लेख्नुपर्नेमा जोड दिए ।
