प्रधानमन्त्री राहत कोषमा भक्तपुर बचतकाे ५ लाख एक हजार सहयाेग, २९औं साधारणसभा असोज १७ गते ब्रम्हायणीमा

Featured अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० भदौ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारणसभा यहि असोज १७ गते शनिवार ब्रम्हायणी पीठमा हुने भएको छ । उक्त कुरा साधारणसभाको तयारी स्वरुप समिति, उपसमितिहरुलाई जानकारी दिन आयोजित भेला कार्यक्रममा बताइएको हो ।
उक्त भेलामा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विगतमा जस्तै मितव्ययी र व्यवस्थित रुपमा साधारणसभा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले संस्थाले आर्थिक सँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न उपसमितिहरुबाट सिफारिस भइआएका ३० वटा कार्यक्रम रहेकोमा सम्बन्धित समिति उपसमितिबाट जिम्मेवारी पूरा गर्नुपर्ने औंल्याए । उनले दीर्घकालीन सोच अनुसार संस्थाले जोखिम व्यवस्थापन गर्न खोज्दा राजस्वमा थप गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै नाफा आर्जन भए अनुसार नियमानुसार दिन मिल्ने अधिकतम लाभांश वितरण गर्नसक्ने जानकारी दिए । साथै यस वर्ष भदौ १० गते रसुवा, नुवाकोटमा आएको विनाशकारी बाढी पहिरोबाट पीडितहरुका लागि संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरु तथा संस्थाका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५ लाख एक हजार रुपैयाँ जम्मा गर्ने निर्णय अनुसार जम्मा भएकाे बताए ।


कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले विगतमा जस्तै साधारणसभालाई झकिझकाउ गर्न नमिल्ने भएकाले व्यवस्थित रुपमा सदस्यहरुबीच मात्र गर्ने जानकारी दिँदै उनले संस्थाको संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनको वार्षिक क्रियाकलापबारे जानकारी दिँदै आयव्ययबारे स्पष्ट पारे ।
सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक सत्य नारायण साँयजूले संस्थाको हालसम्मको आर्थिक स्थितिबारे स्पष्ट पारे । उनले एनएफआरएसको प्रणाली अनुसार भाखा नाघेका ऋणको जोखिम व्यवस्थापन गर्नुपर्ने भएकाले नाफामा कमी भएको बताए । साथै साधारणसभाकाे उपस्थिति जनाउन असाेज १६ गते संस्थामै र असाेज १७ गते साधारणसभास्थल ब्रम्हायणी पीठमा रहने संस्थाले जानकारी दिएकाे छ ।
साधारणसभालाई व्यवस्थित रुपमा सञ्चालन गर्न यस वर्ष भदौ १७ देखि असोज १७ सम्मको कार्यतालिका र विभिन्न समिति, उपसमितिहरुको जिम्मेवारी बाँडफाँट गरेको अध्यक्ष प्रजापतिले बताए । उनले २९औं वार्षिक साधारणसभा तयारी गर्नका लागि ९ वटा उपसमिति बनाइएको जानकारी दिए । जसमा शिक्षा उपसमिति र सांस्कृतिक उपसमितिलाई मञ्च तथा प्राविधिक व्यवस्थापन उपसमितिको जिम्मा दिएको छ । त्यस्तै वित्त व्यवस्थापन उपसमितिलाई खर्च व्यवस्थापन उपसमितिको जिम्मा, युवा उपसमिति र कृषि उपसमितिलाई खाजा तथा सफाई व्यवस्थापन उपसमितिको जिम्मा, व्यवसाय प्रवद्र्धन र सूचना तथा प्रकाशन उपसमितिलाई प्रचार प्रसार व्यवस्थापन उपसमितिको जिम्मा, महिला उपसमिति र स्वास्थ्य उपसमितिलाई स्वागत तथा अतिथि सत्कार उपसमितिको जिम्मा, ज्येष्ट सदस्य र खेलकुद उपसमितिलाई स्वयम्सेवक व्यवस्थापन उपसमितिको जिम्मा, कार्यालय व्यवस्थापन उपसमितिलाई कार्यक्रम तयारी उपसमितिको जिम्मा, सचिव जगनाथ प्रजापतिको संयोजकत्वमा प्रगति प्रतिवेदन तयारी उपसमिति र उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीको संयोजकत्वमा बुलेटिन प्रकाशन उपसमितिको जिम्मेवारी दिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *