न्यूज अपडेट संवाददाता
भक्तपुर, १६ साउन

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ४ अर्ब ४० करोड २५ लाख रुपैयाको अपरिस्कृत वासलातसहित वार्षिक समीक्षा शनिवार चरेली रिसोर्ट, नगरकोटमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले कार्यक्रमको उद्घाटन गर्दै संस्थामा आउने समस्या र चुनौतीहरुको सबै पदाधिकारीहरु मिलेर चिन्तन मनन गर्नुपर्ने बताए । उनले लोक भाकामा सहकारी गीत, कविता सुनाउँदै विभिन्न प्रविधि र माध्यमबाट सबै सदस्यहरुको राय सुझाव संकलन गर्नुपर्ने बताए । उनले आर्थिक गन्तव्यमा पुग्ने जहाजका चालक संस्थाका पदाधिकारीहरु भएकाले संस्थाको कारोबार र गतिविधिमा निकै ध्यान दिनुपर्ने औंल्याए । संस्थाका लागि बनेका नीति नियम सधै एउटै परिस्थिति नहुने भएकाले राम्रो सहकारी निर्माणका लागि सबै जुट्नुपर्ने औंल्याए ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले प्रतिवेदनहरुको समीक्षा गर्दै समुदायमा आधारित सहकारीका सामुदायिक कार्यक्रमहरुको छुट्टै शीर्षक हुनुपर्ने, महत्वपूर्ण आगन्तुकहरुको सहभागी जनाउनुपर्ने, उद्यमशीलता, नवप्रवद्र्धन र अनुसन्धानात्मक कार्यमा संस्थाको ध्यान जानुपर्ने बताए ।
त्यस्तै सल्लाहकार विष्णुगोपाल कुसीले वर्षभरिको समीक्षा गर्ने भएकाले यस कार्यक्रमको महत्व रहेको औंल्याए । संस्थाले समीक्षा र आत्मसमीक्षा गरिरहनुपर्नेमा जोड दिँदै संस्थाले नमुना कार्यको रुपमा आदर निकेतन सञ्चालन गरे जस्तै नै विगतका वर्षहरुबाटै जोड दिँदै आएको सहकारी पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । हरेक घटना सानैबाट सुरु हुने भएकोले जातीय र धार्मिक द्धन्दले निम्त्याइएको सुनसरीको घटनाले देशको स्थितिलाई नराम्रोतर्फ लगेको उनले स्पष्ट पारे ।
सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्था स्थापनाको अवस्थालाई स्मरण गर्दै अहिलेको अवस्थामा ल्याउन निकै कसरत गर्नुपरेको बताए । उनले केही नराम्रो सहकारीको कारण यस संस्थाको गतिमा ह्रास ल्याएको बताए ।
कार्यक्रममा संस्थाका सचिव जगनाथ प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यस्तै कोषाध्यक्ष राम प्रसाद प्रजापतिले आर्थिक तथा वित्तीय प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य प्रेम प्रजापतिले लेखा सुपरिवेक्षण समितिको तर्फबाट समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सभापतित्व ग्रहण गर्दै प्राप्त राय सुझावहरुको विषयमा स्पष्ट पारेको थियो । उनले राष्ट्रिय सहकारी प्राधिकरणबाट भएको अनुगमनका क्रममा दिएका कैफियतहरुको चाँदै नै नियमित गर्ने बताए । साथै संस्थालाई बहुआयामिक रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै संस्था ठूलोभन्दा पनि राम्रो बनाउन निरन्तर लागेको बताए ।
संस्थाका ब्यवस्थापक सत्यनारायण साँयजूले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसी, सहसचिव तारादेवी धन्छालगायतले समीक्षा गरेको थियो ।
