आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ५५ करोड

अर्थ/वाणिज्य विशेष समाचार समाचार
शैक्षिक ऋणकाे सीमा अधिकतम रू.७ लाख र ब्याजदर वार्षिक ४ प्रतिशत
न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ असार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८३, विनियोजन विधेयकसहित आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको  २ अर्ब ५५ करोड रूपैयाँ बजेट सर्वसम्मतिले पारित गरेकाे छ ।
उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरेकाे थियो ।
सभामार्फत नगर प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि भएको छलफलमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव, जिज्ञासा तथा समर्थनमार्फत महत्वपूर्ण सहयोग पुर्‍याएका सम्पूर्ण सभासद्हरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।
बजेटमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आदर निकेतन न्यून शुल्कमा सञ्चालन गर्ने तयारी गरेको बताए। उनले राजश्व संकलनलाई थप प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने, जनताबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै बजेट तर्जुमा गरिएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान क्रमशः घट्दै गइरहेको उल्लेख गरे। साथै, नागरिकलाई करसम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अपांता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण कार्यक्रमअन्तर्गत झुल वितरण गरिएको जानकारी सभासमक्ष गराए।
साेमबारको सभामा भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को खरिद योजना, न्यायिक समितिको प्रतिवेदन र बेरुजु फछ्र्योट सम्बन्धी प्रस्ताव पेश गरिएको थियो ।
सोही सभाबाट ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५’ मा तेस्रो संशोधन विधेयक २०८३ पारित भएकाे थियाे।
“भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ (तेस्रो संशोधन विधेयक, २०८३)“ अनुसार भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई दिइने शैक्षिक ऋणको सीमा रु. ५ लाखबाट बढाएर रु. ७ लाख पुर्‍याउने र शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *