भक्तपुर मालपोत र ख्वप अस्पतालमा सर्भर डाउन, सेवाग्राही रुस्त

Featured फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, २९ मंसिर


भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सर्भर डाउन हुँदा सेवाग्राही रुस्त भएका छन् ।
महिनौदेखि मालपोत कार्यालय भक्तपुरमा नियमित सर्भर डाउन हुँदा दिनभरको पर्खाइबाट पनि कार्य सम्पादनमा सहजता ल्याउन नसकेको हो । त्यस्तै भक्तपुर च्याम्हासिंहस्थित ख्वप अस्पतालमा पनि नियमित जसो सेवाग्राही लाइनमै बसेर टिकट काट्न बसेपनि विहानभर सर्भर डाउन हुँदा सेवाग्राहीले उपचार गराउन सकेका थिएनन् ।

भक्तपुर मालपोत कार्यालयमा सर्भर डाउनका कारण कार्यालयकै कम्प्युटर कर्मचारीहरु बिच बिचमा उठेर बाहिर बस्न बाध्य भएका छन् । उनीहरुले सर्भरमा आएको खरावीका कारण सेवाग्राहीलाई छिटो छरिटो रुपमा कार्य सम्पादन गर्न नसकेको दुखेसो व्यक्त गर्छन् । कतिपय सेवाग्राहीले मालपोत कार्यालयमा भएको काममा भएका ढिलाइका कारण रिसाएर गाली समेत गर्न भ्याएका छन् । सेवाग्राहीले कहिले हुन्छ त ? भन्ने प्रश्नको जवाफ दिँदै कर्मचारीले भने ‘विभागमा भनिसकेका छौं, हेरिरहेको र विस्तारै हुन्छ’ भनेका छन् । प्रत्येक दिन विहान र साँझ केही कार्यालय बन्द हुनु केही समय अघि राम्रोसँग चल्ने र अन्य समयमा ढिलाइ नै भएको कर्मचारीहरु बताउँछन् । यस्तै भएर जेन जी आन्दोलन हुनुपरेको सेवाग्राही बताउँछन् ।

त्यस्तै ख्वप अस्पतालमा सर्भर डाउनका कारण रुस्त भएका सेवाग्राहीले जोडबल गरेपछि हातैले टिकट काटेर कार्य सुचारु गरेका छन् । सर्भर डाउन भएका कारण बिमाबाट टिकट काट्नुपर्ने सेवाग्राहीका लागि भने धेरै अप्ठेरो भएको अस्पताल स्रोतले बताउँछन् । लामो समयावधिसम्म सर्भर डाउन हुँदा तुरुन्तै उपचार गर्नुपर्ने सेवाग्राही मर्कामा परेको सेवाग्राहीहरु बताउँछन् ।

सेवाग्राहीलाई छिटो र छरिटो रुपमा सेवा दिन राखेका कम्प्युटर सफ्टवेयर प्रणालीले नै धोका दिएपछि भने सेवाग्राहीहरुले नियमित रुपमा त्यसबाट सुरक्षित र व्यवस्थित गर्ने कार्य प्रणाली राख्नुपर्नेमा जोड दिए । साथै नियमित रुपमा सर्भरको अध्यावधिक गर्नुपर्ने उनीहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *