जाडो महिनामा नशा तथा बाथका बिरामीले पालना गर्नुपर्ने नियम

विशेष समाचार समाचार स्वास्थ्य
डा जयप्रकाश कापरी
जाडो महिनाको सुरुवात भएसँगै नशा तथा बाथका बिरामीलाई हाडजोर्नीको दुखाइ बढ्न थाल्छ। यस्ता बिरामीलाई जाडो महिनामा जोर्नी सुन्निने, दुख्ने, हातखुट्टा चलाउन गाह्रो हुने, रातो हुने र पछि हातखुट्टा बाँगो हुने समस्या पनि देखिन सक्छ।
नशामा समस्या भएका बिरामीलाई जिउ झमझम गर्ने, पोल्ने, दुख्ने, राति सुत्दा शरीर दुख्ने, उठ्न–बस्न गाह्रो हुने गर्छ। जाडोको समयमा नशा तथा बाथका समस्या भएका बिरामीले निम्नानुसार नियम पालना गरे स्वास्थ्यमा राहत मिल्छः

१. व्यायाम 
जाडोमा हिँडडुल कम हुने भएकाले शरीरका मांसपेसीमा रगत सञ्चालन कम हुन्छ।  जसले गर्दा खानाको पोषण मांसपेसी, हड्डी, टिसुमा राम्ररी जान पाउँदैन र शरीरमा बोसो जम्न थाल्छ। बिरामीको तौल बढ्दै जाँदा मेरुदण्डलाई पनि भार पर्न जान्छ र दुखाइको समस्या बढ्न थाल्छ। बाहिरी वातावरण चिसो भए पनि बिरामीले घर भित्रै बसेर भए पनि दैनिक व्यायाम गर्नुपर्छ। बिरामीले दैनिक रुपमा घर भित्र संगीत बजाएर व्यायाम र मनोरञ्जन एकै साथ गर्दा पनि हुन्छ।

२. फिजियोथेरापी 

बाथ तथा नशाका बिरामीलाई फिजियोथेरापीबाट धेरै लाभ मिल्छ। थेरापीबाट नशा च्यापिएको, सुन्निएको, हड्डी बाँगिएको, मांसपेसी कमजोर भएको, दुखाइका समस्या, मांसपेसी कडा हुने जस्ता समस्यालाई धेरै हदसम्म निको पार्न सकिन्छ।

इलेक्ट्रोनिक थेरापी, म्यानुएल टेक्निक, समस्या विशेष एक्सरसाइजहरुको मद्दतबाट बिरामी समस्यामा धेरै नै राहत हुन्छ। बजारमा धरै ठाउँमा फिजियोथेरापी सेन्टरहरु सञ्चालनमा आएको पाइन्छ। तर आफूले राम्ररी बुझेर जान्ने फिजियोथेरापिष्टसँग उपचार गर्दा समस्याबाट छिट्टै छुटकारा पाइन्छ।

३. घाममा बस्ने 
शरीरको मांसपेसीलाई लचिलो बनाउन भिटामिन डीको प्रमुख भूमिका हुन्छ। एसियाली देशका मानिसहरुमा भिटामिनको मात्रा कम पाइने गरेको छ। नशा तथा बाथको समस्या भएका धरै बिरामीलाई भिटामिन डी कमी हुने गरेको पाइन्छ।

बिहान-बेलुका गरी दैनिक दुई घण्टा घाममा बसेमा भरपुर मात्रामा भिटामिन डी पाइन्छ। यस बाहेक चिकित्सकको सल्लाह बमोजिम पनि भिटामिन डीको औषधि खान सकिन्छ।

 ४. हिट थेरापी
बाथ तथा नशाका बिरामीलाई जाडोमा अन्य समयभन्दा बढी कठिनाइ हुन्छ। यस्तो बेलामा शरीरको दुखाइ कम गर्न हिट थेरापी अर्को राम्रो उपाय हुनसक्छ। शरीर, जोर्नी तथा मांसपेसीको दुखाइ कम गर्न मनतातो पानीमा हल्का नुन राखेर दुखेको भागमा सेकेमा आराम मिल्छ। घरमा तातो व्याग उपलब्ध छ भने पनि सेक्न सकिन्छ। यस बाहेक बजारबाट किनेर शरीरमा न्यानो बनाइराख्न बिजुलीबाट चल्ने विभिन्न प्रकारका तातो बनाउने हिट प्याडहरु प्रयोग गर्न सकिन्छ।

५. तेलले मसाज गर्ने 
चिसोले गर्दा नशा तथा बाथका बिरामीहरुको जोर्नी सुन्निने, दुख्ने, हातखुटा चलाउन गाह्रो भएको हुन्छ। बजारमा दुखाइ कम गर्ने विभिन्न प्रकारका तेलहरु उपलब्ध छन्। यस बाहेक घरमै तोरीको तेललाई तातो बनाएर दुखेको ठाउँमा लगाउँदा आराम हुन्छ। जाडो महिनामा छाला बढी सुख्खा हुने भएकाले तेलको मालिस गर्नुपर्छ। मालिस गर्नाले शरीरमा रगत सञ्चार हुन सजिलो हुन्छ। दुखाइ भएको ठाउँमा बिहान-बेलुका हल्का तेलले मसाज गरे आराम मिल्छ।

६. औषधि
हाड जोर्नी दुख्ने समस्या बढिरहेको बेलामा कतिपय बिरामीले दुखाइ कम गराउन पसलमा गएर आफैं औषधि किनेर खाएको पनि पाइन्छ। समस्याको पहिचान नगरी यसरी मनपरी औषधि किनेर सेवन गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। नियमित रुपमा औषधि सेवन गरिरहनुभएका बिरामीले चिकित्सकको सल्लाह बिना औषधि थपघट गर्नु हुँदैन।

७. पानी
एक स्वस्थ व्यक्तिले दैनिक ३ देखि ४ लिटरसम्म पानी पिउनुपर्छ। जाडोमा मनतातो पानीमा कागतीका केही थोपा राखेर पिउनाले शरीरको बोसो पनि घटाउन सहयोग गर्छ। बाथ तथा नशाका बिरामीले पानी पर्याप्त मात्रामा पिउन जरुरी छ।

८. खानपिन
जाडो याममा अदुवा, लसुनले शरीरलाई तातो बनाउन मद्दत गर्छ। साथै यसमा औषधीय गुण पनि हुनाले दुखाइ, सुन्निएको घटाउन सहयोग पुग्छ। यसका साथै बिरामीले जाडो महिनामा पाइने मौसमी फलफूल, सुन्तला, ब्रोकाउली, कागती जस्ता खानेकुरालाई सन्तुलित रुपमा खानु लाभदायक हुन्छ।

(डा कापरी फिजियोथेरापिष्ट एण्ड कायरो प्राक्टिसनर हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *