भक्तपुर बचतको २७ औं वार्षिक साधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ असोज

  

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा शनिवार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् राजनीतिज्ञ नारायणमान विजुक्छेँ(रोहित)ले कार्यक्रमको उद्घाटन गर्दै अधिकांश सहकारी ध्वस्त हुनुमा सरकार दोषी रहेको औंल्याए । सहकारी संस्थालाई सरकारले व्यापारिक संस्था बनाउन खोजेको बताउँदै उनले सहकारीहरुले सामाजिक दायित्व बहन गर्नुपर्ने बताए । भक्तपुर आदर निकेतन सञ्चालन हुनु राम्रो पक्ष भएको बताउँदै उनले ज्येष्ठ नागरिकलाई ससम्मान व्यवस्थित रुपमा स्याहार गर्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाहरुले कृषि र माछापालनजस्ता कार्यमा प्रोत्साहन गरी आत्मनिर्भर बनाउनुपर्ने बताए । सहकारी संस्थालाई पहिल्यैदेखि राष्ट्र बैंकको निगरानीमा राखेको भए सहकारीमा त्यति ठूलो क्षति नहुने उनको तर्क छ ।

व्यावसायिक सहकारीहरुले जनताको बचत कुम्ल्याएको बताउँदै उनले ठूला राजनीतिक दलको संरक्षणले सहकारीका अपराधीहरुलाई प्रोत्साहन मिलेको बताए । उनले भक्तपुरका सामुदायिक सहकारीहरुबाट अन्य जिल्लाका सहकारीले सिक्न लालायित भएको बताए । नाचगान र कला संस्कृति हाम्रो सम्पत्ति भएको बताउँदै यसको संरक्षण निरन्तर हुनुपर्ने उनको जोड छ । यसमा सहकारी संस्था र नगरपालिका लागिरहेको उनले बताए । सरकारले बहुसंख्यक जनताको हितमा कुनै नीति नबनाउने भएकोले उनले यो सरकारलाई अन्धो सरकारको संज्ञा दिए ।

वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले सुख दुःखका साथी सहकारी भएकोले आफ्नो पैसा सुरक्षित बनाउन सदस्यहरुले एकिन गर्नुपर्ने बताए । उनले जीवनयापन सजिलो बनाउन, आर्थिक एवम् सामाजिक रुपमा सहज बनाउन सहकारीको आवश्यकता हुने बताउँदै सहकारी संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिकलगायतका क्रियाकलापहरुलाई सामाजिक दायित्व र जिम्मेवारीको रुपमा कार्य गर्नुपर्ने बताए । प्यालेस्टाइन र इजरायलको युद्धले प्यालेस्टाइनलाई निकै क्षति गरेको बताउँदै उनले अन्यायमा परेको प्यालेस्टाइनी जनताको पक्षमा आवाज उठाउनुपर्ने बताए । अन्तरराष्ट्रिय रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीको विरोध भइरहेको बताउँदै उनले मानव अधिकारको हनन गर्नेबाटै मानव अधिकारको रक्षाको कुरा गरिरहेको बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले राजनीतिक पार्टीहरुको बेइमानी र संरक्षणले सहकारीको छवी बदनाम भएको बताए । सहकारीहरुको मातहतका निकायहरुले समस्या आएपछि मात्रै निर्देशन जारी गर्ने तर अनुगमन तथा निरीक्षण नहुँदा झन समस्यामा आएको उनले स्पष्ट पारे । उनले सहकारी अभियानलाई निरन्तर साथ र सहयोग दिनुपर्ने बताउँदै जिल्ला संघको सेवा सुविधाबारे जानकारी दिए ।
संस्थाका सल्लाहकार कृृष्णप्रसाद धन्छाले यस सहकारीमा नयाँ प्रविधि, सफ्टवेयर र मोबाइल बैंकिङ एप्स लागु भएकाले त्यसबाट कारोबार गर्दा हुने सुरक्षा खतरालाई विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारीमा छुट्टै अनुसन्धान विभागको स्थापना गर्नुपर्नेमा जोड दिँदै ख्वप कलेज, वागीश्वरी कलेज लगायतसँग समन्वय र सहकार्य गरी काम गरे सजिलो हुने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य मन्दरा मिश्रले सहकारीहरुमा आएको विकृतिले अन्य सहकारीलाई समेत अठ्यारोमा पारेको बताउँदै समुदायमा आधारित सहकारीहरुले जुनसुकै समस्याको सामना गरी अघि बढ्न जोड दिए ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत, सहसचिव तारादेवी धन्छाले धन्यवाद ज्ञापन गरेको थियो ।

उक्त साधारणसभामा प्रमुख अतिथि विजुक्छेँबाट युवाकवि दामोदर सुवाल र संस्कृतिकर्मी पंचलाल लाछिमस्युलाई नगद रु.२० हजार सहित प्रमाणपत्र, दोसला र मायाको चिनोे प्रदान गरी सम्मान गरेको थियो । सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न गीत संगीतको प्रस्तुति भएको थियो ।
दोस्रो चरणको बन्दसत्रबाट कोषाध्यक्ष रामप्रसाद प्रजापतिद्वारा प्रस्तुत आ.व.२०८०/०८१ को सञ्चालक समितिको प्रगति प्रतिवेदन र आयव्यय विवरण तथा आ.व. २०८१/०८२ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, वाह्य लेखा परीक्षक बि.आर.बि.एस.एण्ड एसोसिएट्सद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को बाह्य लेखा परीक्षण प्रतिवेदन, आ.व. २०८१/०८२ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको पुनर्लिखित विनियम २०८१, आ.व २०८०/०८१ का लागि १८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने लगायतका १२ वटा प्रस्ताव पारित गरेको संस्थाका सचिव जगनाथ प्रजापतिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *