भैरव रिसाल
भक्तपुर, १७ भदाै
समय जान कति नै बेर लाग्छ र ? तःमुंज्या यसपल्ट ४४ औँ हो । ४३ वटा तःमुंज्या सञ्चालन गरेर झन्डै आधा शताब्दी हासिल गरिसकेका छन् भक्तपुरका युवाहरूले । ४४ औँ तःमुंज्याको तयारी सुरू भइसकेको छ । यसको लागि ग्वसाखलः र स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, किसान, मजदुर र महिलाको भेला सम्पन्न भइसक्यो । तःमुंज्यामा प्रस्तुत हुने नाचगान, ख्याल, निबन्ध, कथा, कवितामा यसपालि इजरायलले प्यालेस्टिनमाथि गरेको दुव्र्यवहार मात्र होइन नरसंहार, सहकारीमा भएको ठगी, विदेशी शक्ति राष्ट्रको दबाब र चलखेल, सरसफाइदेखि शैक्षिक आन्दोलन आदि विषय समेटी बढी सार्थक र उपादेय हुने थियो । यसका लागि युवा–विद्यार्थी र नेमकिपाका पार्टी कार्यकर्ता अहिलेदेखि नै लागिसकेका छन् । यसपालिको तःमुंज्या लामगालमा आयोजना गरिँदै छ । यो आयोजना सजिजो हुँदैन ।
स्थानीय युवा र विद्यार्थीहरू तथा प्रगतिशील जनताले अस्तिदेखि नै यो तःमुंज्याको सफल कार्यान्वयन गर्ने दिशातिर कम्मर कसिसकेका छन् । यो सजिलो कुरो छैन । झकिझकाउ, कला र संस्कृति झल्कने मञ्चमा भक्तपुर बाहिरबाट सहभागी हुन गएका सजीव, सक्रिय बुद्धिजीवीहरू जम्मा हुन्छन् र कला, संस्कृति, खेलकुद, नाटक, नृत्य आदि भक्तपुरका पुराना एवं गतिशील कार्यक्रमहरू बाक्लै राखिन्छ । त्यसका लागि युवा एवं सचेत नागरिक अस्तिदेखि नै आफ्नो प्रस्तुति परिणामदायी गराउने उद्देश्यले कापी, कलम घोट्न थालिसकेका छन् । यसपालि इजरायलले प्यालेस्टिनमाथि गरेको नरसंहारमा धेरै सिधासिधा महिला र केटाकेटी समेतको संहार रहेको छ । यी कुराहरू विभिन्न भाषाशैली, कथा, कविता, नृत्य आदिद्वारा त्यहाँ प्रस्तुत हुने प्रयास गरिन्छ । यो राम्रो कुरा हो ।
निश्चय नै स्तर वृद्धि भएको छ
विगतका तःमुंज्याहरूको समीक्षा गर्दै हाल तत्काल गर्नुपर्ने कामबारे चर्चा गर्दै तःमुंज्या सफल पार्न सबै पक्षको उत्तिकै प्रयास आवश्यक पर्छ । ४३ वर्षअघिको तःमुंज्यामा प्रस्तुत भएका कथा, कविता, नाटक, उपख्यानहरू र आज प्रस्तुत भएका, हुने विषयका उपाख्यानहरूमा व्यापक परिवर्तन आएको छ । सहभागीहरू अनुभवी भएका छन् । विगतको अनुभव र हालको समय अनुकूल विषय सशक्तरूपमा प्रस्तुत गर्न निकै अघिदेखि जाँगर देखाउन थालिएको छ । विगतका अनुभवहरूलाई हालको समय सापेक्ष सुरू हुने कथा, नाटक, कविता, ख्यालठट्टा जस्तो विधा प्रस्तुत हुनु समयसापेक्ष हुन्छ । प्रस्तुत विषयहरू पुराना वा बासी भए भने ती प्रस्तुतिले परिवर्तनको सन्देश दिन सक्दैनन् । साहित्य भनेको आज होइन, भोलि हो । भोलिको साहित्यको सङ्केत आजको साहित्यले दिन सक्नुपर्छ । हुनत साहित्य, कला, संस्कृति कहिल्यै पुरानो हुँदैन । पुरानो र नयाँ छुट्याउने काम लेखक स्वयंले गर्नुपर्छ । भक्तपुरका नेपाली भाषामा कलम नचलेका वा सिकारू लेखक कलाकारहरू परिपक्व हुने आफ्नो विचारलाई परिमार्जन गर्ने अनुभव यस्तै तःमुंज्याहरूबाट गर्न सकिन्छ । होला, पहिलो पटक नराम्रो तर क्रमशः गर्दै गएपछि त्यो नराम्रो राम्रोमा परिणत हुनेछ । राम्रोलाई नराम्रो भन्न नदिनु र नराम्रोलाई राम्रो पार्नु स्रष्टाको विशेषता हो । ४३ वर्ष अगाडिको तःमुंज्या र अहिलेको तःमुंज्या गुण र स्तरको दृष्टिबाट आकाश र पातालको अन्तर हुनसक्छ । पहिलोपटक तःमुंज्यामा विभिन्न विधामा भाग लिँदा आत्तिने, मात्तिनेहरू पनि जति पछि भयो त्यो संयमित, शिष्ट र सहनशील हुने गरेको देखिएको छ । एकैचोटि ठुलो उपलब्धिको अपेक्षा गर्नु पनि वान्छनीय हुँदैन । यो बुझ्नुपर्छ ।
एकै पटक आत्तिनु हुँदैन
यस्ता समारोहको आयोजना गर्नु देख्दा सजिलो लाग्छ तर गर्दा मात्र सानादेखि ठुलासम्म समस्या पैदा हुन्छन् । कविता, कथा, नाटक, गीत, भजन, ठट्यौलो कुरा प्रस्तुत गर्नुमात्र साहित्य होइन । प्रगतिशील साहित्यले श्रम र श्रमिकको आदर्श, मन र जाँगर पलाउने गतिविधि गरेर नयाँ पुस्ता जन्माउनुपर्छ । तपाईं यति राम्रो प्रस्तुति दिन कसरी सफल हुनुभयो ? आत्म निरीक्षण र आत्मआलोचना गर्नुभयो भने अरू राम्रो हुन्छ । एकथरी मान्छे आलोचनाबाट डराउँछन् । आत्मआलोचनाबाट डराउने मान्छे कहिल्यै सफल हुँदैन । हो, आत्मआलोचना पनि साधारण हुनुपर्छ । असाधारण आलोचनाले मानिसको परिवर्तन हुने नियमावलीमा राम्रो नाटक, हास्यव्यङ्ग्य, ख्यालठट्टा, जीवनका अपरिहार्य उपलब्धि हुन् । यी सबैलाई संस्कृति भनिन्छ । संस्कृति भनेको दुर्लभ वस्तुहरूको समस्ति हो । तपाईंले ४२÷४३ वर्षअगाडि तःमुंज्यामा भाग लिनुभएको थियो कि थिएन ? भाग लिनुभएको त्यति बेलाको प्रस्तुति र आजको प्रस्तुतिमा फरक आयो कि आएन, त्यो आफै पनि बुझ्न सक्नुहुन्छ । अरू सहयोगीहरूमार्फत पनि बुझ्न सक्नुहुन्छ । कुनै पनि कुराको तत्वबोध एकैपटक सम्भव हुँदैन । गर्दै जाँदा प्रगति हुने हो । प्रगति गर्छु भनेर मात्र प्रगति हुँदैन । प्रगतिको लागि बुद्धि, विचार एवं शैलीको पनि फेरफार भइरहनुपर्छ । साहित्य, कला र संस्कृति पनि मिठाइ पसलमा जिलेबी किनेजस्तो हुँदैन । यसको लागि अविश्राम परिश्रम गर्नुपर्छ । परिश्रमको फल स्वादिलो हुन्छ र तिख्खर पनि हुन्छ । स्वादिलो र तिख्खर वस्तु को पो मन पराउँदैन र ? यसमा तपाईं केटाकेटी हुँदादेखि आजसम्मको आफैलाई पढे पनि गतार्थ हुन्छ ।
स्राेतः अनलाइन मजदुर