सौर्य र नियामकको गम्भीर लापरबाहीले ठूलो मानवीय क्षति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ९ साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ भयानक दुर्घटनामा पर्‍यो । क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भयो । शाक्यलाई जीवितै उद्धार गरी अस्पताल लगियो ।

त्रिभुवन विमानस्थल धावनमार्गको ‘जिरोटु’ (कोटेश्वरपट्टि) बाट ‘टुजिरो’ (बौद्धपट्टि) कुदेर उडेको २० देखि २२ सेकेन्डमै जहाज धावनमार्गको दायाँ क्षेत्रमा खस्यो र लगत्तै आगलागी भएर लगभग ध्वस्त हुन पुग्यो ।

तथ्य के हो भने सौर्यको यो जहाजले न नियमति उडान तालिका अनुसार यात्रु बाकेको थियो, न त्यो यात्रु बोक्ने चार्टर उडान नै थियो ।

अब यहाँनेर यक्ष प्रश्न के उठ्छ भने, यदि नियमित वा चार्टर दुवै उडान थिएन भने त्यस्तो जहाजमा चालक दल (पाइलट र कोपाइलट) तथा प्राविधिक बाहेक त्यति धेरै व्यक्ति किन चढेका थिए ?

जहाज धनी सौर्य एयरलाइन्सले भनिसकेको छ– ‘यो जहाज ‘कम्प्लिट चेक’ (सी–चेक) अर्थात् पूर्णमर्मत गर्न पोखरा जाँदै थियो ।’

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

अझै प्रश्न उठ्छ– ‘अनि, सी–चेकमा जान लागेको जहाजमा प्राविधिक बाहेक असम्बन्धित व्यक्ति किन चढे त ?’

उड्डयन नियम अनुसार मर्मत गर्न जाने जहाजमा प्राविधिक व्यक्तिबाहेक अरू कोही पनि सवार हुन पाउँदैन ।

खासमा सौर्य एयरलाइन्सले असम्बन्धित व्यक्ति जहाजमा राखेर सुरुमै गल्ती गरिदियो । तर, उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सौर्यको गल्तीलाई नदेखे झैं गरिदिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो ।

उड्डयन विज्ञहरूका अनुसार मर्मत गर्न लगिने जहाजमा को–को जाँदैछन् भनेर नियामकले एकपल्ट ‘चेक’ चाहिँ गर्नुपर्थ्यो । तर, नियामकले ध्यान नदिँदा भयानक दुर्घटना हुन पुग्यो । ध्यान दिएको भए पनि दुर्घटना टर्थेन, तर यति ठूलो मानवीय क्षति हुने थिएन ।

‘सौर्य एयरलाइन्सको यो जहाजलाई हामीले सी–चेकमा जान ‘फेरी फ्लाइट’ गर्ने अनुमति दिएका थियौं,’ मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  भने, ‘यस्तो उडानमा चालकदल र इन्जिनियर वा प्राविधिक कर्मचारी बाहेक अरू यात्रु लानै पाइँदैन ।’

भुलका अनुसार मर्मतमा लगिने जहाजलाई मर्मत गर्ने ठाउँसम्म उडाएर लैजानुलाई ‘फेरी फ्लाइट’ भनिन्छ । यस्तो उडानमा जहाज उडाउने क्याप्टेन र कोपाइलट (चालकदल) तथा आवश्यक प्राविधिक कर्मचारी (इन्जिनियर) दुई–तीन जनाबाहेक अरू यात्रु राख्नै पाइँदैन ।

प्राधिकरणका अनुसार दर्ता नम्बर ‘९एन–एएमई’ भएको सौर्यको यो जहाजमा कुनै प्राविधिक समस्या थिएन । यो जहाजको उडानयोग्य (एयरवर्दिनेस) अवधि सन् २०२५ सम्म थियो र उडान गर्ने समय १ सय १९ घण्टा बाँकी थियो ।

त्यसमाथि सौर्य एयरलाइन्स आफ्नो जहाज आफैं मर्मत गर्ने ‘एमआरओ’ अनुमति प्राप्त कम्पनी हो । एमआरओ भनेको ‘मेन्टिनेन्स रिपेयर ओभरहौल’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *