एसईई परीक्षा र चिटिङ

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

राैतहत, २२ चैत

एसईई परीक्षा र चिटिङ

शिक्षा मानिसको लागि आधारभूत आवश्यकताजस्तै हो । शिक्षित व्यक्तिले मात्र उपयुक्त समयमा उपयुक्त काम गर्न सक्छ । व्यक्ति शिक्षित भएको खण्डमा देश र समाजको द्रुतगतिमा विकास हुनसक्छ । पहिले पहिले कुनै देशलाई ध्वस्त पार्नको लागि हातहतियारको आवश्यकता पर्दथ्यो भने आजभोलि कुनै देशलाई ध्वस्त पार्न सबभन्दा पहिला त्यहाँको शिक्षा व्यवस्थामाथि प्रहार गर्ने गर्दछ ।

तराईलगायत दुर्गम ठाउँमा पहिला प्रवेशिका परीक्षा (एसएलसी) हुँदा परीक्षार्थीभन्दा बढी त्यसका सहयोगीहरू धेरै सक्रिय हुन्थे भन्ने कुरा त्यतिबेला पत्रपत्रिकामा समाचारको रूपमा पढ्न पाइन्थ्यो । परीक्षा केन्द्रमा परीक्षार्थीका भएभरका आफन्तहरू पुग्ने गर्थे । उनीहरू सुरक्षाकर्मीहरूसँग झगडा गर्दै आफ्ना परीक्षार्थीहरूलाई चिट चोराउनमा सहयोग गर्थे । पढ्न सक्ने विद्यार्थीहरू पनि चिटको आशमै बसेका हुन्थे । त्यतिबेला प्रविधिको विकास नहुँदा प्रश्न पत्र बाहिर ल्याएर एक जना जानकारहरूले कुनै गोप्य ठाउँमा बसी एकएक गरी प्रश्न पत्रहरूको उत्तर लेख्थे भने अरु सहयोगीहरूले नक्कल गरी आफ्ना परीक्षार्थीहरूलाई पठाउने गर्थे ।

यसपालिको एसईई परीक्षा चैत १५ गतेबाट सुरु भयो । परीक्षार्थीहरूसँग एनड्रोइड मोबाइल नभई नहुने भयो । परीक्षा दिनुअगाडि १५–२० हजारको मोबाइल अनिवार्य व्यवस्थापन गर्नुपर्ने बाध्यता भयो अभिभावकहरूलाई । प्रविधिको विकाससँगै नयाँ नयाँ तरिकाले परीक्षार्थीहरूलाई नक्कल गर्न सिकाउन थाले, देशको भविष्य निर्माणकर्ता उत्पादन गर्ने शिक्षकहरूले ।

पहिले पहिले पनि परीक्षामा चोरी हुने गर्दथ्यो । बाहिरबाट भित्र चिट पु¥याउन सहयोगीहरूलाई सकस हुन्थ्यो । परीक्षा सक्नेबित्तिकै कक्षाकोठाहरूबाट बोराका बोरा चिट, किताब र सहयोगी किताबहरू बाहिर ल्याइन्थ्यो । तर, आजभोलि परीक्षा हुने कक्षाकोठाहरूबाट त्यस्ता कागजका टुक्राहरू भेटाइँदैन । आजभोलि विद्यार्थीहरूले नयाँ तरिकाबाट चिट चोर्ने गरेका छन् । मोबाइलमा विभिन्न समूह बनाई शिक्षक अथवा जान्नेहरूले हरेक प्रश्नको उत्तर लेखी मोबाइलबाट फोटो खिचेर समूहमा पठाएपछि समूहमा संलग्न सबैको मोबाइलमा पुग्दोरहेछ ।

परीक्षार्थीहरूले ३ घण्टामा समाधान गर्न सक्ने प्रश्नपत्र २ देखि साढे २ घण्टामा नै समाधान गर्ने गर्दछन् । यहाँनिर प्रश्न उठ्ने गर्दछ कि परीक्षा सञ्चालन समयावधिभरि केन्द्राध्यक्षबाहेक अरु कसैले मोबाइल बोक्न पाइँदैन भन्ने प्रावधान हुँदाहुँदै परीक्षार्थीहरू कसरी परीक्षा हलमा मोबाइल लिएर जान्छन् ? यो सबै काम सेटिङमा हुने गर्दछ । परीक्षार्थीहरूले केही रकम सङ्कलन गरी केन्द्राध्यक्षलगायत अन्यलाई आफ्नो प्रभावमा पार्ने गर्दछन् । परीक्षा अनुगमन टोलीलगायत अन्य सरोकारवाला पक्षहरूले आफ्नो जिम्मेवारीबोध गरी परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न सके हजारौँ विद्यार्थीहरूको भविष्य उज्ज्वल हुन्थ्यो । परीक्षामा चिट चोरेर पास गर्नु भनेको नक्कली नोटसरह हो । जसको कुनै महत्व हुँदैन ।

तराईमा चिट चोर्न किन उत्प्रेरित गर्छन् यहाँका अभिभावक, शिक्षकलगायत अन्य वर्गहरू ? तराईमा भइरहेको एसईई परीक्षा विद्यार्थीको लागि हो कि यहाँका सम्बन्धित विषय शिक्षकको ? यहाँका विद्यालयहरूमा पठनपाठन हुने बेला सम्बन्धित शिक्षक/शिक्षिकाहरूको दिमागमा अर्काे कुरा खेलिरहेका हुन्छन् । विद्यार्थीहरूलाई कक्षा कोठामा पढ्नको लागि प्रेरित गर्नुभन्दा ट्युसन र कोचिङ कक्षा गर्न प्रेरित गर्ने गरेको देखिन्छ ।

परीक्षामा चिट चोर्नामा विद्यार्थीभन्दा पनि शिक्षक नै बढी दोषी देखिन्छ । यदि शिक्षकले समय व्यवस्थित र योजनाबद्ध ढङ्गले पठनपाठन गराएका भए विद्यार्थीसामु चिट चोर्ने परिस्थिति हुँदैनथ्यो । शिक्षकले बाहिरबाट प्रश्नको समाधान नपठाएको खण्डमा विद्यार्थीले चिट चोर्न सक्दै सक्दैन । एसईई परीक्षा विद्यालय र विषय शिक्षकबिचको प्रतिस्पर्धाजस्तै देखिन्छ । कुन विद्यालय र कुन विषय शिक्षकले बनाएको चिटमा विद्यार्थीहरूले बढी अङ्क प्राप्त गरे भन्ने कुराको मूल्याङ्कन गर्ने गर्दछ । विद्यार्थीको विषयसँग खेलबाड गर्ने यस्ता तत्वहरूलाई समयमै पहिचान गरी कडाभन्दा कडा सजायको भागीदार बनाइनुपर्दछ । परीक्षा हलमा मोबाइल फोन लग्न पूर्णरूपमा बन्देज गर्नुपर्दछ । परीक्षा अनुगमन टोलीले परीक्षा हलमा कोहीकतैसँग मोबाइल फेला परेको खण्डमा त्यसका स्रोतहरू सूक्ष्म तरिकाले अनुसन्धान गर्न सक्यो भने कहाँबाट कसले कसरी सहयोग गर्दै छ भन्ने सजिलै पत्ता लगाउन सकिन्छ । यस विषयमा सम्बन्धित निकाय गम्भीर भई समाधान गर्नुपर्दछ । नत्र हजारौँ विद्यार्थीको भविष्य अन्धकारमय हुनुका साथै यस क्षेत्रको शैक्षिक अवस्था झन् भद्रगोल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *