वर्गीय आन्दोलन र वर्गसङ्घर्षले मात्र महिला मुक्ति हुने

राजनीति विचार विशेष समाचार समाचार

सृजना सैजू

चितवन, २९ चैत

वर्गीय आन्दोलन र वर्गसङ्घर्षले मात्र महिला मुक्ति हुने

सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्स भन्नुहुन्छ, “राज्यको बन्दोबस्त कस्तो छ र समाजको अवस्था के हो ? महिलाको अनुहारमा प्रतिबिम्बित हुन्छ ।” श्रमिकवर्गका महिलाको अवस्थाले मात्र समाजको वास्तविक स्थिति देखाउँछ । महिलाले सुख पाएको व्यवस्था या समाज अगाडि बढेको समाज कहलिन्छ । नेपाली समाजको वर्तमान अवस्था के हो ? नेपाली महिलाहरूको स्थितिबारे केही दृष्टान्तसहित छलफल गरौँ !

केही दिनअगाडि मिटरब्याजी साहु अर्थात् सुदखोरको शोषणमा परेका पीडित किसान–मजदुरहरू पैदल काठमाडौँमा न्याय माग्न आए । पुँजीवादी बन्दोबस्तमा सामन्तवादको अवशेष बाँकी रहेको एउटा दृष्टान्त हामीले प्रत्यक्ष देख्यौँ । मिटरब्याज, चक्रीयब्याज अर्थात् साँवाको अत्यधिक ब्याज र ब्याजको पनि ब्याज लाग्ने ऋणको दलनमा परेका महिला पुरुषहरूको दयनीय तस्वीर देख्यौँ ।

मिटरब्याजको घनचक्कर पीडासँगै मिटरब्याजीले दिएको बलात्कारको दर्दले छटपटाइरहेकी सप्तरीकी एक महिलाको क्रन्दन पनि सुन्यौँ । उनले ३ वर्षसम्म उनीमाथिको हिंसा लुकाएरै राखिन् । आज सुदखोर अर्थात् बलात्कारीविरुद्ध जाहेरी दिने हिम्मत बल्ल जुटाएकी छिन् । ३ वर्षअघि तिनले मिटरब्याजी साहुसँग सानो जग्गा किन्न १० लाख ऋण लिएकी थिइन् । ऋण तिर्न श्रीमान् मलेसिया खाडी मुलुक गए । त्यसपछि साहुले गरिबीको फाइदा उठाउँदै उनलाई घरमा कामदार बनायो । साहुले कामदार मात्र बनाएन बलात्कार गर्‍यो । चक्कु र पिस्तोल देखाएर उनका दुई सन्तानलाई मार्ने धम्की दियो । श्रीमान्ले विदेशमा रगतपसिना बगाई कमाएको पैसा ब्याज तिर्दातिर्दा २६ लाख नाघिसक्दा पनि ऋण चुक्ता भएन । ७ कट्ठा ११ धुर जमिन साहुकै हातमा छ । कानुनतः यदि साँवाभन्दा ब्याज धेरै गयो भने साँवा तिर्नु पर्दैन । रामदेव नामको त्यो सुदखोरले एकातिर कानुनविपरीत अपराध गरेको छ भने अर्कोतिर बलात्कारजस्तो जघन्य अपराध गरेको छ । ती महिलाले आफूलाई शोषणको जाहेरी दर्ता गर्न निकै सास्ती भोग्न परेको थियो । के अब त्यो सुदखोर या बलात्कारीलाई राज्यले दण्ड दिन्छ ? के ती महिलाले न्याय पाउलिन् ? यी प्रश्नहरू शासकतिर तेर्सिएका छन् । आरोपित रामदेव यतिखेर फरार छन् ।
यो घटनासँगै श्रमिकवर्गको महिलामाथि शोषण र दमन फेरि एकपटक सतहमा आएको छ† उदाङ्गो भएको छ । यदि आज पनि यी पीडित महिलाले न्याय पाउँदिनन् भने फेरि पनि हरेक दिन दर्ता हुने ६ वटा बलात्कारका घटना सामसुम पारिनेछन् । फेरि पनि मिटरब्याजको नाममा भइरहेको कालो धन सेतो बनाउने अपराध रोकिने छैन । यो अपराधको घनचक्करमा फेरि पनि पीडित कामदारवर्गका महिला नै हुनेछन् । त्यसकारण, यो शोषणविरुद्ध बुलन्द आवाज जरुरी छ । हामीलाई विश्वास छ, यो सम्मेलन सम्पूर्ण शोषित कामदारवर्गका महिलाको आवाज बन्नेछ ।
मानव बेचबिखन, मानवतस्करी र चेलिबेटी बेचबिखन रोकिएकै छैन । यो युगमा पनि कामदारवर्गका महिला बर्बर युग, पाषाण युग सामना गर्न बाध्य छन् । मान्छेले मान्छेको मासु खाने युग आज पनि जीवित हुनु समाज र देशको निम्ति लज्जाको विषय हो । दिल्लीमा बेचिएका नेपाली चेलिबेटीको उदार गरिएका समाचारहरू हिजो अस्तिकै मात्र हुन् । कसले पु¥यायो दिल्ली ? राज्य किन मौन ? प्रश्न फेरि पनि उठ्छ ।

केही समयअगाडि दुबई घुमाउने भन्दै १२ नेपाली महिलालाई कुवेतमा बेच्न लगिँदै थियो । त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लियो । ग्रामीण तथा गरिब महिला जहाज चढ्नु अघि नै बिक्री भइसकेका हुन्छन् । सयौँ नेपाली चेलीबेटी मध्यपूर्वमा यसरी बेचिइँदै छन् । पञ्चायती व्यवस्थादेखि आजको गणतन्त्रसम्म यो अवस्था फेरिएन । नेपाली समाजको अर्को दुःख यही नै हो ।

आज ८० लाख युवाहरू वैदेशिक रोजगारीको नाममा पराइ भूमिमा छन् । त्यसमा १५–२० लाख महिला हुने अनुमान छ । वैदेशिक रोजगारीको लागि भनेर गएका ६० प्रतिशत महिला बेचिन्छन्, शोषणमा पर्छन् भन्ने अध्ययनले बताउँछ । महिला मात्र होइनन् पुरुष कामदारहरू पनि मानव बेचबिखनमा पर्छन् । त्यसको निम्ति ११ सय म्यानपावर कम्पनीले मान्छे बेच्ने पसल थापेका छन् । एजेन्टहरू यहीँबाट नेपाली चेलीहरूको मोलमोलाइ गर्छन् । गत वर्ष मात्रै बेच्न लगिँदै गरेका ६४० जना नेपाली महिलालाई प्रहरीले विमानस्थलबाट फर्काएको समाचार छ । त्यसरी फर्काउन नसकेका महिलाको तथ्याङ्कले नेपाली समाज र शासन व्यवस्थाको घिनलाग्दो तस्वीर उदाङ्गो पार्छ । मानव बेचबिखनमा कर्मचारीदेखि उच्चपदस्थ तथा शासक दलका कार्यकर्ताहरूको मिलेमतो रहेको र शासक दलको संरक्षण रहेको तथ्यले यो व्यवस्था गरिब र कामगरी खाने जनताको लागि नर्क हो भन्ने पुष्टि गर्छ ।

८० लाख विदेसिएकामध्ये ६० लाख नेपाली दाजुभाइको पारिवारिक तथा सामाजिक समस्या कस्तो होला ? केलाउन जरुरी छ । दैनिक ४ वटा लास बाकसमा भित्रिन्छन् । दैनिक चार वटा बाकसमा लास फर्कियो भन्नुको अर्थमाथि घोत्लिँदा हामी एउटा सच्चाइको नजिक पुग्छौँ । त्यसको अर्थ हरेक दिन नेपाली समाजमा ४ जना महिलाको सिउँदो पुछिन्छ । अथवा चार जना आमाहरू आफ्नो सन्तान गुमेको विरहमा डुब्छन् । दैनिक १२/१५ जना अङ्गभङ्ग भएर फर्किनुको अर्थ दैनिक १२/१५ दिदीबहिनी या परिवारको खुसी गुम्छ, सुख अपहरित हुन्छ, जीवनको साथ कमजोर हुन्छ भन्ने हो । नेपाली महिलाहरूको यो अर्को दुःखद पक्ष हो ।
हरेक महिना १२–१५ सय नेपाली युवा विदेसिन्छन्, कामको खोजीमा । केही दिन अगाडि त्रिभुवन विमानस्थलमा विदेश जाने नेपाली युवाहरूको घुइँचो एउटा तस्वीरमा देख्यौँ । हाम्रो देश मात्र त्यस्तो होला जहाँ भित्र आउने पाहुनाभन्दा बढी बाहिर जाने पाखुरा बढी छन् । यो स्थितिमा जुन दिनसम्म परिवर्तन आउँदैन तबसम्म यो देशमा प्रजातन्त्र छ भन्ने कसैले विश्वास गर्ने छैन । कामदार महिलाको जीवन कष्टमुक्त हुने छैन ।

स्वदेशमै रोजगारीको बन्दोबस्त, कृषिमा प्राथमिकता, स–साना कारखानाको स्थापना र हिजो सञ्चालनमा रहेका कलकारखाना पुनः राज्यको मातहतमा सञ्चालन समस्या समाधानको उपाय हुन सक्दछ ।

देश ठूलो आर्थिक सङ्कटतर्फ उन्मुख छ । यदि सम्भावित दुर्घटनाबाट जोगिने हो भने वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्समुखी अर्थतन्त्र होइन आत्मनिर्भरता जरुरी छ । डलर होइन युआन र रुबल अर्थात् अन्य मुद्रा प्रचलित मात्र होइन विश्वको रोजाइ बन्दै छ । रुस र युक्रेनको युद्धले यसलाई अझ तिव्रता दिएको छ । राज्य र शासकहरूले पूर्वसजगता, सतर्कता अपनाएनन् भने देश अर्कै दुर्घटनामा फस्नेछ ।

हामीले देख्यौँ, ३० वर्षमा रेमिटेन्सले सकारात्मक प्रतिफल दिएन । ५ वर्षमै असफल रेमिटेन्समुखी अर्थतन्त्रको नीति बदल्नु पर्दैन ? ३० वर्षमा पनि नीति नफेर्नु बेइमानी या धोखा हो । अन्यथा, यिनीहरू विदेशी पुँजीका दलाल हुन्; दलाली भाग खाँदै छन् ।
त्यसकारण, महिला आन्दोलनमार्फत विदेशी पुँजीका दलाल उदाङ्ग्याउने या विरोध गर्ने जिम्मेवारी हाम्रो हो । त्यसकारण, हामी काङ्ग्रेसको विरोध गर्छौँ । एमाले र माओवादीको विरोध गर्छौँ ।

एमाले, माओवादी र काङ्ग्रेसलगायत शासक या सरकारी दलका महिला सङ्गठन विदेशी दान–दातव्य र सहयोगबाट चल्ने तथ्य कसैबाट लुकेको छैन । नेपाली समाजलाई एक मुक्का वैदेशिक रोजगारीले दिँदै छ भने अर्काे विदेशी डलरबाट सञ्चालित एनजीओ र आइएनजीओले दिँदै छ ।
नेपालको महिला आन्दोलनलाई भाँड्न एनजीओ र आइएनजीओसँगै सरकारी दलका महिला सङ्गठन उद्यत छन् । नेपालको कामदार वर्गीय महिला आन्दोलन ध्वस्त र समाप्त पार्न गुलियो पोतिएको विषको रूपमा ती एनजीओ र आइएनजीओ सक्रिय बनाइएको तथ्य हामीलाई थाहा छ । ती सङ्गठनहरूले महिलालाई एउटा जात या लिङ्गको रूपमा मात्र व्याख्या गरे । महिलाले महिला भएकै कारण दुःख पाएको अपव्याख्या गरे । नेपालको महिला आन्दोलनमा देखापरेको यो धारविरुद्ध नेपाल क्रन्तिकारी महिला सङ्घ ३ दशकदेखि सङ्घर्षरत छ । नेक्रामसङ्घ भन्छ – महिला वर्गीय मुद्दा हो । वर्गीय आन्दोलन र वर्गसङ्घर्षले मात्र महिला मुक्तिको बाटो तय गर्छ भन्नेमा नेक्रामसङ्घ विश्वस्त छ ।


तिनले राजनीति, अर्थतन्त्र र समाजमा महिला सहभागिता र पहुँचको नारा दिए । हामीले देख्यौँ, महिला पदमा नपुगेका पनि होइनन् । राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, मन्त्री महिला, सांसद महिला सङ्घदेखि प्रदेश र स्थानीय तहमा ३३ प्रतिशत महिला । यो विश्व र एसियाको औसतभन्दा बढी तर भुइँमान्छेहरू, कामगरी खाने महिलाहरूमाथि शोषणको अन्त्य भएन । शोषित दासहरू आज पनि बोक्सीको आरोपमा कुटिनुपर्छ । छाउपडी प्रथा उस्तै छ । अस्पताल र स्वास्थ्य चौकी पहुँचमा नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य छन् । दाइजो प्रथाका कारण छोरी जन्मनु अभिशापको रूपमा आज पनि लिइन्छ । पढे–लेखेका डाक्टरहरूले पनि श्रीमतीले दाइजो नल्याउँदा जलाएको, यातना दिएको घटनाले राजनीतिमा कस्ता महिला पुगे ? कुन विचारका महिला भन्ने प्रश्न खडा गर्छ ।

आज पनि हामी देख्छौँ, सङ्घ र प्रदेश अर्थात् नीति बनाउने ठाउँमा सम्भ्रान्तवर्गका महिला छन् । त्यसकारण, कामदार महिलाको पक्षमा नीति बन्दैन । हामीले भन्यौँ महिलालाई शिक्षित बनाऔँ, सक्षम बनाऔँ । कामदार महिलाले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उभिन सक्ने गरी सक्षम बनाऔँ । नेक्रामसङ्घ तीन दशकदेखि कामदार महिलाहरूको पक्षमा आवाज दिँदै छ । नेक्रामसङ्घ भन्छ – छोरीलाई सम्पत्ति होइन शिक्षा, छोरीलाई दाइजो होइन शिक्षा, अब छोरीलाई शिक्षासँगै राजनीतिक चेतना ।

नेक्रामसङ्घ बोल्छ – महिलामाथिको भेदभाव अन्त्य गर ! महिलालाई सीप देऊ, तालिम देऊ र योग्य एवम् सक्षम बनाऊ ! महिलालाई श्रमशक्तिको रूपमा तयार गर ! महिलाहरूलाई आमूल परिवर्तनका सहयात्री बनाऊ !

पद र पैसाको पछाडि कुद्ने सम्भ्रान्तवर्गका महिलाले बहुसङ्ख्यक कामगरी खाने महिला माथि उठेको हेर्न सक्दैन । त्यसकारण, हाम्रो महिला आन्दोलन दबाउन हरसम्भव कोसिस र षड्यन्त्र गरिरहन्छन् । नेपालमा जस्तै हरेक पुँजीवादी देशमा कामदार महिलाको स्थिति यस्तै छ । युरोपदेखि अफ्रिका र अफ्रिकादेखि एसियासम्मका पुँजीवादी देशहरूमा महिलाको स्थिति योभन्दा भिन्न छैन । विकसित भनिएको अमेरिकामा हरेक एक घण्टामा एउटा बलात्कार हुन्छ । भारतमा हरेक दिन सयौँ बलात्कार । गरिबीले आत्महत्या गर्ने महिला किसान भारतमा ज्यादा छन् ।

त्यसकारण, कामदारवर्गका महिलामाथि शोषणको कारण व्यवस्था र शासक दल हो । पुँजीवादी व्यवस्थामा महिलाको मुक्ति सम्भव छैन । कार्ल माक्र्सले भन्नुभएको थियो, “महिला दोहोरो शोषणमा परेका हुन्छन् । पहिलो त व्यवस्थाको शोषण, अर्को सामाजिक शोषण । त्यसकारण, कामदारवर्गको महिलाको मुक्तिका निम्ति दोहोरो सङ्घर्ष जरुरी हुन्छ । एक कामदारवर्गको पार्टीले गर्ने शोषणको व्यवस्थाविरोधी सङ्घर्ष अर्को त्यो पार्टीको छातामुनि बनेको महिला सङ्गठनको सङ्घर्ष । त्यसकारण, नेपाल मजदुर किसान पार्टीको विचार–सिद्धान्तअनुसार नेक्रामसङ्घ ३ दशकदेखि नेपाली कामदार वर्गका महिलाहरूको जीवन बदल्न सङ्घर्षरत छ । नेतृ सिल्भियाले भन्नुभएको थियो, “पुँजीवादको अन्त्येष्टिबिना कामदार महिलाको निम्ति मुक्तिको बिहानी आउँदैन । त्यसकारण, पुँजीवादको मलामी महिला जानुपर्छ ।” समाजवादी व्यवस्थामा मात्र महिलाले न्याय, स्वतन्त्रता र सुख प्राप्त गर्ने हुँदा समाजवादी क्रान्तिको झण्डा महिलाले नै बोक्नुपर्छ भन्ने शिक्षा नेक्रामसङ्घ आत्मसात् गर्छ ।

नेक्रामसङ्घ भन्छ– सङ्घर्षको बाटो नै हाम्रो एउटै मात्र विकल्प हो । सङ्घर्ष हाम्रो बाध्यताभन्दा ज्यादा रोजाइ या छनोट हुनुपर्छ । नेपाली समाजमा कामदारवर्गका महिलामाथि पुँजीवादी व्यवस्था र पितृसत्तात्मक समाजको दमनविरुद्ध मुक्तिका निम्ति सङ्घर्षको विकल्प छैन ।

(नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह, चैत २४ गते चितवनमा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *