सोनाम ल्होछारमा ठोरी गाउँपालिकामा ३ दिन विदा

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

वीरगञ्ज, ७ माघ

पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ ।

पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रुपमै विदाको माग गरेकोले तीन दिनसम्म विदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

‘७ गते शनिबार नै छ, ८ गते सरकारले नै विदा दिएको छ, ९ गते पनि विदा नै दिने निर्णय भएको छ ।’ उनले भने ‘ ठोरीमा बढी जनसंख्या रहेको तामाङ समुदायले लिखित रुपमै माग गरेपछि विदा दिने निर्णयमा पुगेका छौं ।’

ठोरी गाउँपालिका तामाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । देशभरका तामाङ समुदायले २८५९ औं सोनाम ल्होछार भव्यसँग मनाउँदैछन् । तामाङ समुदायले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।

अघिल्ला वर्षहरुमा समेत पालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिँदै आएको थियो । पर्वको अवसरमा माघ ९ गते सोनाम ल्होछार मूल समारोह समितिले बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।
ख्याति प्राप्त तामाङ कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने कार्यक्रममा १ लाख ६३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष जितु पाख्रिनले जानकारी दिए ।

पर्साका १४ पालिका मध्ये ठोरीमा मात्रै तामाङ समुदायको बाहुल्यता रहेकोले विदाको माग गरिएको उनले बताए ।

‘टाढा टाढाबाट पाहुना आउँछन्, खानपिन रमाईलो गर्छन् ।’ उनले भने ‘ हामीले मनोरञ्जन होस भनेर साँस्कृतिक कार्यक्रम पनि राखेका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *