पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाै, १ माघ

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

 

विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।

विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *