न्यूज अपडेट संवाददाता
भक्तपुर, २९ साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी र सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले आइतबार नपा सभाकक्षमा भेट गरे । नगर प्रमुख प्रजापतिले उनीहरुलाई खादा र भादगाउँले टोपीले स्वागत गरेको थियो ।
भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो ।
प्रमुख प्रजापतिले संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले टोल टोलमा खुल्ला व्यायामशाला स्थापना गरेको, २०७२ सालको भूकम्पबाट भत्केका अधिकांश सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेको र उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋणको व्यवस्था गर्दै आइरहेको बताए ।
भक्तपुरमा सामुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै शिक्षाकै जगबाट भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भएको हो भने ।
भेटमा प्रतिनिधिसभाका माननीय सदस्य तेजुलाल चौधरीले भक्तपुर नपाले शिक्षा गरिरहेको योगदान उल्लेखनीय भएको बताउदै यहाँबाट धेरै कुरा सिक्न भक्तपुर भ्रमणमा आएको बताए । उनले भक्तपुरले जस्तै अन्य स्थानीय तहले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदारणीय ढंगले काम गर्न सके देशको विकास हुन धेरै समय नलाग्ने पनि बताए ।
सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले सुरुङा नगरपालिका प्रदेश नं. २ को सप्तरी जिल्लाको प्रसिद्ध सुरुङा पहाडको नामबाट नामाकरण गरिएको नगरपालिका रहेको र हाल यस नपा ११ वटा वडामा विभाजित रहेको बतए ।
भ्रष्टाचार, आर्थिक अनियमितताका कारण देशको विकास झन पछि पर्दै गएको बताउदै उनले शिक्षित समाजले देशलाई अगाडि बढाउन मद्दत पुर्याउने विचार राखे ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सुनपा ७ सप्तरीका दिनेश यादव, सुनपा ९ सप्तरीका विद्यानन्द चौधरी, वडा नं. २ अध्यक्ष इन्द्रदेव यादव र वडा नं. २ का अमरेश यादवको उपस्थिति थियो ।