ललितपुरमा पहिलो नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
ललितपुर, २० चैत


ललितपुरको खोकनामा पहिलो नेपाल भाषा साहित्य तःमुंज्या(सम्मेलन) शनिवार एक समारोहबीच सम्पन्न भएको छ । खोकनाका वरिष्ठ कार्टुनिष्ट मोहनश्याम र्डंगोल र वरिष्ठ राग गुरु काजीलाल डंगोलले संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एव्ं नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले उहाँहरुलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि सुवालले जनताको साहित्यमा समयको आवाज प्रतिध्वनित हुनुपर्ने बताउँदै खोकना बुंगमतिमा सरकारले लाडेको अत्याचारविरुद्ध लेख्नुपर्ने धारणा राखे । उनले सत्तासिन पार्टीहरुले चुनावमा जित्नकै लागि मात्र घोषणापत्र निकालेको र कार्यान्वयन पक्ष भने शून्य रहेको बताए । नेपालमा बेरोजगारी समस्या झन बढेको स्पष्ट पार्दै उनले ८० लाख युवा बैदेशिक रोजगारीमा जान बाध्य पारेको बताए ।

नेमकिपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभासद सुरेन्द्र राज गोसाईले भाषा साहित्यको विकास पूँजीवादी सरकारले नभई जनताका सहित्यकारले गर्ने बताए । उनले उपत्यकाका संस्कृति र सामाजिक संरचना ध्वस्त गर्ने काममा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लागिपरेको तर्क राखे । तिनीहरुलाई अबको चुनावमा पराजित नगरे जनता फेरि दुर्घटनामा पर्ने उनको भनाइ छ ।
नेपाल भाषा साहित्य तःमुंज्या किर्तिपुरका अध्यक्ष नारायण महर्जनले जनताका साहित्यले आदर्श समाज निर्माणमा सहयोग गर्ने बताए । नेपाल भाषा साहित्य तःमुंज्या भक्तपुरका अध्यक्ष आशाकुमार चिकंबन्जारले कामदार जनताले लेखेपछि मात्र जनताको साहित्य विकास हुने बताए ।

कविन्द्र डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णभगत महर्जन, बुद्धरत्न शाक्य, शरणगोपाल डंगोल, अशोक महर्जन, नेपाल डंगोल, अष्टबहादुर महर्जन, नरेश महर्जन, विरेन्द्र शाक्यलगायतले बोलेका थिए ।
विभिन्न साहित्यकारहरुले रचना बाचन गरेको उक्त कार्यक्रममा नित्यनाथ भजन, पासा पुचः ख्वप, श्रमिक कला सदन, ख्वप, मनचिन्तन खल खोकनालगायतका सांस्कृतिक समूहहरुले प्रगतिशील गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *