न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ पुस

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिको आयोजनामा आजबाट सञ्चालित ५ महिने आधारभूत सिलाई र ६ महिने बुटिक तालिमको मंगलबार एक समारोहबीच उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले महिलाहरुलाई आफ्नो शैक्षिक योग्यतासँगै कुनै न कुनै सीप सिक्न प्रेरित गरे महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सहज जीवनयापनका लागि सीप महत्वपूर्ण भएको बताउदै सीप सिकेर व्यवहारिक जीवनमा लागु गर्न उनले आग्रह गरे ।

उनले भक्तपुर नपा कला–संस्कृति संरक्षणमा नमुना बन्दै गइरहेको अवगत गराउँदै भक्तपुर नपाले सीपमूलक र जीवनउपयोगी तालिम सञ्चालन गरी देशको लागि आवश्यक जनशक्ति उत्पादनमा मद्दत पुर्याइरहेको बताए ।
कार्यक्रमका सभापति एवम् महिला, बालबालिका, समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले यस्ता सीप तथा तालिमले महिलाहरुलाई स्वरोजगार र आत्मनिभएर बन्ने बाटो खुल्ने समेत बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने धारणा व्यक्त गरे ।
भनपा वडा नं. ८ का वडा सदस्य पञ्चलक्ष्मी दुवालले महिलाहरुले आफ्नो पेशा व्यवसायसँग सामाजिक गतिविधिमा पनि क्रियाशीलता बढाउनुपर्ने बताउदै शैक्षिक र व्यवहारिक ज्ञानलाई सँगसँगै अगाडि बढाउनुपर्छ भने ।
आधारभूत सिलाईका प्रशिक्षक धर्मलक्ष्मी दुवालले आफूले सिकेको तालिमलाई व्यवहारमा लागू गर्न सके कसैको सामू झुक्नपर्ने स्थिति नआउने बताए ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र भनपाका कार्यपालिका सदस्य एवम् महिला, बालबालिका, समाज कल्याण समितिका सदस्य कृष्णलक्ष्मी दुवालले पनि बोलेको थियो ।