Thursday, April 25, 2024

“गणतन्त्रका शासकमा सामन्ती भाषा र पक्षपात चालु रहनु राम्रो लक्षण होइन”

अन्तर्वार्ता राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १० भदाै

(नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यस्तरबाट रचिएको २०४५ भदौ ९ को कालो दिन ‘भक्तपुर काण्ड’ भएको ३२ वर्ष भयो ।
यसै सन्दर्भमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग  लिएको अन्तर्वार्ता प्रस्तुत छ – सम्पादक)

अध्यक्षज्यू, नेपालको राजनीतिक इतिहासमा कालो दिनको रूपमा सम्झिइने २०४५ साल भदौ ९ गतेको ‘भक्तपुर काण्ड’ का नकारात्मक शिक्षाबारे केही बताइदिनु हुन्छ कि ?
भक्तपुर र केही जिल्लाका हाम्रा कार्यकर्ताहरूलाई शत्रुले आलोचना, विरोध र जोरी खोजेर होइन, प्रशंसा गरेर, फकाएर, पद र पैसाको लोभ देखाएर, गल्ती–कमजोरीको पनि तारिफ गरेर बाटो बिराउन दिएका थिए । यसकारण, शत्रुको प्रशंसा र तारिफबाट बच्नु आवश्यक छ । विरोध गर्दा शत्रु र हाम्रोबीचको भिन्नता प्रस्ट हुन्छ, को हाम्रो मित्र र को हाम्रो शत्रु प्रस्ट हुन्छ ।

यहाँले ‘भक्तपुर काण्ड’ मा भक्तपुरमाथि गरिएको दमन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछिको सबभन्दा नृशंस भएको अभिव्यक्ति दिनुभएको थियो । बहुदलीय व्यवस्थामा हुर्किएका नयाँ पुस्ताको निम्ति यसबारे प्रकाश पारिदिनु हुन्छ कि ?
पृथ्वीनारायण शाहले मित लगाएर धोका दिएका हुनाले उपत्यकाका जनताले त्यस विश्वासघातलाई बिर्सन सकेनन् । आज पनि कतिपय परिवार सरकारी जागीर खान मान्दैनन् ।
पृथ्वीनारायण शाहले प्रत्यक्ष हमलामात्र गरेका थिएनन् । बरु दाजुभाइलाई फुटाउने, काठमाडौँ, ललितपुर, भक्तपुरका जनतामाझ आपसमा वैमनश्य फैलाउने, झूटा प्रचार गर्ने, आफूले हत्या गर्न लगाएर आफ्नै दाजुभाइले हत्या गरेको भनी हल्ला फैलाउनेजस्ता कुटिल कार्यहरू गरेको आज पनि जनमानसमा गडेकै छ । २०४५ सालमा पञ्च भएका र मण्डलेहरू आज कतिपय एमाले, एमाओवादी, चौँथो महाधिवेशन (जनमोर्चा) आदिमा प्रवेश गरेको देख्दा यी शासक दलहरूको नाम फरक भए पनि सारमा जनविरोधी नै हुन् भन्ने बुझ्न साधारण जनतालाई गा¥हो छैन ।
बनेपा र धुलिखेल, पनौति र खोपासी, कीर्तिपुर र पाङ्गा, साँखु र भक्तपुरका जनताको माझमा झगडा लगाउने काम गरेका कथाहरू सुन्थ्यौँ । स्थानीय जनतालाई मारेर कैयौँ इनारमा फालिएको हुन्थ्यो र त्यस्ता इनारको पानी जनताले प्रयोग गर्दैनथे । उपत्यकाका अन्य टोल बस्तीमा पनि यस्ता घटनाहरू भएको बताइन्थ्यो । यसकारण, काठमाडौँ उपत्यकाका कतिपय परिवार इन्द्रजात्रा नै हेर्न जाँदैनन् ।
बहुदलीय व्यवस्थामा पनि शासकवर्गद्वारा फास्ट ट्रयाकको नाउँमा, रङ्गशाला र ५०–६० मिटर फराकिलो सडक बनाउने नाममा सारा गाउँ, खेतीपाती, मन्दिर र पीठहरू सबै मास्ने षड्यन्त्र चालु छ । सिधासादा जनताको उर्वर भूमि बाध्य पारी सस्तोमा किन्ने र महँगोमा बेच्ने, सेना र प्रहरी लगाउनेजस्ता कार्यले पृथ्वीनारायण शाहकै आक्रमणको इतिहासलाई स्थानीय जनताले सम्झेका छन् । पक्षपात, झूट र बेइमानीले समाजमा आमूल परिवर्तनको कल्पना गर्न सकिन्न । समृद्धि र समाजवाद शासकको निम्ति होइन, अत्यन्त बहुमत जनताको निम्ति हो । शासकवर्गको सद्भावनाविनाको आतङ्क डकैती हो । यसकारण, नयाँ पुस्तालाई व्यक्तिगत स्वार्थ, पद र पैसाको निम्ति होइन, व्यापक जनताको हितमा सङ्घर्ष गर्न शिक्षित गर्नु आवश्यक छ ।

भक्तपुर काण्डको बेला पत्रकार, वकिल, बुद्धिजीवीलगायत थुप्रैले सहयोग गर्नुभयो । उहाँहरूको सहयोगको लागि नेमकिपा सधैँ अनुग्रहित भएको पाइन्छ । ती सहयोगी बुद्धिजीवीहरूलाई आज कसरी सम्झन चाहनुहुन्छ ?
अन्याय र षड्यन्त्रको विरोधमा वरिष्ठ अधिवक्ता साथीहरू, पत्रकार मित्रहरू, बुद्धिजीवी र राजनैतिक नेताहरूको सहयोग र योगदानबारे हरेक साल सबैजसो वर्गीय सङ्गठनले स्मरण गर्ने गर्छन् ।
२०४५ सालको घटनाभन्दा अगाडि हृषिकेश शाह, कृष्णप्रसाद भण्डारी, राममान श्रेष्ठलगायत बुद्धिजीवी साथीहरूले कूटनीतिबारे अधिवक्ताहरूद्वारा बदलिँदो समाजमा नयाँ के कस्ता विषयमा अध्ययन गर्ने र गणित एवम् विज्ञानको शिक्षाबारे प्राध्यापक साथीहरूमार्फत अनौपचारिक कक्षा सञ्चालन गराइएको थियो ।
सम्भवतः त्यसैलाई कुनै राजनैतिक गतिविधि वा सरकारविरोधी षड्यन्त्रको योजना सम्झेका होलान् । एकपटक एक अर्थशास्त्री एवम् कूटनैतिक व्यक्तिले राजनीतिक व्यक्तिले राजासँग भेटेर कुरा गर्नु आवश्यक भएको भनेका थिए । राजालाई पनि देश र जनताको हितमा चित्त बुझाउनुपर्छ भन्नेबारे २–४ पटक छलफल भयो । अन्तमा, एक निश्चित दिनको १० बजे राजासँग भेट गर्ने कार्यक्रम तयार भयो । तर, त्यस दिन बिहान ८ बजे फोनको घण्टी बज्यो र १० बजेको कार्यक्रम स्थगित भयो । बिहान ९ बजे आएर सबै व्यहोरा अवगत गराउने जानकारी प्राप्त भयो ।
थाहा भयो, दरबारमा ‘रोहितलाई भेट्नुहुन्न’ भन्ने पक्षमा सेना, प्रहरी, गुप्तचर विभाग र दरबारियाहरू पनि थिए । रोहित पेस्तोल लिएर हिँड्ने, बम बनाउने आदि ‘कथाहरू’ रहेछन् । दरबारमा पहिले निर्धारित कार्यक्रम स्थगित भएको त्यही एकमात्र घटना थियो ।

शोषकवर्गको राज्यसत्ता भएसम्म कामदारवर्गमाथि अनेक षड्यन्त्रहरू भइरहन्छन्, जर्मनीमा समेत हिटलरको पालामा आफैले ‘राइख स्टाग’ अर्थात् संसद् भवनमा आगो लगाउन दिएर कम्युनिस्टहरूमाथि आरोप लगाइएको थियो, तर पछि सरकार आफै उदाङ्गियो । एउटा चाखलाग्दो विषय हो – त्यो आगो लगाउने व्यक्ति कुनै पार्टीभित्र कार्यकर्ताको रूपमा काम गर्ने गुप्तचर थियो । नेपालका अनेक कम्युनिस्ट भनिएका दलहरूमा त्यस्ता ‘उत्तेजना फैलाउने’ (एजेन्ट प्रभोकेटर) हरूको कुनै कमी छैन ।

मैले गाउँ–गाउँका साथीहरूबाट जानकारी पाउने गरेको थिएँ – हाम्रा विरोधीहरू हरेक मिर्मिरे उज्यालोमै प्रधान सेनापति, आईजी, गुप्तचर विभागका आईजी र अञ्चलाधीशकहाँ गएर पनि हाम्रो विरोधमा साम्प्रदायिक पोलहरू लगाउँथे । २०४५ भदौ ९ पछि ती रिपोर्टहरूको केही अर्थ छ भन्ने बुझेँ ।
२०४५ सालमा जेलबाट छुटेपछि राजासँगको पहिलो भेटमै मैले सोधेको थिएँ – “उपत्यका कब्जापछिको २२५ वर्षपछि पनि के हामी विदेशी नै हौँ ?” हामी १० वर्ष प्रवासमा रह्यौँ तर हामीले कुनै सरकारी नेता भेटेनौँ, एक कप चिया पनि सित्तैमा खाएनौँ, बरु एक कप चियाको सट्टा एक कप दूधले स्वागत गथ्र्याैँ ।
भारतीय जनताबीच हाम्रो राम्रै आवतजावत थियो । दुवै देशका जनता आ–आफ्ना राजनैतिक व्यवस्थाबाट पीडित भएकोबारे विचार विमर्श हुन्थ्यो । जनताको स्तरमा हाम्रो सम्बन्ध आपसी सद्भावनापूर्ण थियो ।
सबभन्दा उल्लेखनीय पक्ष कक्षा सञ्चालनको बेला नून र खानेकुरासमेत नारायणी, जनकपुर र सगरमाथा अञ्चलका किसान साथीहरूबाट प्राप्त हुन्थ्यो । कसै–कसैको रेलको बाटो खर्च र बिँडीको निम्ति मात्रै खर्च हुन्थ्यो । भारत सरकारका प्रतिनिधि आएर हामीलाई रासन कार्ड लिन अनुरोध गर्थे । भारतीय जनताले पाउने रासन कार्ड हामीले लिनु उचित छैन र हाम्रो काम हाम्रै गाउँ–घरबाट हुन्छ भनेर जवाफ दिन्थ्यौँ ।
तर, २०४५ भदौ ९ गतेदेखि २० महिनासम्म हामीलाई नेपाली नागरिकको रूपमा होइन, ‘युद्धबन्दीको’ रूपमा व्यवहार गरियो । प्रहरीका हरेक जात र भाषा–भाषीले पनि हामीलाई ‘ज्यानमारा’ भनेर अपमान गर्थे, तिनीहरूको भाषाबाट थाहा पाउँथ्यौँ – पढाइएका वाक्यहरू हुन् सबै ।
राजाले ती कुरा आफूलाई थाहा नभएको बताएका थिए । तर, अहिले जोड दिएर साथीहरूलाई भन्छु – गणतन्त्रका शासक र कार्यकर्ताहरूमा समेत त्यो सामन्ती भाषा र पक्षपात चालु छ । यो राम्रो लक्षण होइन ।

भक्तपुर काण्डको बेला भक्तपुरका महिला तथा विद्यार्थीले पार्टीका गतिविधि अगाडि बढाए । खासगरी ‘भक्तपुर काण्ड’ मा ज्यान मुद्दामा फसाइएकाहरूविरूद्ध गरिएको नक्कली सर्जमिनको बेला महिलाहरूले विरोध प्रदर्शन गरे । यसलाई नेपालको महिला आन्दोलनकै प्रस्थानविन्दु मान्न सकिन्छ कि ?
२०२०–२१ सालदेखि नै महिलाहरूको रात्री कक्षा सञ्चालन सुरु भएको थियो । ‘भक्तपुर काण्ड’ मा सरकारको अन्याय र ज्यादतीको कारण सबै दिदी–बहिनी सडकमा आउन बाध्य भएका थिए । त्यसपछि महिला दिदी–बहिनीहरूले श्रमिक महिला सङ्गठनको महत्वबारे जानकारी पाएका हुन् ।

इतिहास दोहोरिन्छ फरक ढङ्गले भनेझैँ फेरि पनि ‘भक्तपुर काण्ड’ दोहोरिन सक्नेबारे बेलाबेला चर्चा हुने गर्छ । पञ्चायती निरङ्कुश व्यवस्थाको अन्त भई प्रजातान्त्रिक व्यवस्था स्थापना भएको पनि तीन दशक नाघिसक्यो । अहिले कोभिड–१९ को महामारी पनि छ । यस्तै बेला अनेक षड्यन्त्रहरू हुने आशङ्का गरिन्छ । अहिले ‘भक्तपुर काण्ड’ जस्तो त्यस्तो षड्यन्त्र हुने सम्भावना कतिको देख्नुहुन्छ ?
कोभिड–१९ को विश्वव्यापी महामारीले हरेक देशका विविध विषयमा उथलपुथल हुँदै छ । नेपालमा शासक दलका सबै नेता र कार्यकर्ताले आ–आफ्ना जिल्लाको निर्वाचन क्षेत्रका जनताको सेवाभन्दा काठमाडौँमा घर बनाउने, आ–आफ्ना छोराछोरीलाई मात्र राम्रा विद्यालय र कलेजमा भर्ना गर्ने स्वार्थी भावनाविरुद्ध जनता सचेत हुँदै छन् । सबै प्रदेश र जिल्लामा अस्पताल र स्वास्थ्य केन्द्रको बन्दोबस्त गरी सानो रोगको निम्ति पनि काठमाडौँ जानु नपर्ने गरी सन्तुलित विकास नगरेका शासक नेताहरू जनताको तारो बन्नेछन् ।
शोषकवर्गको राज्यसत्ता भएसम्म कामदारवर्गमाथि अनेक षड्यन्त्रहरू भइरहन्छन्, जर्मनीमा समेत हिटलरको पालामा आफैले ‘राइख स्टाग’ अर्थात् संसद् भवनमा आगो लगाउन दिएर कम्युनिस्टहरूमाथि आरोप लगाइएको थियो, तर पछि सरकार आफै उदाङ्गियो । एउटा चाखलाग्दो विषय हो – त्यो आगो लगाउने व्यक्ति कुनै पार्टीभित्र कार्यकर्ताको रूपमा काम गर्ने गुप्तचर थियो । नेपालका अनेक कम्युनिस्ट भनिएका दलहरूमा त्यस्ता ‘उत्तेजना फैलाउने’ (एजेन्ट प्रभोकेटर) हरूको कुनै कमी छैन ।

कोभिड–१९ को महामारी नियन्त्रणमा सरकार असफल प्रमाणित भएको छ । सरकार कहाँ चुक्यो ? खासमा सरकारले के गर्नु पथ्र्यो, अब नेपालीलाई जोगाउने उपाय के के होलान् ? यस्तो अवस्थामा नेमकिपाले कसरी काम गरिरहेको छ ? स्पष्ट पारिदिनुहुन्छ कि ?
दक्षिण सीमा, प्रदेश, जिल्ला र गाउँ–गाउँमा गएर जनतालाई सम्झाउने–बुझाउने, क्वारेन्टिन बनाउने र रोगीको व्यवस्थापन गर्न अस्पताल, डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गर्नुपर्ने बेला नेकपा र नेकाका नेता र कार्यकर्ताहरू काठमाडौँ बसी पार्टीको आन्तरिक बनिबनाऊ झगडा खडा गर्नु भनेको स्वयम् नेकपा (एमाले+माओवादी) र प्रमुख प्रतिपक्ष दलका नेताहरूको गैरजिम्मेवारीपन र जनविरोधी चरित्र नै हो ।
नेकपा (एमाले+माओवादी) को ‘घरझगडा’ अन्तिममा भागबण्डामा टुङ्गिने देखियो । अध्यक्षज्यू, यो पछिल्लो घटनाक्रमबारे के भन्नुहुन्छ ?

यो झगडा टुङ्गिने छैन, विदेशीले अर्कै उद्देश्यले गराएको नसुल्झिने झगडा हो ।

नेपाली काङ्ग्रेसले पनि सत्ताको भागबण्डा घोषित–अघोषितरूपमा गर्दै छ । नेकाभित्र महाधिवेशन तयारीको क्रममा नेतृत्वबारे झगडा सुरू हुँदै छ । नेकामा देखिएको पछिल्लो उतार–चढावबारे यहाँ के भन्नुहुन्छ ?
नेपाली काङ्ग्रेसभित्र पनि विदेशी ‘बोक्सी’को रोग लागेको छ । नेकाका सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री ओलीजीको सहयोगको आशामा छन् । एमाले र नेपाली काङ्ग्रेसको सल्लाह मानेमा प्रचण्डजीले अर्को बल्ड्याङ खाने निश्चित छ !(स्राेतः श्रमिक साप्ताहिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *