अमेरिकामा २ करोड मानिसको रोजगारी गुम्यो, बेराजगारी दर १४.७ प्रतिशत पुग्यो

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २७ बैशाख

अमेरिकामा २ करोड मानिसको रोजगारी गुम्यो, बेराजगारी दर १४.७ प्रतिशत पुग्यो

कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ ।
दुई महिनाअघि सम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो, जुन विगत पचास वर्षमा सबैभन्दा कम हो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको तर भविष्यमा अर्थव्यवस्था मजबुत बन्दै जाने दाबी गरेका छन् ।
फक्स न्युज च्यानलको एक कार्यक्रममा बोल्दै उनले अप्रिलमा बेरोजगार दर बढ्नुमा कुनै आश्चर्य मान्न नहुने त्यसमा पहिल्यै आशंका गरिएको स्पष्ट पारे । फक्स एण्ड फ्रेन्डस नामका कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यो सवालमा डेमोक्रेट नेताहरुले समेत दोष लगाइरहेका छैनन्, अब मैले गर्न सक्ने काम भनेको हरपल कोसिस गरेर गुमेको रोजगारीलाई फिर्ता ल्याउनु हो ।’
कोरोना महामारीको सुरुवातदेखि नै त्यसको प्रभाव अमेरिकी अर्थव्यवस्थामा देखिन्छ र विगतका वर्षहरुमा अपेक्षा गरिएका विकास दर घट्दै गएको देखिन्छ । अमेरिकामा अहिले कोरोनाका कारण पसलहरु बन्द छन् र खुद्रा बिक्रीको रेकर्डमा गिरावट आएको छ । अमेरिकामा देखिएको पछिल्लो स्थिति ऐतिहासिक भएको अर्थशास्त्री एरिका ग्रोसेनले बताइन् । उनले भनिन्, ‘यस महामारीको विरुद्ध लड्न हामीले हाम्रो अर्थव्यवस्थालाई कोमामा राखेका छौं । त्यसकारण ठूलो संख्यामा रोजगारी गुम्न पुगेको छ ।’ एरिका फिलहाल कर्नेल विश्वविद्यालयमा अध्यापनरत छिन् ।
अमेरिकी श्रम विभागको रिपोर्टअनुसार मुलुकको अर्थव्यवस्थाका सबै क्षेत्रमा गिरावट आएको छ । सबैभन्दा बढी प्रभावित हस्पिटालिटी (आतिथ्य) क्षेत्र भएको छ, जहाँ ७७ लाख जनाको रोजगारी गुमेको छ । त्यस्तै शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा करिब २५ लाख जनाको रोजगारी गुमेको छ । त्यस्तै खुद्रा बजार क्षेत्रमा २१ लाख मानिसहरुले रोजगारी गुमाएका छन् । विभागका अनुसार १ करोड ८१ लाख जनाको काम अस्थायी रुपमै समाप्त भएको छ ।
यद्यपि, धेरै कम्पनीहरुले परिस्थिति सुधार भएर अर्थव्यवस्था पनि सुध्रिने आशा गरिरहेका छन् । तर अर्थशास्त्रीहरुले भने यस महामारीका कारण कम्पनीहरुको काम गर्ने तरिकामै फेरबदल ल्याउने  र यसको प्रभाव समेत लामो समयसम्म रहन सक्ने दाबी गर्दै आएका छन् । उनीहरुले अझै लामो समयसम्म लकडाउनमा हुनसक्ने र अमेरिकी अर्थतन्त्रमा ठूलो क्षतिको आशंका गरिरहेका छन् ।
श्रोतː बीबीसी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *