भक्तपुर, २३ फागुन
सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भक्तपुर नगरपालिकाद्धारा सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनीयरिङले आफ्नो कलेजको नाम उल्लेख गरी मन्त्रीपरिषद्बाट बी.ई.कम्प्युटर इन्जिनीयरिङ शैक्षिक कार्यक्रम स्वीकृति सम्बन्धमा कान्तिपुर दैनिकको समाचार र सम्पादकीय सम्बन्धमा आपत्ती व्यक्त गरेको छ ।
कलेजले वि.सं. २०६५ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तह सिभिल र इलेक्ट्रिकल विषय सञ्चालन भएकोमा २०७४ साउन १ देखि कम्प्युटर इन्जिनीयरिङ सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयबाट स्वीकृति लिई सोही वर्षदेखि उक्त शैक्षिक कार्यक्रम सञ्चालन गरेको प्राचार्य ई.सुनिल दुवालद्धारा शुक्रवार प्रेषित विज्ञप्तिमा भनिएको छ ।
उक्त शैक्षिक कार्यmक्रमको नेपाल इन्जिनीयरिङ परिषद्को इन्जिनीयरिङ शिक्षण संस्थालाई मान्यता प्रदान गर्न विनियमावली २०६६ बमोजिम नेपाल इन्जिनीयरिङ परिषद्बाट स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयबाट नेपाल सरकार मन्त्री परिषद्मा सिफारिस प्राप्त भएको उक्त विज्ञप्तिमा स्पष्ट पारेको छ । मन्त्री परिषद्को उक्त निर्णय अनुसार परिषद्बाट उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्न अस्थायी मान्यताको स्वीकृति प्राप्त भएको बताइएको छ ।
साथै कलेजले उक्त शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धमा कुनै अन्योल नरहन र कान्तिपुर समाचार र वक्तव्यमा उल्लेख भएबमोजिम सो निर्णय त्रिभुवन विश्वविद्यालयप्रति सम्बन्धित नभएको प्राचार्य दुवालले उल्लेख गरेको छ ।