भक्तपुर, १ भाद्र
संसारकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले स्वायत्त राज्य जम्मु – काश्मीरलाई जनताको भावना र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत जबरजस्ती आपूmमा विलय गरेको विरोधमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जम्मु – काश्मीरमाथिको हस्तक्षेपमा भारतीय प्रम मोदीको फासीवादी चरित्र उदाङ्गिएको प्रस्ट पारे। भारतले पुरानो गौरव फर्काउने उद्घोषसहित मुसलमान तथा जातीय अल्पसङ्ख्यकहरूमाथि संहार गर्नु तथा भारत, पाकिस्तान र चीनबीच इतिहासकालदेखि विवादित क्षेत्रमा हस्तक्षेप गर्नु मोदीको फासीवाद हो, उनले भने ।
भारतीय हस्तक्षेपको विरोधमा काश्मिरी जनताको सङ्घर्षप्रति न्यायप्रेमी नेपाली जनताहरूले ऐक्यबद्धता प्रकट गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले छिमेकमा बलेको आगो आफ्नो घरमा पनि सल्किन सक्ने खतरा बढेको उल्लेख गरे।
उनले नेपालको सार्वभौमिकता अक्षुण्ण राख्न भारतसँगको खुला सिमाना बन्द गरी नियमित गर्नुपर्ने, सिमानामा नेपाली सेना तथा सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने र नागरिकता ऐनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टीका केन्द्रीय सदस्य एवम् नगर प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादी देशहरूले कुनै देशमा राजनैतिक हस्तक्षेप गर्नुपूर्व आफ्ना दलालहरू तयार गर्ने उल्लेख गर्दै काश्मीरमाथि भारतीय हमलाको विरोधमा नेपाली शासक दलहरू मौन बस्नु भारतीय विस्तारवादको दलाली गर्नु हो भने।
उनले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरूले करोडौँ भ्रष्टाचार गरेको विरोधमा अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी र स्थानीय जनता आन्दोलित भएको तथा नपाले अस्पताललाई प्रदान गरेको जग्गा सर्तविपरीत गैरसरकारी संस्थाले दुरुपयोग गरिरहेको हुँदा नपाको नेतृत्व नयाँ व्यवस्थापन समिति गठन गरेको बताए । बिरामीहरूलाई सस्तोमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न स्थानीय जनता, अस्पतालका डाक्टर र कर्मचारीहरूको पूर्ण समर्थनमा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी वहन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जम्मु – काश्मीरको घटना भारतको आन्तरिक मामिला नभएको चर्चा गर्दै काश्मिरी जनतालाई भारतीय सेनाको व्यारेकमा थुनेर अन्तर्राष्ट्रिय समुदायसँग अलग्ग राख्दा र जघन्य मानव अधिकार हनन गर्दा अन्तर्राष्ट्रिय चासोको विषय बन्नु स्वाभाविक छ भने ।
वडाध्यक्ष रवीन्द्र ज्याख्व र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष सविन ख्याजूले जम्मु –काश्मीरको वर्तमान घटनाक्रमबारे विस्तृत जानकारी दिए।