सुजना कार्की
भक्तपुर,१९ जेठ
ढाका टोपी र भादगाँउले टोपीको बजारमा माग बढेको छ । पुराना व्यवसायीहरु पुन पहिलाकै टोपी बनाउने पेशातर्फ उन्मुख भएका छन् । विगत केहि वर्षमा यस्ता टोपीहरुको व्यवसाय खस्किएपछि व्यवसायीहरु अन्य पेशातर्फ लागेका थिए ।
कालो टोपी ( भादगाउँले टोपी) नेवार समुदायमा प्रचलित थियो भने ढाका टोपी ब्राम्हण र क्षेत्री समाजमा प्रचलनमा थियो । यस्ता टोपीहरुको कहिले प्रचलनमा आएको भन्न नसकिए पनि परम्परागत कालमा यस्ता टोपीको विक्री व्यापार अत्याधिक बढेको थियो ।
तत्कालीन सरकारले टोपी नलगाई सिंहदरवार भित्र प्रवेश गर्न नदिने निर्णय गरेपछि ढाका टोपी र भादगाउँले टोपीको व्यापार उचाइमा पुगेको हो । २०४६ सालपछि सिंहदरवार प्रवेशमा टोपी अनिवार्य नभएपछि टोपीको व्यापारमा कम भएको थियो ।
भक्तपुरका ५५ वर्षीय पुष्पाराज शाक्य विगत तीन दशकदेखि यसै पेशामा संलग्न थिए । विगतमा केहि बृद्धहरु, नेवार समुदाय र सरकारी कर्मचारीले यस्ता टोपी लगाउने गरेको बताए । वर्तमान समयमा सुट पाइन्ट र अन्य पोशाकमा पनि लगाउने चलन रहेकोले टोपी लोकप्रिय बनेको उनले बताए ।
अर्का व्यवसायी विजय राज भण्डारीले उपहारका रुपमा र विदेशमा पनि माग रहेको बताए । विभिन्न विवाह, व्रतबन्ध र भोजहरुमा प्रयोग हुन थालेकाले व्यापारमा सुधार आएको उनले भने । यस्ता टोपीहरुको माग बढ्नु भनेको भक्तपुरको सांस्कृतिक मान्यतालाई सबैले स्विकारेको र एक पिढीबाट नयाँ पिढीमा हस्तान्तण भइरहेको बताए ।