दैलेख,९ जेठ
कुनै बेला राउटे समुदायले बञ्चरो बाँसुल्लो र छिनोको सहायतले काठका भाँडाकुडा बनाएर गाउँमा अन्न सँग साटेर जीविका चलाउँथे । तर पछिल्लो समय राष्टिय वन सामुदायिकमा हस्तान्तरण भएपछि राउटेलाई जिविका चलाउन कठिनाई भएको छ । सजिलै सँग समुदायले जंगलबाट कुकाठ काट्न पाउँदैन भने अर्कातिर गाउँघरमा प्लास्टिकका भाँडाकुडा भित्रिन थालेपछि राउटे व्यापार व्यवसाय धरापमा परेको छ ।
आफ्नो पुर्खा देखिको चलिरहेको तीन औजारबाट राउटे समुदायले काठका भाँडाकुडा बनाएपनि शहर गाउँमा कोशी,आरी काठ विक्री हुन छाडेको छ । पुर्खा निरन्तरता चाहिने यो राउटे भने पछिल्लो समय आधुनिक प्रविधितिर आर्कषण हुन लागेको हो । राउटे महामुखिया महिन बहादुर शाहीको छोरा शिवराज शाही ३१ बर्षका भएपनि उनले पहिलो पटक आधुनिक प्रविधि सहित सिप सिक्न तालिममा सहभागी भए । सिपमा निखारिएका उनीहरुले पुर्खाको सिप अगाले पनि आधुनिक प्रविधिसँग पहिलो पटक सिक्न लागेको राउटे युवा शिवराज शाहीले बताए । उनले भने, हामी बञ्चरो,छिनो र बासुल्लोको मात्र काठका भाँडाकुडाँ बनाउ थियौं । यो गैरराउटले बनाउँथे । आरी चलाउदा सजिलो हुने रहेछ । भाँडाकुडा बनाउन सबै काम गर्न पहिले एक्लै एक्लै गर्नुपथ्यौं । तालिममा सबै सहभागी भएर सिक्दा आनन्द आयो उनले भने ।
दक्षिण एशियाको लोपोन्मुख मानिने यो समुदाय प्राकृतिक ज्ञानका भण्डार हुन् । गैरराउटेलाई आवश्यक पर्ने काठ हानि नगरेर उनीहरु कुकाठबाट जिविका चलाउँदै आएका छन् । राउटेमा पुरुष बाहेक महिलाले काठको काम गर्दैनन् । यो उनीहरुको परम्परागत सिप हो ।उनीहरु तीनवटा हतियार–बन्चरो, बसुलो र छिनोले काठका भाँडाकुँडा बनाउने गर्थे । समुदायको परम्परागत सीप र व्यवसायको संरक्षण गर्दै आधुनिक औजारद्धारा काठका सामग्री बनाउने तालिम राउटे युवाहरुलाई प्रदान गरिएको छ । काठका भाँडाकुँडा बनाउने तालिम दिएमा जीविकोपार्जनमा सहज हुने बताउँदै आएको समुदायका १३ जना युवाहरुलाई तालिम दिईएको हो । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटे युवाहरु दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आईपुगेका छन् । उनीहरु तालिम लिन दैलेख आएका हुन् । एईआएन लक्जेम्बर्गको सहयोग, गुराँस गाउँपालिका र डिभिजन वन कार्यालय दैलेखसंगको समन्वयमा सोसेक दैलेखद्धारा आयोजित तालिममा राउटे युवाहरुले उत्साही भएर नयाँ प्रविधि सिकिरहेका छन् । उनिहरुलाई प्रशिक्षक झलक कुमार विक र शेर बहादुर बयलकोटीले तालिम सिकाईरहेका छन् ।
‘हामीले कहिल्यै पनि आरा, रन्दा प्रयोग गरेनौ, तालिम सिक्दै गरेका राउटे युवा शिवराज शाहीले भने ‘बन्चरोले काठ काट्दा धेरै जस्तो काठ खेर जान्थ्यो, आरा प्रयोग गर्दा काठ खेर नजादोरहेछ ।’ नयाँ प्रविधिले काठका भाडाँकुडाँ र सामग्री बनाउँदा अझ राम्रो हुने र फाइदा पनि हुने शाहीले बताए । थप तालिम पनि आवश्यक पर्ने उनको भनाई छ ।प्रशिक्षक झलक कुमार विकले राउटे युवाहरु नयाँ प्रविधिको तालिम सिक्ने इच्छा धेरै भएको बताए । ‘भर्खरका युवाहरुलाई सिक्ने तिब्र चाहाना छ, प्रशिक्षक विकले भने ‘राउटेले बनाउने सामानको पहिचान जोगाउँदै नयाँ प्रविधिको सिप सिकाईरहेका छौ ।’ फलामको किलाबाट सामान जोड्न सिक्न चाहे त्यसै अनुसार सिकाउने नचाहे काठकै किला प्रयोग गरेर सिकाउने उनको भनाई छ । ‘उनिहरुले एउटा मुडाबाट तीनवटा फट्टा निकाल्छौ भनेका थिए, हामीले त्यहिबाट १६ देखि २० वटा फट्टा निकाल्छौ भन्दा अचम्म मानेर सिकीरहेका छन् । यो जातिलाई मैले पहिलो पटक सिप सिकाउन पाउँदा भाग्यमानी ठानेको छु विकले भने ।
विगत नौ महिना देखि राउटे समुदायको सशक्तिकरण र समुदायमा भएका नराम्रा व्यवहारलाई सुधार गर्दै समुदायको जीविकोपार्जनका लागि काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले काठहरु धेरै खेर जाने, वजजंजल धेरै नासिने भएकाले आधुनिक प्रविधिको तालिम प्रदान गरेर एउटा रुखबाट धेरै भन्दा धेरै काठ प्रयोगमा ल्याउने उदेश्यले तालिम प्रदान गरिएको बताए । राउटेको मौलिकतालाई ख्याल गरेर तालिम सिकाएको उनको भनाई छ । उनले राउटे समुदायले निर्माण गर्ने सामग्रीको बजारीकरणका लागि सुर्खेत र काठमाण्डौमा राखेको बताए ।
बन्चरो, बासुलो र छिनोको प्रयोगबाट काठका भाडाकुँडा बनाउँदै आएका उनिहरु आरा, रन्दा लगाएतका औजारहरुबाट काठ काट्न सिकीरहेका छन् । राउटेहरु आराद्धारा काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने सिप सिकिरहेका छन् । उनिहरुलाई एक हप्ते तालिम अवधीभर किला ठोक्न पनि सिकाईनेछ । समय परिवर्तनसँगै राउटेले तालिमसँगै अन्य कुरालाई स्वीकार गर्न थालेका छन् । दैलेख, सुर्खेत, सल्यान, दाङ लगाएतका कर्णालीका जिल्लामा डुल्ने र अस्थायी बसोबास गर्ने गरेका फिरेन्ते राउटे समुदायमा अहिले १ सय ४६ जनाको जनसंख्या छ ।