सल्यान ५, जेठ
सल्यानका महिलाहरु आयआर्जनका कार्यमा सक्रिय भएका छन् । महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै सल्यानमा महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गरेका छन् । जसको उदाहरण हुन २० वर्षीया निर्मला कार्की ।
उनले जिल्लाको बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारमा अटो चलाउदैँ आएकी छिन् । जाजरकोट जिल्लामा घर भई हाल सल्यानको सल्लीबजारमा सपरिवार बस्दै आएकी उनले अटो चलाएर राम्रो आम्दानी गर्दै आएकी छिन् । उनले अटो चलाएर मासिक ३० हजार रुपैँया भन्दा बढी आम्दानी गर्ने गरेको बताईन् ।
सल्लीबजार आसपासका यात्रुहरूलाई अटोमा राखेर गन्तव्य सम्म पु¥याउँदै आएकी छु उनले भनिन् जसबाट मासिक ३० हजार रुपैँया सम्म आम्दानी हुन्छ । उनले अटो चलाएर नै परिवार पाल्दै आएको बताईन् । दैनिकरुपमा एक हजार देखी दुई हजार रुपैँया सम्म आम्दानी हुन्छ उनले थपिन् अटो चलाएर कमाएको पैसाले परिवार पाल्न सजिलो भएको छ ।
जागिरको लागी धेरै ठाँउमा आबेदन दिदाँ पनि सफल नभएपछि उनले गत वर्षदेखि अटो चलाउन थालेकी हुन् । उनी अटो चलाउने जिल्लाकै पहिलो महिला हुन् । नेपालगञ्जमा गएर अटो चलाउन सिकेकी उनले यसबाट राम्रै कमाइ भइरहेको बताईन् । उनले यात्रुको माग अनुसार सल्यान खलंगा, जाजरकोट र सुर्खेतसम्म पुग्ने गरेको बताइन् ।