रुकुम, २२ बैशाख
रुकुमको यार्सागुम्वा पाईन क्षेत्रहरुमा युवा परिचालन गरिएको छ । पूर्वी रुकुमको साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलवारी, घोराँह, जंगला थांगे र तकसेरा गाविसका रामाजीमा र तारावाङ भन्ने स्थानमा युवा परिचालन गरिएको हो ।
यार्सा सिजन सुरु भएसँगै चोरी पैठारी वढ्न थालेपछि स्थानीयहरुले झण्डै ३ सय ५० भन्दा वढी युवा यार्सागुम्वा पाईने क्षेत्रतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमृतधन पुनले जानकारी दिएका छन् । उनले भने, ‘चोरी पैठारी रोक्न युवा सुरक्षा पठाएको हो ।’
रन्मामैकोटबाट ‘एक घर, एक सुरक्षा’ दस्ता बनाएर यार्सा पाईन क्षेत्रमा युवा परिचालन अध्यक्ष पुनले जानकारी दिएका छन् । चारदिन अघि यार्सा सिजन व्यवस्थापन समितिको बैठक बसी सुरक्षा दस्ता खटाएको छ । भने जेठको पहिलो साताबाट यार्सागुम्वा संकलन गर्ने तयारी भएको स्थानीयवासी लजिम पुनले जानकारी दिएका छन् । चोरी पैठारी बढेका कारण रुकुमका हिमाली क्षेत्रमा पाईने यार्सा गुम्वा उत्पादन घट्दै गएको छ ।
गत बर्ष यार्सा उत्पादनमा गिरावट आएपनि यस वर्ष यार्सा गुम्वा उत्पादन वढ्ने स्थानीयले बताएका छन् । विशेषगरी समयमा पानी तथा हिमालमा हिउ परेका कारण बढ्ने अनुमान गरिएको हो ।
पछिल्लो समय जलवायु परिवर्तनसँगै रुकुममा यार्सा उत्पादनमा कमी भएको छ । जिल्लामा जलवायु परिवर्तनसँगै मानवीय चाप बढ्दै जाँदा यार्सा कालो हुँदै गएको स्थानीयहरुले बताएको छ । यस वर्ष यार्सा पाइने स्थानमा समयमा पानी र हिउँ परेका कारण यार्सा उत्पादन वढ्ने अनुमान स्थानीयले गरेका छन् । गत बर्ष यार्सा उत्पादन सँगै मूल्यमा समेत गिरावट आएको थियो । गत बर्ष प्रति केजी ६ लाख देखी १५ लाख रुपैयाँमा यार्सा गुम्वाको मुल्यमा कारोबार गरिएको थियो ।