फर्निचर उद्योगबाट मासिक ५ लाख आम्दानी

अर्थ/वाणिज्य कला/साहित्य समाचार

सल्यान १७ बैशाख


सल्यानको बागचौर नगरपालिका ३ का हरिलाल डिसीले फर्निचर उद्योग सञ्चालन गरेका छन् । सशस्त्र युद्धको समय देखी नै राजनिति गर्दै आएका उनले अहिले बागचौरमा फर्निचर उद्योग सञ्चालन गरेका छन् । राजनीति गर्दा अन्य पेसा व्यवसाय गर्नु हुँदैन र भ्याउन पनि सकिँदैन भन्ने मान्यतालाई चिर्दै डिसीले फर्निचर उद्योग चलाउँदै आएका छन् ।
तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका उनले फर्निचर उद्योग संचालकको रुपमा मात्र होइन, आफैं प्राविधिक र आफैँ मजदुर पनि भएर काम गर्छन । सामाजिक काम गरेर बचेको समयमा काठ काट्न, रन्ना लगाउनदेखि दार चिर्न व्यस्त हुने गरेको उनको भनाई छ ।
चार वर्ष अघि देखी बागचौरमा फर्निचर उद्योग गरेका डिसीले मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । युवा रोजगारीका लागि विदेश पलायन भइरहेको समयमा स्वदेशमै काम गरे आम्दानी गर्न सकिने उनको अनुभव छ । ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने होइन । मान्छेमा एउटा, एउटा सिप हुन्छ । त्यही सिपलाई प्रयोगमा ल्याउन सक्ने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ’— उनले भने ।
घर खर्च, छोराछोरीको पालनपोषण तथा पढाइ खर्च र मजदुरलाई पारिश्रमिक दिएर मासिक दुई लाख रुपैयाँसम्म बचत भइरहेको उनले बताए । राजनीतिसँगै व्यवसाय गर्दै आइरहेका डिसी आफूमात्रै आत्मनिर्भर छैनन । उनले १२ जनालाई रोजगारी समेत दिएका छन् । सिप र जिम्मेवारी अनुसार मासिक ८ देखि २५ हजार रुपैयाँसम्म दिएर उनीहरूलाई राखेका छन ।
डिसीले आफ्नै घरका चार जनालाई स्वरोजगार बनाएका छन् । मेहनत र लगनशिल भएर काम गर्न सके स्वदेशमा रोजगारीका थुप्रै सम्भावना भएको र आम्दानी पनि राम्रो हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *