भक्तपुर, २६ चैत


भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा सोमबार वडाबासीहरू र सामुदायिक वडा प्रहरीबीच साझेदारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्ँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण रुपमा सफल पार्न नगरपालिकाले विभिन्न सरोकारवालाहरूसँग सहकार्य र समन्वय गरिरहेको बताए । उनले जात्रा निर्धारित समयमा सुरु गरी समयमै सम्पन्न गर्न सके सम्भावित दुर्घटनामा कमी आउने बताउँदै कानुनले गर्न नहुने गतिविधि गर्दा जो कोही सजायको भागी हुनुपर्ने बताए ।
जात्रालाई शान्तिपूर्ण बनाउन सभ्य रुपले प्रस्तुत हुन आह्वान गर्नुहुँदै प्रमुख प्रजापतिले जनता स्वयम् बिना बर्दीका प्रहरी भएको बताए । दण्ड–सजाय नै समस्याको समाधान नहुनेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले सांस्कृतिक सम्पदाहरू चोरी हुनबाट जोगाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले जात्रा शान्तिपूर्ण बनाउन जनचेतनामूलक कार्यक्रमको आवश्यक हुने र भक्तपुर नगरलाई सुविधासम्पन्न नगरको रुपमा विकास गर्ने उद्देश्य रहेको बताए । उनले भक्तपुर पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने र प्रहरीसँगको सहकार्यले नगरको शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलक र वडा सदस्य ज्ञानकुमार मगजुले नगरवासी सचेत भए समाजलाई अगाडि बढाउन मद्दत पुग्ने र नैतिक जिम्मेवारी सबैको साझा जिम्मेवारी भएको बताए ।
प्रहरी नायब निरीक्षक रत्नबहादुर थापाले समुदाय प्रहरीको आवश्यकता र भूमिकाबारे प्रस्तुतीकरण दिंदै शान्तिपूर्ण र सुरक्षित समाजको लागि समुदाय प्रहरीको महत्व माथि प्रकाश पारे ।