भक्तपु १३ चैत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत यामलाल सुवेदीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गरे । आज आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको उद्देश्य जनताको सेवा गर्ने र देशको उत्कृष्ट नपाको रुपमा स्थापित गर्ने बताएो । उनले जनप्रतिनिधिले बनाएको नीति सही तरिकाले कार्यान्वयन भए नगरपालिकाको हरेक काम सफल हुने बताए।
भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास बोकेको भक्तपुरका जनताबाट निर्वाचित भक्तपुर नगरपालिकाले आर्थिक अनुशासनमा रही पार्टीको घोषणापत्रलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अगाडि बढाएको चर्चा गरे । भक्तपुर नगरपालिकाले विकास निर्माणको कार्य ठेक्कामा नभई उपभोक्ता समितिमार्फत् गरी बलियो संरचना बनाउँदै स्थानीय जनताको अपनत्व कायम हुने गरी काम गरिरहेको बताए ।

सबै क्षेत्रमा भागबण्डा गरी खाने सोचकै कारण देशको कहालीलाग्दो स्थिति उत्पन्न भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले मूर्त–अमूर्त सम्पदाले भरिएको भक्तपुर नगरलाई ज्ञानविज्ञान र सांस्कृतिक केन्द्र बनाउँदै स्वच्छ, पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने बताए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरवासीको हितमा घरदैलो नर्सिङ सञ्चालन गरेको, नियमित सरसफाई र भक्तपुरमै आँखा अस्पतालसहितको ख्वप अस्पताल खोल्ने तयारीमा रहेको जानकारी दिए ।
भक्तपुर नपाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुरले नियमसंगत काम गरिरहेको बताउनुहुँदै सांस्कृतिक नगर निर्माणको निम्ति प्रतिबद्ध भइ जनप्रतिनिधिहरुलाई सहयोग गर्ने बताए । विभिन्न स्थानीय निकायमा काम गरेको अनुभव सुनाउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय र अनुकरणीय कार्य गरिरहेको बताए ।
कार्यक्रममा भक्तपुर नपाका योजना प्रमुख रामगोविन्द्र श्रेष्ठ, निवर्तमान प्रप्रअ रोहितराज पोखरेल, नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवा, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि आ—आफ्नो विचार राखेको थियो ।