काठमाडौं, १३ पुस
नेकपा स्थायी कमिटीको बैठकले एसिया प्यासिफिक सम्मेलनमा कमजोरी रहेको स्वीकार गरेको छ । उक्त बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
मंसिर १९ गतेदेखि शुरू भएको नेकपाको स्थायी समितिमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेका थिए भने सरकारको कामको समीक्षा गरेको थियो ।
शुक्रवार सर्वसम्मतिले प्रतिवेदन पारित भएपनि असन्तुष्ट पक्षको मागबारे छलफल जारी रहने भएको छ।
‘पार्टी एकीकरणको चरणमा रहेतापनि वैचारिक, सैद्धान्तिक छलफल भने जारी रहने एक स्थायी समिति सदस्यले बताए । उनीहरुसँग अनौपचारिक छलफल जारी रहनेछ। अध्यक्ष द्वयले असन्तुष्ट साथीहरुको कुरा गम्भीरतापूर्वक लिएका छन्।
बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट आएका सुझावहरुलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने जिम्मा सचिवालयलाई दिइएको जानकारी दिए।
यसैगरी पार्टी एकीकरणको प्रक्रिया पुस मसान्तसम्म पुरा गर्न कार्यदल पनि गठन गरिएको छ। कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल छन्।