भक्तपुर, ६ पुस
सर्वहारा वर्गका महान गुरु कामरेड जोसफ स्तालिनको १३९औं जन्म दिवसका अवसरमा नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा शुक्रवार ख्वप इञ्जिनीयरिङ कलेज लिवालीमा प्रवचन कार्यक्रम गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु जिल्ला जिल्लामा नपुगेसम्म वास्तविक कम्युनिष्ट क्रान्ति नहुनेमा जोड दिएका छन् । उनँले तल्लोवर्गलाई उठाउन स्तालिनसँग सिक्नुपर्ने बताए । उनले सत्तासिन पार्टीहरु वास्तविक कम्युनिष्ट पार्टी नभएकाले समाजका गलत मान्छेलाई किनेर देश चलाइरहेको बताए । पार्टीको सैद्धान्तिक विचारलाई जोड दिँदै उनले पार्टी कार्यकर्ता जागीरका लागि होइन, संगठन विस्तार र जनतालाई राजनीतिक रुपमा सचेत गर्न भएको बताए । उनले भने, ‘शोषकहरु जहाँ गएपनि शोषण नै गर्छ, यिनीहरुको रगतै त्यस्तो हुन्छ ।’ उनले विम्स्टेक, एसियन पासिफिकलगायतका बैठक नेपालमा गरेर गल्ती गरेको बताए । चुनावताका पैसा खर्च गरेर जित्नेहरुले देशद्रोहीको काम मात्रै गर्ने भएकाले एमाले र माओवादीको नाम मात्रको कम्युनिष्ट पार्टीले वास्तविक कम्युनिष्टको आचरण देखाउन नसक्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले झुठ्ठा आश्वासन र भागवन्डामा शासक दलहरु मिलिरहेको बताए । अहिलेको सरकारमा ७० प्रतिशत कर्मचारी सत्तापक्षकै रहेर पनि भ्रष्टाचार र मिलेमतोमा देश चलाउनु दुःखद् भएको उनको तर्क छ । जातीयभन्दा वर्गीय कुरा गर्नुपर्ने शासक दलहरुले जातिवाद, टेड यूनियनवाद र कर्मचारीवादलाई प्रश्रय दिइरहेकाले यिनीहरु कदापि कम्युनिष्ट हुन नसक्ने बताए ।
प्रा.राजुभाइ त्यात, प्रा.सुजन माक र राजेन्द्र चवालले स्तालिनका जीवनी, स्तालिनका गुप्त दस्तावेजहरुलगायतका विषयमा आफ्नो प्रस्तुति राखेको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य सृजना सैंजुले पनि स्तालिनबाट धेरै कुरा सिक्नुपर्ने बताइन् ।