बैतडी, १६ मङ्सिर
दुई वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । नगर क्षेत्रमा रातिको समयमा सडकमा अध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सौर्य सडक बत्ती जडान गरिएको सडक सौर्य बत्ती बिग्रिदै जान थालेका हुन् ।
सदरमुकाम गढीमा आर्थिक वर्ष २०७३÷७४ मा जडान गरिएका सडक सौर्य बत्ती बिग्रिदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, शत्रुमर्दन गुल्म तथा जिल्ला निर्वाचन कार्यालय अगाडि चोकमा रहेको सडक सौर्य बत्ती चार महीना अगाडि बिग्रिएको स्थानीयवासी दीपक सिनालले जानकारी दिए।
बिग्रिएका बत्ती मर्मतका लागि दशरथ चन्द नगरपालिकालाई पटक ÷पटक आग्रह गरिएको भए पनि कुनै पहल हुन नसकेको उनले बताए । बत्ती बिग्रदा रातिको समयमा हुने आपराधिक क्रियाकलाप बढ्ने खतरा बढेको छ ।
शाहिलेक बजारमा रहेका तीन वटा सडक बत्ती पनि बिग्रिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए । सौर्य बत्ती के कति कारणले बिग्रिए भन्ने थाहा हुन नसकेको भए पनि मर्मतका लागि नगरपालिकाले पहल थालेको उनको भनाइ छ ।
प्राविधिक जिल्ला बाहिर रहेकाले केही दिनमै मर्मतको काम अगाडि बढाइने नगरपालिकाले जनाएको छ । चिसोका कारण ब्याट्री र चार्ज कन्ट्रोलरको कनेक्सन तार छुट्ने भएकाले सडकका सौर्य बत्तीमा समस्या आएको नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले जानकारी दिए । बैतडी सदरमुकाममा पहिलो पटक सडक सौर्य बत्ती जडानको कार्य रु ५५ लाखमा सम्पन्न भएको थियो ।