१३ भदौ, काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पदाधिकारीहरुले बुधबार राजस्व सचिव शिशिर कुमार ढुंगानासंग पुँजीगत लाभकर बारे छलफल गरेका छन् । छलफल सकारात्मक भएको फोरमका पदाधिकारीहरुले बताएका छन् ।
छलफलमा राजस्व सचिव ढुंगानाले व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने ७.५% पुँजीगत लाभकर नै अन्तिम कर हुने भएकोले लगानीकर्तालाई यस बिषयमा ढुक्क हुन् आग्रह गरेका छन् । साथै उनले यस बिषयमा विवाद केहि हप्ता मै टुंगिने जनाएका छन् ।
सचिव ढुंगानाले आन्तरिक राजश्व विभागले यसबारे छिट्टै नै छुट्टै सर्कुलर जारि गर्ने बताएका छन् । उनले भने ‘विभागले प्रष्ट रुपमा शेयरबजारका लगानीकर्ताले तिर्ने ७.५% पुँजीगत लाभकर नै अन्तिम कर हुने र त्यस बाहेक अन्य कुनै कर तिर्नु नपर्ने गरी व्यवस्था कार्यन्वयन गर्न र गराउन सर्क्रुलर जारि गर्नेछ’।
फोरमले पुँजी बजार सुधारका माग गर्दै राजस्व सचिवलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको छ । फोरमले बुझाएकां धेरै मागहरु पुरानै छन । फोरमले पूर्ण अनलाइन कारोबार प्रणलीलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने, कर विवादलाई निराकरण गर्नुपर्ने, लाभकर निर्धारण समितिमा लगानीकर्ताहरुको प्रतिनिधित्व गराउनु पर्ने, सुचीकृत कम्पनीहरुको मूल्य सहितको खरिद बिक्री देखिने सफ्टवेयरको विकास गर्नुपर्ने, गैरआवसिय नेपालीहरुलाई पूँजी बजारमा प्रवेश गराउन आवश्यक कानुनको निमार्ण गर्नुपर्ने, धितोपत्र बोर्ड, नेप्से, सिडिएससिको क्षमता अभिवृद्धि गरी प्रविधिमैत्री बनाउनु पर्ने, लगानीकर्ताहरुलाई सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने, शेयर कर्जामा लगाएको पूँजीगत जोखिमको भार १०० प्रतिशतमा झर्नु पर्ने, शेयर धितो कर्जाको सिमा बजार मूल्यको ८० प्रतिशत पुर्याउन पर्ने लगायतका माग अगाडी सारेको छ ।